logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • २ अर्ब लगानीमा लुम्बिनीमा पाँचतारे होटल सफ्रोन बन्दै, ‘ह्यात रिजेन्सी’ ब्राण्डमा चल्ने

    २ अर्ब लगानीमा लुम्बिनीमा पाँचतारे होटल सफ्रोन बन्दै, ‘ह्यात रिजेन्सी’ ब्राण्डमा चल्ने

    1.6K
    Shares
    २ अर्ब लगानीमा लुम्बिनीमा पाँचतारे होटल सफ्रोन बन्दै, ‘ह्यात रिजेन्सी’ ब्राण्डमा चल्ने

    काठमाडौं । लुम्बिनीमा अहिले निजी लगानीमा विभिन्न तारे होटल सञ्चालनमा आउँदै छन् । अझै पनि होटलहरु निर्माण भइरहेका छन् । यस्तै लुम्बिनीमा आउने पर्यटकहरुलाई लक्षित गरी निजी लगानीमा लुम्बिनी प्रदेशको बुटवलमा पाँचतारे होटल सफ्रोन सिके निर्माण भइरहेको छ ।

    १ सय ७ कोठा हुने निर्माणाधीन होटल बनाउन २ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसअनुसार १ अर्ब १५ करोड ६० लाख रुपैयाँ बैंकबाट ऋण र बाँकी ८४ करोड ८० लाख रुपैयाँ संस्थापकको स्वपुँजी (इक्विटी) लगानी रहेको छ ।होटलमा ५८ प्रतिशत ऋण र बाँकी ४२ प्रतिशत इक्विटी हुने गरी लगानी संरचना बनाइएको छ ।

    यसअघि १ अर्ब ४५ करोड ६० लाख रुपैयाँ ऋण र ९६ करोड ६० लाख रुपैयाँ इक्विटी प्रस्ताव गरिएको थियो । यसअघि ६६ प्रतिशत ऋण र ३४ प्रतिशत इक्विटी लगानी हुने अनुमान गरिएकोमा पछि संशोधन भएको होटल सफ्रोनले जनाएको छ ।

    नयाँ परियोजना थप्ने योजना बनाएको क्यासिनोको छुट्टै जग्गा र भवन हुने भएका कारण लागतमा संशोधन गरिएको होटलले जनाएको छ । ९० करोड ५० लाख रुपैयाँ बैंकबाट ऋण प्राप्त भइसकेको होटल सफ्रोनले जनाएको छ ।

    होटल आगामी सन् २०२५ को मध्य जनवरी (माघ) देखि व्यवसायिक रुपमा सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ । यसअघि होटल २०२४ नोभेम्बरदेखि सञ्चालनमा ल्याउने लक्ष्य थियो । २०२३ मा सञ्चालनमा ल्याउन भनिएको थियो । कोरोना महामारीलगायत विभिन्न कारणले होटल निमाण प्रभावित भएको छ ।

    होटल सफ्रोनले व्यवस्थापनका लागि ह्यात इन्टरनेसनल साउथसँग सम्झौता गरेको छ । जुन ह्यात होटल कर्पोरेशनसँग सम्बन्धित छ । होटल सफ्रोन ‘ह्यात रिजेन्सी’ ब्राण्डमा सञ्चालन हुने भएको छ । ह्यात ग्लोबल प्रिमियम होटल व्यवस्थापन ब्राण्ड हो । जसको २० वटा प्रिमियम ब्राण्ड रहेका छन् । विभिन्न ७६ मुलुकहरुमा १३ सय होटल सञ्चालनमा छन् ।

    होटल व्यवस्थापनले ह्यात सञ्चालन मानक, प्राविधिकअनुसार पर्यवेक्षण सेवा प्रदान गर्दछ । यस्तै व्यावसायिक प्रशिक्षण र ग्राहक आरक्षणहरू ह्यान्डलिङ सेवाहरूले होटललाई थप लाभ दिने छ । कम्पनीको लागि स्थापित सेवा ढाँचामा पहुँचसहित एक व्यापक ग्राहक आधार र मार्केटिङ सहायता प्रदान गर्नेछ ।

    ५ हजार७ सय ४६ वर्गमिटरमा फैलिने होटलमा १ सय ७ वटा कोठाहरू रहने प्रस्ताव गरिएको छ । पाँचतारे स्तरको होटलमा रेष्टुरेन्ट, स्विमिङ पुल, सम्मेलन र ब्याङकेट हल, स्पालगायत सबै किसिमका पाँचतारे होटल सुविधाहरू रहेका छन ।

    होटलले १ अर्ब २३ करोड ५९ लाख ६० हजार रुपैयाँ ऋणको रेटिङ गराएको छ । जसमा १ अर्ब १५ करोड ५९ लाख ५० हजार रुपैयाँ दीर्घकालिन र ८ करोड रुपैयाँ अल्पकालिन ऋण रहेको होटलले जनाएको छ । होटल भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट २४ किलोमिटरको दुरीमा रहेको छ । नेपाल–भारत सीमानाबाट बुटबलस्थित होटलमा पुग्न २६ किलोमिटर दुरी रहेको छ ।

    होटल साइटमा प्रस्तावित बुटवल मण्डपको अगाडी १० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्र छ । होटलको अध्यक्ष चुन्नप्रसाद शर्मा रहेका छन् । उनी यसोदा फूड्सका अध्यक्षका साथै सोना प्याकेजिङका निर्देशक पनि हुन् । होटल २०१८ को नोभेम्बर २१ मा स्थापना भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend