logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • बाल मन्दिरको जग्गा हिनामिना प्रकरणः ३ पक्राउ, १७ जनामाथि अनुसन्धान जारी

    बाल मन्दिरको जग्गा हिनामिना प्रकरणः ३ पक्राउ, १७ जनामाथि अनुसन्धान जारी

    784
    Shares
    बाल मन्दिरको जग्गा हिनामिना प्रकरणः ३ पक्राउ, १७ जनामाथि अनुसन्धान जारी

    काठमाडौँ । नेपाल बाल सङ्गठनको नक्सालस्थित करिब २९ रोपनी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हालसम्म तीन जनालाई पक्राउ गरी बयान लिएको छ । यो प्रकरणमा मुछिएका १७ जना फरारको सूचीमा रहेका छन् ।

    नेपाल बाल सङ्गठनका तत्कालीन अध्यक्ष रीता सिंह वैध तथा वृहस्पति विद्या सदनका सञ्चालक पुरुषोत्तमराज जोशीबीच मिलेमतोमा बाल सङ्गठनको स्वामित्वमा रहेको २८ रोपनी पाँच आना एक पैसा जग्गा दुरुपयोग गरेको उजुरीका आधारमा सिआइबी त्यसमा संलग्नहरूमाथि पक्राउ पुर्जी जारी गरी अनुसन्धान अघि बढाएको हो ।

    सङगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्य समेतका नाममा जिल्ला अदालत काठमाडौँबाट गएको वैशाख महिनामा पक्राउ पुर्जी जारी भएको थियो ।

    उक्त प्रकरणमा २० जनाका नाममा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । उनले भने, “अदालतबाट २० जनाका नाममा पक्राउ पुर्जी जारी भएको थियो, अहिलेसम्म तीन जना पक्राउ परेका छन्, अनुसन्धान जारी छ ।”

    अदालतबाट पक्राउ पुर्जी जारी भएका २० जना जना मध्ये अहिलेसम्म बाल सङगठनका तत्कालिन महासचिव गणेशभक्त श्रेष्ठ, तत्कालिन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ तथा सङ्गठनका तत्कालिन सदस्य एवं स्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशङ्कर साह पक्राउ परेका सिआइबीले जनाएको छ । पक्राउ पुर्जी जारी भएका मध्ये चिरञ्जीवीनिधी तिवारी, मनोहरगोपाल श्रेष्ठ र सुमन शाक्यको निधन भइसकेको छ ।

    बाल सङ्गठन र वृहस्पति विद्या सदनबिच विसं २०४९ मा पहिलो पटक चार वर्षका लागि भाडा सम्झौता भएको थियो । सङ्गठनका पदाधिकारी तथा वृहस्पति विद्या सदनका पदाधिकारीबिचको मिलेमतोमा सो जग्गा पटक पटक गरी २०७२ साल न्यून भाडादरमा ७९ वर्षका लागि अपारदर्शी सम्झौताबाट नवीकरण गरिएको खुलेको सिआइबीले जनाएको छ । पछिल्लो पटक २०७२ सालमा सबलिज सम्झौता गरी उनै वैद्यले बृहस्पतिसँग पहिले भएको लिज अवधि १६ वर्ष बाँकी छँदै थप ४३ वर्ष (विसं २१३१ सम्म) का लागि बाल मन्दिरको जग्गा सुम्पिएकी थिइन ।

    चार वर्षका लागि भनेर दिइएको बृहस्पतिलाई लिज अवधि बढाउँदै लगेकोमा विसं २०५८ जेठ ८ मा थप ५ रोपनी २ आना जग्गा दिइएको छ । विसं २०५७ माघ ६ मा बाल सङ्गठनसँग बृहस्पति विद्यासदनले २ रोपनी मात्रै मागेको थियो ।

    विसं २०५९ साउन २१ मा थप १३ रोपनी ३० वर्षका लागि लिजमा लिन बृहस्पतिले प्रस्ताव गरेको देखिन्छ । सोही वर्षको साउन ३० मै बसेको बाल सङ्गठनको बैठकले महासचिव रामकाजी कोनेमार्फत कित्ता नम्बर ७६० अन्तर्गतको थप १३ रोपनी १२ आना १ पैसा २०८८ सम्मका लागि बृहस्पतिलाई भाडामा दिने गरी अख्तियारी प्रदान गरिएकामा भदौ ११ मा सङ्गठन र बृहस्पतिबीच ३० वर्षका लागि सम्झौता भएको देखिन्छ ।

    ३० वर्षे सम्झौता हुँदा प्रत्येक २ वर्षमा ५ प्रतिशतका दरले भाडा वृद्धि हुने तर सुरु र अन्तिम ५/५ वर्ष बढेको भाडा तिर्नु नपर्ने उल्लेख थियो । सम्झौताको म्याद २०८८/२०८९ सम्म थियो । तर, म्याद सकिन १६ वर्ष अगावै विसं २०७२ जेठ २१ मा सङ्गठनले प्रतिवर्ग फिट ६ रुपैयाँ कायम गरी बाल मन्दिरको २९ रोपनी ४ आना बृहस्पतिलाई भाडामा दिने सम्झौता गर्यो । बृहस्पतिलाई २०८९ पछिको थप ४३ वर्ष (२१३१ सालसम्म) पनि बाल मन्दिरमै बस्न पाउने सम्झौता भएपछि अहिले ठगीमा अनुसन्धान अघि बढेको सिआइबीले जनाएको छ ।

    वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी उक्त जग्गा हिनामिना प्रकरणमा सिआइबीले अनुसन्धान जारी राखी काम गरिरहेको प्रवक्ता बोगटीले बताए । उनले भने, “उक्त प्रकरणका मुख्य प्रतिवादीहरु नियन्त्रणमा आएकाले अन्य काम भइरहेको छ, अनुसन्धानमा शंका गर्नु पर्ने कुनै पनि ठाउँ छैन ।”

    काठमाडौँको नक्सालदेखि ज्ञानेश्वर, हाँडी गाउँदेखि गहना पोखरीसम्म फैलिएको सो बालमन्दिरको जग्गा प्रति रोपनी वार्षिक जम्मा ३ लाख ९३ हजार रुपैयाँमा मात्र भाडा सम्झौता गरिएको छ । साढे २८ रोपनी क्षेत्रफल रहेको जग्गाको भाडा सम्झौता वार्षिक एक करोड १० लाख बुझाउने गरी भएको पाइएको छ । बाल सङ्गठनका तर्फबाट उक्त अवैध सम्झौता भङ्ग गरी बालमन्दिरको जग्गा दुरुपयोग गर्नेमाथि कारबाहीको मागसहित सिआइबीमा किटानी जाहेरी परेको थियो ।

    याे पनि : 

    बाल मन्दिरको जग्गा हिनामिना प्रकरण : तत्कालीन अध्यक्ष वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend