logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • कुइनाको सहारामा अक्षर कोर्न थालेका गणेशको यसरी सम्भव भयो सिंहदरबारसम्मको यात्रा

    कुइनाको सहारामा अक्षर कोर्न थालेका गणेशको यसरी सम्भव भयो सिंहदरबारसम्मको यात्रा

    497
    Shares
    कुइनाको सहारामा अक्षर कोर्न थालेका गणेशको यसरी सम्भव भयो सिंहदरबारसम्मको यात्रा

    काठमाडौँ । उनका दुवै हातका कुइनाभन्दा मुनीको भाग छैन । सपांगका जस्तै हातमा दश औँला छैनन् । तर कम्प्युटरको किबोर्ड भने सहजै चलाउँछन् । दुवै कुइनामा कलम च्यापेर फररर राम्रा अक्षर पनि कोर्छन् ।

    धेरैका लागि असामान्य लाग्ने यो गतिविधि खोटाङका ३१ वर्षे गणेश राईका लागि भने सामान्य दैनिकीको अंश हो । उनी विद्यालय जान थालेपछिको यो संघर्ष आज पनि जारी छ । उनका शब्दमा उनले कक्षा २ मा पढ्दादेखि कुइनाको सहारामा अक्षर कोर्न थालेका हुन् । “कक्षा १ मा पढ्दा भूँइमा बसिन्थ्यो त्यसैले सुरुमा खुट्टैले लेख्न सिके, कक्षा २ मा पुगेपछि बेञ्चमा बस्दा डेस्कमा खुट्टाले लेख्न नसकेपछि कुइनाले च्यापेर लेख्न थाले”, बुधबार अनामनगरस्थित सुनौलो नेपालको कार्यालयमा आएका उनले सुनाए ।

    झण्डै साढे दुई दशकदेखि विद्यालय र कार्यालयमा यसैगरी बिताएका उनको यतिबेला आएर चर्चा चुलिएको छ । राष्ट्रिय सञ्चारमाध्यममा उनको संघर्ष र इमान्दारिताको प्रशंसा भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई आफ्नै सचिवालयमा राखेपछि उनको कथाले आमसञ्चारमाध्यममा स्थान पाएको छ ।

    खोटाङको जन्तेढुंगा–३ मा जन्मिएका राईले कक्षा ५ सम्मको विद्यालय शिक्षा जलेश्वरी प्रावि र त्यसपछि कक्षाा १२ सम्म चिसापानी मावीबाट पूरा गरे । २०६६ सालमा एसएलसी र त्यसपछि सोही विद्यालयमा प्लस टु सकाएपछि उनी ब्याचल पढ्न दिक्तेल क्याम्पसमा आएका थिए । प्लस टुमा शिक्षा संकाय पढे पनि ब्याचलरमा भने व्यवस्थापन संकायमा भर्ना भएका थिए । दिक्तेल क्याम्पसमा स्नातक पहिलो वर्ष पढ्दै गर्दा एक विद्यार्थी नेताको साहरामा उनी काठमाडौँ आएका रहेछन् ।

    “दिक्तेल क्याम्पसमा आइसकेपछि मिलन राई दाईसँग भेट भयो, उहाँले निकै माया गर्नुहुन्थ्यो, उहाँ अहिले हामीमाझ हुनुहुन्न । मलाई काठमाडौँ ल्याएर यहाँसम्म आइपुग्न बाटो देखाउने भने उहाँ नै हुनुहुन्थ्यो”, राईले विगत सम्झिए । मिलन राई त्यो बेलामा अनेरास्ववियुमार्फत विद्यार्थी राजनीति गर्दै आएका थिए । पछि उनको मोटरसाइकल दुर्घटनामा निधन भयो । उनै मिलन दाईको पछि लागेर काठमाडौँ आएका गणेशको चिनजान नेकपा एमालेका नेताहरु विशाल भट्टराई, भैरव राई र देवबिक्रम राईलगायतसँग भयो  । उनीहरुले नै राईलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गराएका थिए ।

    “सायद पहिलो पटक भेट हुँदा उहाँ (केपी शर्मा ओली) प्रधानमन्त्री भइसक्नुभएको थिएन, कम्प्युटर चलाउन सक्छ भनेर थाहा पाएर होला प्रधानमन्त्री हुने वित्तिकै बोलाएर सहरी विकास मन्त्रालयअन्तर्गतका डिभिजन कार्यालय काठमाडौँमा करारमा जागिर दिनुभएको थियो”, उनले सुनाए । जागिर भएपछि काठमाडौँ बस्नका लागि बाहना मिल्यो, बाटो खुल्यो । तर जागिरको व्यस्तताले पढाइ भने दिक्तेलमै छुट्यो ।

    त्यसो त उनले कम्प्युटरको महत्व दिक्तेलमै थाहा पाइसकेका थिए । सूचना प्रविधिले डोहो¥याइरहेको अहिलेको युगमा कम्प्युटरको सिकाइ आधारभूत हो भन्ने उनलाई थाहा थियो । त्यसैले अरुका जस्ता औँला नभए पनि आत्मविश्वासका साथ कम्प्युर सिक्न इन्स्टिच्युट छिरेको क्षण राईको मनमा अहिले पनि ताजै छ ।

    सुरुमा उनलाई यस्तो हातले कसरी कम्प्युटर सिक्छौ भन्ने पनि थिए । तर यस्ता प्रश्न गर्नेहरुले हेयको भावले भन्दा बढी प्रश्नका रुपमा जिज्ञाशा उनीतर्फ तेर्साउथे । उनका मनमा भने कम्प्युटर कस्तो हुन्छ र के काम गर्छ भन्ने कौतुहलता मेट्न उनी खोटाङ विकास मञ्च कम्प्युटर सेन्टरमा पुगेका थिए ।

    “त्यहाँ पुगेर कम्प्युटर सिक्छु भनेपछि एक जना दाईले भित्र बोलाएर कागज दिएर ल किबोर्ड हेरेर यो टाइप गर त भन्नुभयो, मैले कुइनाले भ्याएसम्म सबै टाइप गरे, मैले टाइप गरेको देखेपछि उहाँलाई केटोले सिक्न सक्छ भन्ने लागेछ क्यारे, भोलिदेखि सिक्न आउ भन्नुभयो”, राईले विगत सम्झिए । रहरै रहरमा दिक्तेलमा कम्प्युटरको आधारभूत ज्ञान जानेकै कारणले उनले काठमाडौँमा करारको जागिर पाएका थिए ।

    त्यसो त उनलाई घर, परिवार र समाजबाट जहिल्यै साथ मिल्यो । अपांगता भएकाहरुले परिवार र समाजको साथ नपाउने हो भने काम गर्न गाह्रो हुने उनको बुझाइ छ । परिवारको अथाह साथ र सहयोगकै कारण समाजले पनि उनको आत्मबललाई होच्याउन पाएन बरु सधै साथ र सहयोग नै गरिरह्यो । उनी घरमा बुबा आमा र समाज तथा विद्यालयका शिक्षकहरुबाट राम्रो साथ पाएकाले यहाँसम्म आइपुग्न सकेको बताउँछन् ।

    ओली पहिलो पटक प्रधानमन्त्री बन्दा डिभिजन कार्यालयमा करारमा जागिर गरिरहेका राईले ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासन महाशाखामा कम्प्युटर अपरेटरका रुपमा काम पाएका थिए ।  प्रधानमन्त्री ओलीले नै उनलाई आफ्नै कार्यालयमा बोलाएका थिए । “उहाँ (ओली) अपांगता भएका, गरिब तथा निमुखाहरुप्रति निकै दयालु हुनुहुन्छ, मैले कैयौँ पटक यसप्रकारका महसुस गर्न पाएको छु, त्यसैले उहाँसँग काम गर्दा मलाई ऊर्जा प्राप्त हुन्छ, एक प्रकारको अभिभावकत्व पनि मिल्छ”, राईले भने ।

    ओली प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्को कार्यालयमा आएका उनले त्यसपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि सोही कार्यालयमै रहेर काम गर्ने मौका पाए । तर गत आर्थिक वर्षमा ओएनएम अर्थात् अर्गनाइजेसन एण्ड म्यानेजमेन्टको सर्वेपछि कर्मचारी कटौती गर्दा यही साउन १ गतेदेखि भने उनले जागिर गुमाए ।

    भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् :

    केही दिन अघि मात्रै जागिर गुमाएको थिएँ । तर संयोग कस्तो भने ओली प्रधानमन्त्री भइहाल्नु भयो । धेरै दिन बेरोजार बस्नु परेन । सुरुमा उहाँले नै मलाई जागिर दिनुभएको र कार्यालयमा मलाई नदेखेपछि सोधखोज गर्नुभएको भन्ने सुनेको थिएँ । तर जे भए पनि प्रधानमन्त्री ओलीको सदासयताप्रति उनी निकै खुसी छन् । राईले आफूलाई भाग्यमानी ठानेका छन् ।

    राईलाई एउटै पछुतो भने पढाइ पूरा गर्न नपाएकोमा छ । दिक्तेलबाट काठमाडौँ आएपछि छुटेको स्नातक तहको पढाइ अब सुरु गर्ने योजना रहेको उनले सुनाए । प्लसटुमा शिक्षा संकाय पढेका उनी स्नातकमा भने व्यवस्थापनमा भर्ना भएका थिए, अब त्यो पढाइ पूरा गर्ने उनको अठोट छ ।

    उनी अपांगता हुनु कुनै गल्ती होइन भन्दै अवसर पाए सबै अपांगता भएकाले सपांगले जस्तै काम गर्न सक्छन् भन्ने सोच राख्छन् । “मैले पनि अवसर पाएकैले काम गर्न पाएको छु, तर अपांगता भएकाहरु प्रति विश्वास भने हुनुपर्छ, कसैले हामीलाई विश्वास गरेर अवसर दिन्छ भने हामी पनि अरुले जस्तै काम गर्न सक्छौँ”, उनले भने । उनी आफू जस्तै अपांगता भएकाहरुलाई कहिल्यै आत्मबल नगुमाउन र कुनै पनि कुरा असम्भव छैन भन्ने भावका साथ निरन्तर काममा खटिरहन सुझाव पनि दिन्छन् । कुनै कामको निरन्तरताले अवश्य सफलता दिन्छ भन्ने उनको जीवनको सिकाइ र अनुभवले भन्छ ।

    उनी आफ्नै दैनिक जीवनमा गर्नुपर्ने सबै काम आफै गर्ने प्रयास गर्छन् । खाना पकाउन, कपडा धुन, नुहाउन, खाना खान र सरसफाइका लागि अरुको भर पर्नुपर्दैन । जीवनमा सधैभरी अरुको भर परेर हुन्न भन्ने सोच सानैमा पलाएकाले सकेसम्म आफ्नो काम आफै गर्ने प्रयास गर्ने गरेको उनले सुनाए । “हामी अपांगहरुले परीक्षा दिँदा कसैलाई साथमा राख्न पाउँछौँ, तर मैले कुनै पनि परीक्षामा कसैलाई राखेको छैन, सकेसम्म आफ्नै बलबुताले लेखेर परीक्षा दिन्छु भन्ने सोच सुरुदेखि नै थियो”, राईले भने ।

    राई हाल प्रधानमन्त्री ओलीको सचिवालयमा रहेर सबै प्रकारका काम गर्छन् । त्यहाँ रहँदा प्रधानमन्त्री ओलीको दौडधुपलाई नजिकबाट नियालेका पनि छन् । राई प्रधानमन्त्रीको कामलाई निकै सम्मानको भावले हेर्छन् । प्रधानमन्त्री ओलीको निरन्तरताको सक्रियता र मुलुक निर्माणको सोचले उनलाई जीवनमा अघि बढ्न जहिल्यै प्रेरणा दिने गरेको उनले सुनाए । “उहाँले हामीलाई जहिल्यै हौसला दिनुहुन्छ, राम्रो काम गर्नका लागि प्रेरणा दिनुहुन्छ, सचिवालयलाई चुस्त बनाउनका लागि केही आइडिया पनि दिनुहुन्छ”, उनले सुनाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend