logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • राप्रपा अध्यक्ष लिङदेनले रोष्टममै च्याते बजेट पुस्तिका

    राप्रपा अध्यक्ष लिङदेनले रोष्टममै च्याते बजेट पुस्तिका

    1K
    Shares
    राप्रपा अध्यक्ष लिङदेनले रोष्टममै च्याते बजेट पुस्तिका

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभाको रोष्ट्रममै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् । मङ्गलबार प्रतिनिधि सभाको बैठकमा खर्च कटौतीको प्रस्तावमा बोल्ने क्रममा अध्यक्ष लिङदेनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विनियोजन गरेको बजेटमा असन्तुष्टि जनाउँदै बजेट पुस्तिका च्यातेका हुन् ।

    उनले आफू कम आक्रोश पोख्ने मान्छे भएको बताउँदै मन्त्रालयको पुस्तिका पाएको दिनदेखि आफू तातिएको बताएका थिए । उनले पुस्तिका च्यातेर हुर्याउने मन भएपनि संसदीय मर्यादा विपरित हुने भएकाले आफुले नहुर्याउने बताए । अध्यक्ष लिङदेनले चारवटा निर्वाचन क्षेत्र बाहेकका प्रतिनिधि सभा सदस्यहरु बजेटप्रति असन्तुष्ट रहेको बताए । उनले लाज र घिन नराखीकन राज्यको स्रोतमाथि मनपरी गरिएको बताए ।

    उनले भने – ‘सामान्यतया म आफूले आफैँलाई हेर्दाखेरी कम आक्रोश पोख्ने, कम रिसाउने मान्छे हो । रिस पनि उठ्छ । कहिलेकाहीँ रिस पनि पोखिन्छ । तर एकछिन पछि सेलाउने, मन बुझाउने खालको मान्छेको रुपमा मैले आफूलाई ठान्छु । तर जब यो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पुस्तिका हातमा पर्यो । त्यो दिनदेखि म यसरी तातिएको छु कि, यो यसरी च्यातेर(पुस्तक च्यात्दै), यसरी हुर्याउने मन छ ।(हुर्याउन खोज्दै) । तर यो संसदीय मर्यादा विपरित हुन्छ भनेर कहाँ हुर्याउनुपर्ने त्यहाँ नहुर्याएर यहाँ राख्छु मैले । यो मेरो मात्रै मनको कुरा होइन । अहिले त्यस्तो कुनै नाप्ने चिज रहेछ भने यो हलभित्र बसेका जुनसुकै पार्टीको भएपनि चारवटा निर्वाचन क्षेत्रदेखि बाहेकको सबै प्रतिनिधि सभा सदस्यहरुको मनको कुरा हो । यसरी सामान्य लाज, घिन पनि नराखेर राज्य स्रोतमाथि यसप्रकारको मनपरी कति दिनसम्म मानिसहरुले सहेर बस्ने हो ? सामान्य लाज पनि नराख्ने ।

    यो पढिने चिज हो । देखिने चिज हो । भन्ने कुरा पनि नराख्ने । यहाँ जिल्लाको नाम छापेर धेरै देखिन्छ भनेर जिल्लाको समेत नाम नराखी योजना राखिएको छ । ०६२/०६३ अगाडी योजना छनौट प्रक्रिया हुन्थ्यो । बस्ती तहबाट वडा, वडा बाट गाविस, गाविसबाट इलाका हुँदै ८, ९ चरण पार गरेपछि योजना छनौट हुन्थ्यो । अहिले त बजेट मन्त्रीको मुखबाट, गोजीबाट निस्कने चिर्कटोबाट आउँछ । यो विषयमा हामीले छलफल गरिदिनुपर्ने ।

    यो जुन काम मन्त्रीज्युहरुले गर्नुभएको छ लामो समयदेखि औँला ठड्याइरहेका छौँ त्यसलाई पुष्टि गर्छ । तपाईहरुले बजेट बनाउने मौका पाउँदाखेरी जुन प्रकारको मनपरी गर्नुभयो । त्यसमा राजेन्द्र लिङदेनको कुनै आपत्ति छैन । राप्रपाको कुनै गुनासो छैन । एउटा जनताको प्रतिनिधिको हिसावले मात्रै यो आक्रोशा पोखिराखेको छु । तपाईहरुलाई धन्यवाद दिनुपर्छ । किनभने तपाईहरुले यो व्यवस्था काम लाग्दैन भनेर, यो निर्वाचन प्रणाली, यो राज्य संरचना काम लाग्दैन भनेर पुष्टि गर्नुभएको छ । र यसलाई चाँडो भत्काउन तपाईहरु आफैँ सहयोगी बन्नुभएको छ ।’

    अध्यक्ष लिङदेनले बजेट मन्त्रीको मुखबाट र गोजीबाट निस्कने चिर्कटोबाट आएको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend