logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • योगगुरु रामदेवको पतञ्जली योगपीठद्धारा हदबन्दी भन्दा बढी जग्गा बेचेको स्वीकार

    योगगुरु रामदेवको पतञ्जली योगपीठद्धारा हदबन्दी भन्दा बढी जग्गा बेचेको स्वीकार

    3.9K
    Shares
    योगगुरु रामदेवको पतञ्जली योगपीठद्धारा हदबन्दी भन्दा बढी जग्गा बेचेको स्वीकार

    काठमाडौं । योगगुरु रामदेव र आचार्य बालकृष्णले स्थापना गरेको पतञ्जली योगपीठले हदबन्दी भन्दा बढी जग्गा बिक्री गरेको स्वीकार गरेको छ ।

    योगपीठले सूचना प्रकाशित गर्दै संस्थाले साविक काभ्रे जिल्लाको साँगा गाविसमा हदबन्दी छुटबाट खरिद गरिएको जग्गा सरकारको स्वीकृति लिएर बिक्री गरेको स्पष्ट पारेको हो । २०६६ चैत १२ गते मन्त्रिपरिषदको प्राप्त निर्देशनको अधिनमा रही जग्गा बिक्री गरेको योगपीठले जानकारी गराएको छ ।

    सरकारको नीति, नियम र निर्देशनको अधिनमा रही जग्गा बिक्री गरेको योगपीठको जिकिर रहेको छ । जग्गा बिक्रीबाट प्राप्त रकममा थप लगानी गरी मुलुकका विभिन्न स्थानहरुमा कार्यक्रमहरु सञ्चालन गर्न जग्गा खरिद गरेको योगपीठले जनाएको छ ।

    जग्गा बिक्रीबाट प्राप्त भएको रकम जग्गा खरिदका साथै विभिन्न ६ हजार स्थानहरुमा निःशुल्क योगशिविर सञ्चालन गर्दै आएको योगपीठले स्पष्ट पारेको छ ।

    योगपीठले स्वस्थ्य, शिक्षित र सीपयुक्त मानव पुँजी निर्माण गर्न काभ्रेको धुलिखेल नगरपालिका पतञ्जली आर्युवेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टर स्थापना गरी आर्युवेद स्नातक (बिएएमएस) सञ्चालन गर्दै आएको जनाएको छ ।

    यस्तै पोखरा पाल्पा, चितवन र स्याङजालगायत आर्युवेद प्राकृतिक चिकित्सासहितको वेलनेस सेन्टर सञ्चालन गरेको जानकारी योगपीठले दिएको छ ।

    नेपालको कानुनको अक्षरस पालना गरी आफ्ना कार्यक्रम सञ्चालन गरिरहेको जिकिर योगपीठको छ । योगपीठले पञ्चकर्म सेवा, प्राकृतिक चिकित्सा र वेलनेस सेन्टर सेवा, विशेषज्ञबाट गरिवहरुलाई निःशुल्क स्वास्थ्य सेवा दिइरहेको जनाएको छ ।

    यता हदबन्दी बढी जग्गा बिक्री गरेको पाइएपछि तीन निकायहरुले एक साथ अनुसन्धान अघि बढाएका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पतञ्जलीको जग्गाको फाइल खोलेर अनुसन्धान थालेको जानकारी दिएका थिए ।

    यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलीको जग्गा अनुसन्धान अघि बढाएको छ । त्यति मात्र नभएर संसदको सार्वजनिक लेखा समितिले पनि छानविन थालेको छ ।

    हदबन्दी छुट जग्गा गैरकानुनी रूपमा बेचबिखन गरी राज्यलाई हानिनोक्सानी पुर्याएको आरोपमा पतञ्जलीलाई गैरकानुनी रूपमा जग्गा किनबेच गर्न अनुमति दिने सरकारी अधिकारीमाथि अख्तियार, सिआइबी र लेखा समितिले एक साथ विस्तृत अनुसन्धान थालेका हुन् ।

    २०६६ माघ १८ मा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्व सरकारले पतञ्जलीलाई आयुर्वेदिक विश्वविद्यालय, अनुसन्धान केन्द्र, योगशाला, आयुर्वेदिक औषधि उद्योग, जडीबुटी खेती, गाई फार्म चलाउन काभ्रेमा हदबन्दी छुटमा ८ सय १५ रोपनी जग्गा किन्न स्वीकृति दिएको थियो ।

    मन्त्रिपरिषदबाट निर्णय भएपछि पतञ्जलीले २०६६ सालमा उद्योग, जडिबुट्टी संवद्र्धन, योगशाला, अस्पतालसहितका संरचना निर्माण गर्न हदबन्दी छुटमा उक्त जग्गा खरिद गरेको थियो । यसबीचमा मालपोतका कर्मचारीको मिलोमतोमा ३ सय ५४ रोपनी जग्गा बिक्री भइसकेको छ ।

    त्यसलगत्तै बनेपा नगरपालिकाभित्र पर्ने साँगा, नासिकास्थान र महेन्द्र ज्योति चलाल गणेशस्थानमा पतञ्जलीले ५ सय ९३ रोपनीभन्दा बढी जग्गा खरिद गरेकामा अढाई महिना नबित्दै चैत ६ र २६ मा भूमिसम्बन्धी कानुन प्रतिकूल हुने गरी सरकारले २०६६ चैत १२ गते मन्त्रिपरिषद्बाट निर्णय गराएर जग्गा बेच्न अनुमति दिएको पाइएको छ ।

    हदबन्दी छुटमा जग्गा किन्न र बिक्री गर्ने निर्णय प्रक्रियामा तत्कालीन प्रधानमन्त्री नेपाल, भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ, मुख्यसचिव माधव घिमिरे, भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव छविराज पन्तसहित उच्च पदस्थ अधिकारी संलग्न रहेका थिए । पछि गृहमन्त्रीसमेत भएका घिमिरेको निधन भइसकेको छ ।

    हदबन्दी छुटमा किनिएको जग्गामध्ये ३ सय ५३ रोपनी जग्गा काष्ठमण्डप बिजनेस होम्स प्रालिलाई बेचेको पाइएको छ । यस्तै पतञ्जलीका लागि धुलिखेलमा ८८ रोपनी जग्गा किनेको भेटिएपछि जग्गा किनबेचमा सरकारी अधिकारी र पतञ्जलीबाटै चलखेल भएको प्रष्ट देखिएको छ  ।

    भूमिसम्बन्धी ऐन २०२१ को दफा १२ ले उद्योग, व्यापार–व्यवसाय, शैक्षिक संस्था, प्रतिष्ठानलगायत सञ्चालन गर्न हदबन्दी छुटमा किनेको जग्गा सर्तविपरीत भोगचलन गर्न बर्जित छ । हदबन्दी छुट जग्गा सट्टाभर्ना गरेर अन्यत्र स्थानान्तरण गर्नुपरे सट्टापट्टा हुने जग्गाको बराबरी परिमाण, जग्गाको मूल्यलगायत सर्त र बन्देज पालना गर्नुपर्ने स्पष्ट व्याख्या गरेको छ ।

    पतञ्जली भारतीय योगगुरु रामदेवद्वारा सञ्चालित आयुर्वेद औषधी उत्पादन गर्ने कम्पनी हो । नेपालमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी गैरनाफामूलक ट्रस्टका रूपमा दर्ता गरिएको छ ।

    कम्पनी रजिस्ट्रार कार्यालयको अभिलेखमा २०६४ पुस २० मा दर्ता भई योगी रामदेव, बालकृष्ण आचार्य, शालिग्राम सिंह, राजेन्द्र सिंह र उमेश सर्राफ सञ्चालक रहेको अनुसन्धानबाट देखिएको छ ।

    नेपालमा यसको सबै कारोबारमा पतञ्जली नेपालका तर्फबाट शालिग्राम सिंहले काम गरेको पाइएको छ । २०६६ मा हदबन्दी छुटमा जग्गा किन्दा र बिक्री गर्दा पनि उनीमार्फत नै कारोबार भएको तथ्यहरूले देखाउँछ ।

    भूमिसम्बन्धी ऐन, २०२१ ले तराई क्षेत्रमा ११ बिघा, काठमाडौंमा २५ रोपनी र पहाडी क्षेत्रमा ७५ रोपनी जग्गाको हदबन्दी तोकेको छ । कुनै व्यक्ति वा निजको परिवारले घरबारीमा आवश्यक भएमा तराई र भित्री मधेशमा १ बिघा, काठमाडौं उपत्यकामा ५ रोपनी र उपत्यकाबाहेक पहाडी क्षेत्रमा ५ रोपनी जग्गा थप राख्न सक्छ ।

    तर, उद्योग, व्यवसाय, संस्थालगायत सञ्चालन गर्न आवश्यकता पुष्टि गरेर सरकारबाट हदबन्दी छुटमा जग्गा किन्न पाइने व्यवस्था छ । तर, त्यसरी हदबन्दी छुटमा किनेको जग्गा दुरुपयोग भएमा वा सर्त विपरीत प्रयोग गरेको पाइए सरकारले आफ्ना नाममा ल्याउन सक्छ ।

    यो पनि :

    पतञ्जलीको जग्गा अपचलन प्रकरण : तीन निकायको एक साथ अनुसन्धान, होला त दोषीमाथि कारबाही ? 

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend