काठमाडौं । सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सात करोड ठगेको आरोपमा प्रहरीले ललितपुरको सुयोग सहकारीका अध्यक्षसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ललितपुरको मानभवनमा रहेको सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पुल्चोकका ४३ वर्षीय सुनिल महर्जन, उपाध्यक्ष मंगलबजारकी ६० वर्षीया मलिका महर्जन र सचिव भक्तपुरको सूर्यविनायकका ३७ वर्षीय अर्पण कवा रहेका छन् ।
उनीहरूविरुद्ध बचतकर्ताहरूको निक्षेप अपचलन गरेर सात करोड १३ लाख ४६ हजार रुपैयाँ ठगी गरेको आरोप गरेको उजुरी परेको थियो ।
थप अनुसन्धान तथा कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।