काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट विशेष पोलियो खोप अभियान शुरु भएको छ । बुधवारबाट उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाहरुका लागि विशेष पोलियो खोप अभियान शुरु भएको हो ।
खोप स्वास्थ्यकर्मी र महिला सामुदाकियक स्वास्थ्य स्वयंसेविकामार्फत घरघरमा पुगेर खुवाउन शुरु गरिएको हो ।
काठमाडौं महानगरपालिका वडा नम्बर २९ की स्वास्थ्य स्वयंसेविका निर्मला सुवेदीले वडाले तोकिदिएको क्षेत्रमा पुगेर घरघरमा पोलियो खोप अभियान शुरु गरिएको बताइन् ।
उनले विद्यालयमा पुगेर ख्वाउन सहज भएपनि त्यसबाहेक विद्यालय नजाने बालबालिकाहरुका लागि घरघरमै पुगेर खुवाउने अभियान शुरु गरेको बताइन् । उनले कतिपय अभिभावकहरुले कुरा नुबझ्दा असहज भएको पनि बताइन् ।
उनले भनिन्, ‘हामी २९ नम्बर वडाको स्वयंसेविकाहरु हो । हामीलाई २९ वडा भरमा कभरेज गरेर हाम्रो क्षेत्रहरु तोकिदिनुभएको छ । त्यहीअनुसार हामीले सो क्षेत्रमा गएर खुवाउनेछौँ । स्कुलमा त खुवाइ नै हाल्छौँ । घरमै रहने बच्चाहरु छुट्ने भएकाले घरदैलो गरेका छौँ ।
यसमा अभिभावकहरु कति कुराहरु बुझ्नु नै हुन्छ । खुशीसाथ कोही अभिभावकले खुवाउनु हुन्छ । कोही अभिभावक भने अस्ति भर्खर खुवाएको किन खुवाउने भन्नु हुन्छ । त्यसैले सूचनाहरु हेर्न आग्रह गर्दछु । पोलियो फेरि देखिएकाले विशेष अभियान शुरु गरेका छौँ । ५ वर्ष भन्दा मुनिका बच्चाहरुलाई पोलियो ख्वाइरहेका छौँ ।’
पोलियो भाइरसबाट संक्रमण भएमा ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुने जस्ता लक्षण देखिन्छ । डाक्टरका अनुसार पोलियो रोग दुषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । पोलियो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने तर ५ वर्ष मुनिका बालबालिका बढी जोखिममा हुने डाक्टरको भनाइ छ ।
यो रोगबाट सुरक्षित हुने एक मात्र उपाय भनेको पोलियो बिरुद्धको खोप नै हो । सरकारले बालबालिकालाई राष्ट्रिय खोप तालिकामार्फत पोलियो विरुद्धको खोप नियमित रूपमा दिँदै आएको छ ।