logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • ‘एनएचपिसी’ ले बुझायो पश्चिम सेती र सेती नदी–६ को डिपिआर मस्यौदा

    ‘एनएचपिसी’ ले बुझायो पश्चिम सेती र सेती नदी–६ को डिपिआर मस्यौदा

    735
    Shares
    ‘एनएचपिसी’ ले बुझायो पश्चिम सेती र सेती नदी–६ को डिपिआर मस्यौदा

    काठमाडौँ । भारतीय कम्पनी एनएचपिसी लिमिटेडले पश्चिम सेती र सेती नदी–६ (एसआर–६) जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मस्यौदा लगानी बोर्डलाई बुझाएको छ ।

    एनएचपिसीले आज डिपिआरको मस्यौदा बुझाएको लगानी बोर्डका सहसचिव बाबुराज अधिकारीले जानकारी दिए । सहसचिव अधिकारीले भने, “परियोजनाको सर्वेक्षण अनुमतिपत्र पाएको कम्पनीले डिपिआरको मस्यौदा बुझाएको छ । यसमा लगानी बोर्डले आवश्यक अध्ययन प्रतिक्रिया (कमेन्ट) दिइसकेपछि त्यसलाई सम्बोधन गरेर अन्तिम डिपिआर तयार हुनेछ ।”

    अन्तिम डिपिआर तयार भएपछि परियोजना विकास सम्झौता (पिडिए) प्रक्रिया अघि बढ्नेछ । ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती र ४ सय ५० मेगावाट क्षमताको एसआर–६ आयोजनाको विस्तृत परियोजना अध्ययनका लागि सर्वेक्षण अनुमतिपत्र जारी गर्न २०७९ भदौँ २ गते लगानी बोर्ड र एनएचपीसी लिमिटेडबीच सम्झौतापत्रमा हस्ताक्षर भइ विसं २०७९ कात्तिकमा सर्वेक्षण अनुमतिपत्र जारी भएको थियो ।

    सर्वेक्षण अनुमति पाएको दुई वर्षभित्र डिपिआर तयार गरी लगानी बोर्डको कार्यालयमा पेस गर्नेगरी उक्त सम्झौता भएको थियो । त्यसअघि, २०७९ जेठ २३ गते बसेको लगानी बोर्डको ५१औँ बैठकले यी दुई आयोजनाको विकास तथा लगानीको खाका तयार पार्ने जिम्मा भारतीय कम्पनी एनएचपिची लिमिटेडलाई दिने निर्णय गरेको थियो ।

    त्यस्तै २०७९ साउन २३ गते बसेको लगानी बोर्डको ५२ औँ बैठकले सर्वेक्षण लाइसेन्स जारी गर्ने समझदारीपत्र अनुमोदन गरेको थियो । परियोजनाको अन्तिम डिपिआरले समग्र सामाजिक, आर्थिक, भौगर्भिक, प्राविधिक एवं वातावरणीय पक्षबारे जानकारी दिनेछ ।

    त्यस्तै परियोजनाको अनुमानित लागत, आयोजना निर्माण सुरु तथा सम्पन्न हुने समय र कार्ययोजना, बजार सुनिश्चितता, प्रसारणलाइन निर्माण, वित्तीय स्रोतको उपलब्धतालगायतका विषयमा पनि डिपिआरले मार्गदर्शन गर्नेछ । डिपिआरको विश्लेषणपछि परियोजना अगाडि बढाउन चाहेमा पिडीए हुनेछ ।

    यसअघिको अध्ययनअनुसार ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती आयोजनाको लागत १ अर्ब ३२ करोड अमेरिकी डलर र ४ सय ५० मेगावाट उत्पादन क्षमताको एसआर–६ आयोजनाको लागत ८० करोड अमेरिकी डलर बराबर अनुमान गरिएको थियो । यी दुबै आयोजना निर्माणका लागि कुल २ अर्ब १२ करोड अमेरिकी डलर लाग्ने यसअघिको अध्ययनले देखाएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend