काँक्रेविहार, सुर्खेत । लुम्बिनी रारा सडकखण्डमा पर्ने जाजरकोटको कुशे गाउँपालिकाबाट जुम्ला जोड्ने सुरुङ मार्ग निर्माण गर्न पूर्वसंभाव्यता अध्ययन (प्रिफिजिबिलिटी) अध्ययनको काम सकिएको छ ।अध्ययनअनुसार सुरुङ बनाउन करिब ३५ अर्ब रुपैयाँ लाग्ने प्रक्षेपण गरिएको छ ।
सुरुङ मार्ग निर्माणको विस्तृत अध्ययन योजना समावेश गर्न विसं २०७८ साउन ४ गते तत्कालीन ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले सडक विभागमार्फत् पहल गरेका थिए । उक्त पहल बमोजिम सडक विभागले विसं २०८० जेठमा इटिको–टिएमएस–रेज जेभीसँग सुरुङमार्गको अध्ययन सम्झौता गरेको थियो ।
आव २०७९/०८० मा सुरुङ मार्ग निर्माणको अध्ययन गर्न बजेट विनियोजन भएको थियो । आव २०७९/०८० को अन्तिमा प्रिफिजिबिलिटी’ अध्ययनका लागि सडक विभागले ठेक्का आह्वान गरी पाँच महिनाभित्र पूरा गर्ने लक्ष्यसहित इटिको–टिएमएस–रेज जेभीसँग सम्झौता गरेको थियो । ठेक्का लिएको कम्पनीले एक वर्षभन्दा बढी समय लगाएर ‘प्रिफिजिबिलिटी’ अध्ययन प्रतिवेदन विभागमा बुझाएको छ ।
‘प्रिफिजिबिलिटी’ अध्ययनको काम सकिएर सडक विभागमा बुझाएको टिएमएस रेज जेभीका प्रमुख राजीव झाले जानकारी दिए ।जाजरकोटको कुसे गाउँपालिका–८, साङ्टादेखि जुम्लाको तातोपानी गाउँपालिका–८, इमिल्चाघारीसम्मको दूरी १० किलोमिटर रहेको छ ।
सुरुङमार्ग निर्माण भएमा लुम्बिनी, दाङ, सल्यान, जाजरकोट, जुम्ला हुँदै रारा पुग्ने दूरी छोटिने छ । ‘प्रिफिजिबिलिटी’ अध्ययनले सुरुङ मार्ग निर्माण गर्न उपयुक्त रहेको निष्कर्ष निकालेको छ । प्रतिवेदनको आधारमा सडक विभागले विस्तृत सम्भाव्यता अध्ययन अघि बढाउने छ ।
सडक विभागलाई बुझाएको प्रतिवेदनका आधारमा विस्तृत सम्भाव्यता अध्ययन गरिने सडक विभागका इन्जिनियर दीपक एकामीले बताए । कर्णाली प्रदेशको सबैभन्दा बीच भागमा जाजरकोट पर्छ ।