logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • डोटीका छ स्थानीय तहले गाडि मर्मतमै गरे २ करोड बढी खर्च

    डोटीका छ स्थानीय तहले गाडि मर्मतमै गरे २ करोड बढी खर्च

    693
    Shares
    डोटीका छ स्थानीय तहले गाडि मर्मतमै गरे २ करोड बढी खर्च

    डोटी । दुई नगरपालिका तथा सात वटा गाउँपालिका सहित नौ वटा स्थानीय तह रहेको डोटीमा छ वटा पालिकाले एक वर्षमा सवारीसाधन मर्मतमा मात्रै २ करोड २० लाख ६३ हजार २५७ रुपैयाँ खर्च गरेको पाइएको छ ।

    महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको स्थानीय तहको आर्थिक वर्ष २०७९/ ०८० को लेखा परीक्षण प्रतिवेदनअनुसार दिपायल सिलगढी नगरपालिकाले एक वर्षमा ८२ लाख ५५ हजार ७३४ रुपैयाँ खर्च गरेको छ ।

    नगरपालिकाको लेखा परीक्षण प्रतिवेदनमा सवारी मर्मत शीर्षकअन्तर्गत एम्बुलेन्स, डोजर, जिप, ट्याक्टर, दमकल र मोटरसाइकल मर्मतमा उक्त रकम खर्च भएको हो । प्रतिवेदनमा कुन साधनमा कति रकम खर्च भयो भन्ने छुटाइएको छैन । यस शीर्षकबाट नगरपालिकाले सञ्चालन गरेका नगर बसको मर्मत भए नभएको प्रतिवेदनमा उल्लेख छैन ।

    सवारीसाधन मर्मतमा बढी रकम खर्चिनेमा आदर्श गाउँपालिका दोस्रो स्थानमा देखिएको छ । आदर्शले आर्थिक वर्ष २०७९/०८० मा सवारीसाधन मर्मतमा ३९ लाख ८७ हजार ७०४ रुपैयाँ खर्च गरेको देखिएको छ । लेखा परीक्षण प्रतिवेदनमा गाउँपालिकाको जिप मर्मतमा ८ लाख १८ हजार ८०८, डोजरमा ८ लाख ५३ हजार ७२५, एम्बुलेन्समा २ लाख ८५ हजार ५३, ट्याक्टरमा ६० हजार १७५ र गाउँपालिकाको नाममा रहेका सबै मोटरसाइकलमा १९ लाख ६९ हजार ९०३ रुपैयाँ खर्च गरेको उल्लेख छ ।

    यस्तै सायल गाउँपालिकाले एक वर्षमा २७ लाख ३६ हजार ४६१ रुपैयाँ खर्चेको छ । यस गाउँपालिकाले जिप मर्मतमा १४ लाख ५३ हजार २१, एक्स्काभेटर ४ लाख ९७ हजार ४८२, एम्बुलेन्समा २ लाख ४१ हजार २ र गाउँपालिकाको नाममा रहेका १६ मोटरसाइकलमा ५ लाख ८१ हजार ८५६ रुपैयाँ खर्च गरेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

    जोरायल गाउँपालिकाले सो शीर्षकमा एक वर्षको अवधिमा २५ लाख ११ हजार ४२६ रुपैयाँ खर्चिएको प्रतिवेदनमा उल्लेख छ । यस गाउँपालिकाको प्रतिवेदनमा कुन कुन सवारीसाधन मर्मत भए र कुन साधनमा कति रुपैयाँ खर्च भयो भन्ने उल्लेख छैन ।
    बडीकेदार गाउँपालिकाले सवारीसाधन मर्मतमा एक वर्षमा २२ लाख ९९ हजार ७१७ रुपैयाँ खर्च गरेको पाइएको छ ।

    लेखा परीक्षण प्रतिवेदनमा पालिकाले उक्त रकम एम्बुलेन्स, एक्स्काभेटर, जिप र मोटरसाइकल मर्मतमा खर्च गरेको भए पनि कुन साधनका लागि कति रकम खर्च भयो भन्ने उल्लेख छैन । शिखर नगरपालिकाले एक वर्षमा सवारीसाधनमा २२ लाख ७२ हजार २१५ रुपैयाँ खर्च गरेको छ ।

    प्रतिवेदनअनुसार एम्बुलेन्स मर्मतमा ९ लाख ८८ हजार १५५, टिपर ८५ हजार ८९, नगरपालिकाले सञ्चालन गरेका २ बसको मर्मतमा २ लाख १७ हजार ९३२ र पिकअप मर्मतमा ९ लाख ८१ हजार ३९ रुपैयाँ खर्च गरिएको छ ।

    प्रतिवेदनमा एउटै साधन एक वर्षमा पटक पटक मर्मत हुने गरेको उल्लेख छ । यसरी पटक पटक मर्मत गर्नुपर्ने कारण पुष्टि नभएको लेखा परीक्षण प्रतिवेदनले औँल्याएको छ । अन्य तीन बोगटान फुड्सिल, पूर्वीचौँकी तथा केआइसिंह गाउँपालिकाहरुको प्रतिवेदनमा भने सवारी मर्मतको विषय उल्लेख भएको छैन ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend