डोटी । डोटीको केआईसिंह गाउँपालिकाले ऐन विपरीत कर्मचारी भर्ना गरेको पाइएको छ ।
महालेखापरीक्षकको कार्यालयले हालै मात्र सार्वजनिक गरेको प्रतिवेदनमा उक्त गाउँपालिकाले ऐन विपरीत तीन जना कर्मचारी भर्ना गरेको पाइएको हो ।
आर्थिक बर्ष २०७९/८० मा गाउँपालिकाले ऐन विपरीत एक जना सामाजिक परिचालक, एक जना सहजकर्ता र एक जना खेलकुद प्रशिक्षक भर्ना गरेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । गाउँपालिकाले तीनै जना कर्मचारी माथि ८ लाख ५८ हजार रुपैयाँ समेत खर्च गरेको जनाइएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्य बोझको विश्लेषण गरेर संगठन तथा व्यवस्थापन सर्भेक्षणको आधारमा स्थायी प्रकृतिको कामको लागि तथा सेवा करारबाट लिइने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सृजना गर्न नसकिने व्यवस्था गरेको छ ।
तर, गाउँपालिकाले ऐन विपरीत तीन जना कर्मचारी भर्ना गरेर राज्य कोषको रकम दुरुपयोग गरेको पाइएको हो । महालेखाले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर कानुन बमोजिम मात्र कर्मचारीको पदपूर्ति गरेर खर्च गर्न भनेको छ ।