logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • कुनै जात, धर्म र सम्प्रदाय केन्द्रित गरेर बजेट विनियोजन गरिएको छैनः मन्त्री तामाङ

    कुनै जात, धर्म र सम्प्रदाय केन्द्रित गरेर बजेट विनियोजन गरिएको छैनः मन्त्री तामाङ

    504
    Shares
    कुनै जात, धर्म र सम्प्रदाय केन्द्रित गरेर बजेट विनियोजन गरिएको छैनः मन्त्री तामाङ

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री हितबहादुर तामाङले आफ्नो मन्त्रालयले कुनै जात, धर्म र सम्प्रदाय विशेष बजेट विनियोजन नगरेको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री तामाङले आफूले बजेट विनियोजन गर्दा धर्म निरपेक्ष मुलुक हो भन्ने कुरामा सचेत रहेर गरेको बताए ।

    उनले कुनैपनि जात, धर्म र सम्प्रदाय केन्द्रित हुनेगरी बजेट विनियोजन नभएको बताए । उनले योजना माग गरेर आएको निवेदनहरु मध्येबाट सबैलाई समेटेर सन्तुलित बनाउने गरी बजेट विनियोजन भएको बताए । उनले २०७२ सालको भूकम्पले क्षति पुर्याएका २१५ वटा गुम्बाहरु सरकारको निकायमा सूचिकृत भएको र ति गुम्बाहरु बनाउनु सरकारको दायित्व भएकाले आफूले केही गुम्बाहरुलाई बनाउनका लागि बजेट विनियोजन गरेको बताए ।

    उनले भने – ‘२०७२ सालको भूकम्पले क्षति पुर्याइएको, गलत स्टमेट तयार भएको र पुरातत्व विभागमा सूचिकृत भएको २१५ वटा गुम्बाहरु रहेछन् । भूकम्पको सेन्टर बागमती थियो । गोरखा थियो । क्षति पनि यहीँ वरिपरि नै भएको रहेछ । तर आज ९ वर्षसम्म ५ वटा चाहीँ बनिसकेको रहेछ । २१ वटा बन्ने क्रममा रहेछ । जम्मा २६ वटा मात्रै अगाडी बढेको २१५ वटा मध्ये । अरु नबनेको । जो राज्यको दायित्वमा अनिवार्य रुपमा समावेश भइसकेको । ढिलो चाँडो त्यो त निर्माण गर्नैपर्ने थियो । मरो ठाउँमा अरु कोही मन्त्री हुनुभएको थियो भनेपनि त्यो बन्नेवाला थियो ।

    त्यसो भएकोले धेरै देखिएको मात्रै हो । मैले प्राप्त भएको निवेदन धेरै त समेट्न सकिएन होला तर सकभर हामीले धर्म निरपेक्ष मुलुकको सरकार भएको नाताले र त्यसको पक्षपाती पनि भएको नाताले हामीले अधिकतम त्यसलाई सन्तुलित बनाउनुपर्छ । जुन जात विशेष, धर्म विशेष, कुनै सम्प्रदाय विशेषमा केन्द्रीत हुने खालको कार्यक्रम गर्नुहुँदैन भन्ने कुरामा म सचेत थिएँ । त्यही हिसाबले पनि त्यसलाई सन्तुलन मिलाउने गरी राखिएको छ । माग भएर आएको मध्ये केही मस्जिदहरु पनि सम्बोधन भएको छ ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतका अन्य विमानस्थलहरुको पूर्ण क्षमतामा सञ्चालन गर्न अध्ययन कार्यदल गठन गरी सञ्चालनको उपयुक्त मोडालिटीको पहिचान गर्ने कार्य भइरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थलहरुमा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरुको सेवा विस्तार गरी उडान संख्या वृद्धि गर्न अध्ययन र उपायहरुको खोजी भइरहेको छ । हवाई भाडालाई समसामयिक परिमार्जन गर्न तथा हवाई भाडामा समानता र एकरुपता कायम गर्नका लागि अध्ययन कार्य भइरहेको जानकारी गराउन चाहन्छु ।

    नेपाल वायु सेवा निगम र नीजि विमान कम्पनीहरु मार्फत् सडकको भरपर्दो पहुँच नपुगेको दुर्गम क्षेत्रका विमास्थलहरुमा नियमित उडान गर्न सेवा तथा व्यवसायिक नाफाबिच सन्तुलन कायम हुने किसिमले सञ्चालन हुने व्यवस्था गरिनेछ । पहाडी र हिमाली क्षेत्रका दुर्गम भेगमा रहेका विमानस्थलहरुमा उडान गर्न र अन्य मनोरन्जनात्मक क्षेत्रमा उपयोग गर्ने विषयमा अध्ययन भइरहेको छ ।’

    मन्त्री तामाङले अन्तर्राष्ट्रिय विमानस्थलहरुमा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरुको सेवा बिस्तार गरी उडान संख्या वृद्धि गर्न अध्ययन भइरहेको बताए । उनले हवाई भाडालाई समसामयिक परिमार्जन गर्न तथा हवाई भाडामा समानता र एकरुपता कायम गर्नका लागि पनि अध्ययन भइरहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend