logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • ‘सामाजिक सञ्जालबाट हुने व्यापारलाई विद्युतीय व्यापार विधेयकमार्फत कानूनी दायरामा ल्याउनुपर्छ’

    ‘सामाजिक सञ्जालबाट हुने व्यापारलाई विद्युतीय व्यापार विधेयकमार्फत कानूनी दायरामा ल्याउनुपर्छ’

    518
    Shares
    ‘सामाजिक सञ्जालबाट हुने व्यापारलाई विद्युतीय व्यापार विधेयकमार्फत कानूनी दायरामा ल्याउनुपर्छ’

    काठमाडौं । विद्युतीय व्यापारलाई व्यवस्था गर्न बनेको विधेयक, २०८० मा सामाजिक सञ्जालको कारोबारलाई पनि व्यवस्थित बनाउने गरी संशोधन गर्न आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।

    बुधबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा इ–कमर्स क्षेत्रमा सामाजिक सञ्जालमार्फत हुने कारोबारलाई पनि व्यवस्थापन गर्न जरुरी रहेको बताएका हुन् ।

    उनीहरुले समितिले विद्युतीय व्यापार विधेयकमा कित सामाजिक सञ्जालबाट हुने कारोबारलाई रोक्नुपर्ने नभएर कानूनी दायरामा ल्याउन आवश्यक रहेको सुझाव दिए ।

    उनीहरुले इ–कमर्स कारोबार गरिरहेका व्यवसायीहरुलाई कानूनको अभावमा विद्युतीय माध्यमद्वारा सञ्चालन गरिने व्यापारको व्यवस्थापन गर्न कठिनाइ भएको समितिबाट चाँडै इ–कमर्स व्यवसायलाई वैधानिक र सहज रुपमा कारोबार गर्ने गरी विधेयक पारित गर्न माग गरेका हुन् ।

    समिति बैठकमा बोल्दै इ–कमर्समार्फत व्यवसाय गरिरहेको तराजका प्रतिनिधि प्रशान्त बुढाथोकीले सामाजिक सञ्जालका माध्यमबाट भइरहेको कारोबारलाई रोक्न आवश्यक रहेको बताए । उनले सामाजिक सञ्जालमा हुने कारोबारलाई औपचारिक कारोबारमा ल्याउने गरी कानून बनाउन आवश्यक रहेको बताए ।

    उनले सामाजिक सञ्जालबाट भएको कारोबारमा उपभोक्ताहरु ठगिने गरेको भन्दै त्यो कार्य रोक्नको लागि सामाजिक सञ्जाललाई पनि कानूनी दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले इ–कमर्स व्यवसायको रुपमा दर्ता भएर कारोबार गरिरहेका संस्थाहरुले जस्तो सामाजिक सञ्जालमा भएको कारोबारले सेवा दिन नसक्ने बताए ।

    विद्युतीय व्यापारलाई व्यवस्था गर्न बनेको विधेयक, २०८० मा सामाजिक सञ्जालको कारोबारलाई पनि व्यवस्थित बनाउन सक्नुपर्ने उनको भनाई छ । उनले अनौपचारिक रुपमा इ–कमर्सको रुपमा भईरहेका कारोबारलाई व्यवस्थित हुने र अनौपचारिक रुपमा भएका कारोबार रोकिने बताए ।

    मेरो अड्डाका सिईओ आलोक सुवेदीले पनि राष्ट्रिय सभाबाट पारित भएको विधेयक ‘कमर्स’ र ‘ईकमर्स’को फरक छुट्याउन नसकिने भएको बताए । उनले विधेयकमा ईकमर्स क्षेत्रलाई पहिचान गरेको भएपनि छुट्टै व्यावहार गरिएको बताए । उनले ईकमर्स गर्नेहरू व्यवसायी वा विक्रेता दुवै भएको बताए । उनले यो विधेयकमा सामाजिक सञ्जालबाट हुने कारोबारलाई इ–कमर्स भनेर सम्बोधन नगरिएको बताए ।

    उनले विधेयकमा सफ्टवेयर भनेकाले सामाजिक सञ्जाललाई सफ्टवेयर मान्ने कि नमान्ने भन्ने दुविधा रहेको बताए । उनले विधेयकले कार डिलरलाई पनि इ–कमर्स बनाएको बताए । उनले विधेयकमा ‘इ कमर्स’को परिभाषा वृहत बनाउनु पर्ने बताए । उनले कुनै पनि वस्तुको इ–कमर्स प्लेटर्फमबाट नभएको भए त्यसलाई इ–कमर्स भन्ने कि नभन्ने ? दुविधा भएको बताए ।

    उनले सामाजिक सञ्जालमा हुने व्यापारलाई दर्ता प्रक्रियामा ल्याउने गरी कानून बनाउनुपर्ने बताए । उनले व्यक्तिगत प्यान नम्बरले व्यापार गर्न पनि पाउनुपर्ने बताए । उनले सामाजिक सञ्जालमा भएको व्यापारलाई विज्ञापन भन्ने वा विद्युतीय व्यापार भन्ने यसको पनि परिभाषा आवश्यक रहेको बताए ।

    बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले व्यवसायीहरुलाई धेरै लामो प्रक्रिया बनाउने मनाशाय नराखेको बताए । उनले इ–कमर्स व्यवसायीहरुलाई विधेयकमा अफ्ठ्यारा व्यवस्थाहरु भए छलफल गरेर संशोधन गर्ने बताए । उनले सरकारले उपभोक्ता र व्यवसायलाई सन्तुलनमा राखेर काम गर्ने बताए । उनले नियमनका हिसाबले कसिलो नीतिलाई परिमार्जन गर्ने बताए ।

    बैठकमा सांसदहरुले मुलुकमा विद्युतीय व्यापारको माध्यमबाट वस्तु तथा सेवाको खरिदबिक्री बढ्दो क्रममा रहेकाले विद्युतीय माध्यमबाट हुने कारोबारलाई निमयन तथा व्यवस्थित गर्न आवश्यक रहेको धारणा राखेका थिए । उनीहरुले विज्ञहरुसँगको परामर्श र छलफलको माध्यमबाट विधेयकलाई चाँडै समितिबाट पास गर्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend