logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔँ : सदस्य गौतम

    संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔँ : सदस्य गौतम

    749
    Shares
    संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔँ : सदस्य गौतम

    काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरिब बनाएको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरिब बनाएको बताएका हुन् ।

    उनले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताए । उनले निर्वाचन प्रणालीका कारण राजनीतिक पार्टीहरु अल्पमतमा हुने गरेका भन्दै पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्वन गर्नुपर्ने बताए । उनले व्यक्ति नभइ पार्टी निर्वाचित हुने पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्वन गर्नुपर्ने बताए । उनले खर्च कम गर्नका लागि राष्ट्रपति, मुख्यमन्त्री, पालिका प्रमुख र प्रतिनिधिसभा सदस्य तथा प्रदेश र पालिका सभाका सदस्यहरुको एकै दिन निर्वाचन गर्नुपर्ने बताए ।

    उनले भने – ‘नेपाल राष्ट्रलाई सधैँ गरिब हुन प्रेरित गर्ने हामीले अवलम्वन गरेको यो संसदीय शासन प्रणाली र निर्वाचन प्रणाली नै हो । अब साहस गरेर नेपालको संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा प्रवेश गरौँ । त्यसैगरी सधैँ अल्पमतको अवस्थामा सबै राजनीतिक पार्टीहरुलाई पुर्याउने अल्पमतिय वर्तमान निर्वाचन प्रणाली परित्याग गरेर व्यक्ति होइन, पार्टी निर्वाचित हुने पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्वन गरौँ ।

    पार्टी निर्वाचित हुने प्रणाली भएपनि उम्मेदवारहरु पहिले नै तय गरेर जनताका बीच प्रश्तुत गर्ने प्रणाली स्थापित गरौँ । यसरी निर्वाचन गर्दा राष्ट्रपति, मुख्यमन्त्री, पालिका प्रमुख र प्रतिनिधि सभा सदस्य तथा प्रदेश र पालिका सभाका सदस्यहरुको पनि एकै दिन एउटै मतबाट निर्वाचन गर्ने व्यवस्था गरौँ । निर्वाचन खर्चबाट सबै जोगिने छौँ । जालझेल, कपट, बुथकब्जा, मत किनबेच जस्ता अग्राह्य क्रियाकलापबाट पनि बच्नेछौँ ।’

    राष्ट्रिय सभा सदस्य गौतमले नेपालका सबै कृषियोग्य भूमीलाई राष्ट्रियकरण गर्नुपर्ने पनि बताए । उनले सरकारले भुमीपतिहरुलाई चलन चल्तीको मूल्य प्रदान गरेर राष्ट्रियकरण गर्नुपर्ने बताए । यसो गरेमा नेपालको समृद्धि शुरु हुने उनको भनाई छ ।

    उनले भने – ‘म जतिसक्दो छिटो नेपालको सम्पूर्ण कृषि उत्पादनको भुमी राष्ट्रियकरण गर्न नेपाल सरकारलाई अनुरोध गर्छु । संसारका अरु सबै मुलुकहरुले राष्ट्रियकरण गर्दा कुनै मुआब्जा दिएनन् । तर नेपालको कृषि भूमी नेपाली जनताले रगत, पसिना लगानी गरेर आर्जन गरेको हुनाले सरकारले भूमीपतिहरुलाई चलन, चल्तीको मुल्य प्रदान गरेर राष्ट्रियकरण गर्नुपर्छ ।

    मुल्य वापत् अहिले नेपाल सरकारले बैंक ग्यारेन्टी दिनुपर्छ । त्यो सम्पूर्ण मुल्य सरकारले पूर्व भूमिपतिहरुकै नाममा नेपालमा औद्योगिकिकरण लागू गर्दाखेरी त्यहीँ लगानी गरिदिनु पर्छ । यहाँबाट नेपालको समृद्धि सुरु पनि हुनेछ । त्यसरी प्राप्त हुने भूमी कम्पनीका आधारमा हिमाली पिउने पानी, जडिबुटी उत्पादन, चौरी, भेडा, च्याङ्ग्रापालन, फलफुल उत्पादन, स्याउ, सुन्तला, आँप, लिचि र तरकारी, चिया, कफि, खाद्य पद्धार्थ, माछापालन, मासु, अण्डा, दुध उत्पादनमा लगानी गर्नुपर्छ ।

    त्यसैगरी अन्तर्राष्ट्रिय व्यापार, घरेलु व्यापार, औद्योगिक उत्पादनमा लगानी गर्नुपर्छ । प्रत्येक पालिका केन्द्रमा अत्याधुनिक बजार विकास गर्नुपर्छ । त्यसैगरी शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन प्राप्त त्यहाँबाट गर्नुपर्छ । यसो गरियो भने दुई करोड भन्दा धेरै नेपालीहरुले देशभित्रै रोजगारी प्राप्त गर्नेछन् ।’

    राष्ट्रिय सभा सदस्य गौतमले गणतन्त्रमा पनि बजेटको ढाँचा परिवर्तन नभएको भन्दै बजेटप्रति आफ्नो भन्नु केही नरहेको बताए । जति विनम्र भएर अनुरोध गरेपनि अथवा जति विद्वता पस्किएपनि बजेटमा केही थपथाप नहुने भन्दै आफ्नो आलोचनात्मक समर्थन रहेका उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend