शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

पुँजीको सकसमा रहेका बैंकका लागि पुँजी सहज बनाउन सरकारसँग बैंकर्स संघको माग

पुँजीको सकसमा रहेका बैंकका लागि पुँजी सहज बनाउन सरकारसँग बैंकर्स संघको माग

काठमाडौं । नेपाल बैंकर्स संघले पुँजीको सकसमा रहेका बैंकहरुका लागि पुँजी सहज बनाउन सरकारसँग माग गरेको छ । मंगलबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा बैंकर्सहरुले यस्तो माग गरेका हुन् ।

बैंकर्सहरुले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुँजीकोषमा सकसमा रहेका बैंकहरुलाई अतिरिक्त पुँजी सहजता प्रदान गर्ने मौद्रिक नीति राष्ट्र बैंकले ल्याउनुपर्ने माग राखेका छन् ।

क्यापिटल एडुक्वेसी फ्रेमवर्क २०१५ अनुसार बैंकहरुले जोखिम भारित सम्पतीको ४.५ प्रतिशत कमन इक्विटी क्यापिटल र थप २.५ प्रतिशत पुँजी संरक्षण बफर कायम गर्नुपर्ने व्यवस्था रहेको छ । त्यस्तै बैंकहरुले १.५ प्रतिशत (अतिरिक्त प्राथमिक पुँजी) सहित प्राथमिक पुँजीकोष अनुपात न्युनतम ८.५ प्रतिशत कायम राख्नुपर्छ भने २.५ प्रतिशत पूरक पुँजी जोडेर ११ प्रतिशत पुँजीकोष बैंकहरुसँग हुनुपर्ने व्यवस्था छ ।

त्यसमा आगामी मौद्रिक नीतिमार्फत अतिरिक्त पुँजी जुटाउनको लागि सहज नीति सरकारले लिनुपर्ने बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले माग गरे । बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोईरालाले पुँजी सकसको कारण लगानी बिस्तारमा समस्या रहेको भन्दै मौद्रिक नीतिमार्फत सहजिकरण गर्नुपर्ने बताए । उनले आगामी मौद्रिक नीतिमा पुँजीकोषमा सकस रहेका बैंकहरुलाई अतिरिक्त पुँजी सहजता गर्ने विषयलाई सम्बोधन गर्नुपर्ने बताए ।

उनले मौद्रिक नीतिले पुँजी सकसको समस्या सहजिकरण गर्दा बैंकर्सको मनोबल बढ्ने बताए । अब स्थिर सरकार बन्ने भएको भन्दै उनले बैंकर्सहरुमा पनि आशा जगाएको बताए ।

बैंकर्स संघका पूर्वअध्यक्ष तथा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले बैंकहरुले पुँजी सकसको कारण पैसा भएर पनि कर्जा दिन नसकेको बताए । उनले बैंकहरुमा क्यापिटल रिक्वायरमेण्ट अन्तर्राष्ट्रिय स्ट्याण्डरभन्दा कडा रहेको भन्दै त्यसलाई मौद्रिक नीतिमार्फत् केही लचकता अपनाउन माग गरे ।

उनले सरकारले बैंकहरुमा पुँजीकोषमा सहजता ल्याउने र निर्माण व्यवसायीहरुको भुक्तानीको समस्या समाधान भए अर्थतन्त्रले तत्काल गति लिने विश्वास व्यक्त गरे । उनले रेगुलर रिजर्वलाई कोर पुँजीका रुपमा मान्यता दिनुपर्ने बताए ।

बैँकर्स संघका अध्यक्ष सुनिल केसीले बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर कम भएपनि र कर्जा विस्तार अपेक्षाकृत हुन नसकेको बताए । उनले सरकार अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ अग्रसर हुनुपर्ने बताए । उनले सरकारले बैंकहरुलाई दिनुपर्ने १० अर्ब रुपैयाँ तत्काल भुक्तानी दिनुपर्ने बताए ।

उनले सरकारलाई विभिन्न शीर्षकमा दिएको कर्जा भुक्तानी नहुँदा बैंकहरुलाई समस्या भएको भन्दै १३ अर्ब रुपैयाँमा ३ अर्ब मात्रै भुक्तानी भएको बताए ।

बैंकर्सहरुले बैकिङ क्षेत्रमा वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्न सदैव तत्पर रहेको बताएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend