logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • कृषिमा युवा:

    विदेशमा लाख बढीको जागिर छाडेर स्वदेशमै कृषि: मनग्य आम्दानी, चार जनालाई रोजगारी

    विदेशमा लाख बढीको जागिर छाडेर स्वदेशमै कृषि: मनग्य आम्दानी, चार जनालाई रोजगारी

    378
    Shares
    विदेशमा लाख बढीको जागिर छाडेर स्वदेशमै कृषि: मनग्य आम्दानी, चार जनालाई रोजगारी

    प्युठान । पाँच वर्षअघि विदेशबाट फर्केर कृषिमा लागेका प्युठान नगरपालिका–८ तल्लो गेजवाङका सन्तोष जिसीलाई आफ्नो गाउँ रमाइलो लाग्छ । उनले गाउँमा कृषिकर्म गरेर मनग्य आम्दानी समेत लिइरहेका छन् ।

    जिल्लामा किसान कृषिकर्ममा टिकेको पाइँदैन । केही त अनुदान लिएको अर्को वर्षदेखि नै फार्म बन्द गरेर विदेशिएका पनि छन् । तर जिसी भने प्रत्येक वर्ष नाफा वृद्धि गर्दै लैजाँदा खुसी छन् । उनले भने, “मासिक एक लाखभन्दा बढी तलब छाडेर स्वदेशमा कृषि पेशा अँगालेको हुँ । यहीँ नै लगनशील भएर काम गरे प्रशस्त आम्दानी गर्न सकिन्छ । ”

    विदेशमा जति कमाई भए पनि गाउँमै केही गरेर युवालाई उत्प्रेरणा दिन आफू विदेशबाट फर्केर कृषिमा लागेको जिसीले सुनाए । उनी संयुक्त अरब इमिरेट्सको दुबई अल्कुज कम्पनीमा पाँच वर्ष काम गरेर स्वदेश फर्किएका हुन् । हजुरबुबाले तल्लो गेजवाङको केही जग्गामा तरकारीखेती गरेर उब्जेको देख्दा आफ्नो बारीमा तरकारी फल्छ भन्ने लागेको र सोही प्रेरणाले विदेशबाट फर्केर तरकारीखेती गर्ने योजना बनाएको सुनाए ।

    जिसीको आठ रोपनी क्षेत्रफल भएको जग्गामा तरकारीखेती रहेको छ । यसमध्ये करिब तीन रोपनीमा पक्की टनेल निर्माण गरी बेमौसमी टमाटरखेती गरिएकामा टमाटरबाट एक याममा करिब तीन लाख रुपैयाँ बराबरको बिक्री गर्छन् । श्रीमती हिमा केसी जिसीले गाउँकै आधारभूत तहको शिक्षण गरी बिहान बेलुका सघाइरहेकी छन् भने स्थानीय चार महिलालाई रोजगारी समेत दिएका छन् ।

    जिसीले कृषि फार्म सुरुमा ५० हजार रुपैयाँ लगानीबाट गरेका थिए । सोही लागनीबाट बारीमा तरकारीखेती सुरु गरेका उनको अहिले कृषिमा लगानी ८ लाख पुगेको छ । बर्सेनि आम्दानी वृद्धि भएपछि उनले लगानी पनि बढाउँदै लगेका हुन् । तरकारीबाट बर्सेनि उत्पादन र आम्दानी वृद्धि हुँदै गएपछि थप हौसला मिलेको उनी सुनाउँछन् ।

    जिसी दम्पतीसहित बुबा, आमा, तीन छोरी गरी सातजनाको परिवार छ । “गत वर्ष सबै खर्च कटाएर वार्षिक छ लाख रुपैयाँ नाफा भएको छ”, जिसीले भने, “काममा स्वतन्त्रतासँगै मनग्य आम्दानी हुँदा विदेशभन्दा गाउँमा कृषि गर्नु धेरै राम्रो हो भन्ने लाग्दछ ।” विसं २०७९ मा साढे चार लाख जति नाफा भएकामा यस वर्ष उत्पादनसमेत वृद्धि र टनेलमार्फत खेती गर्दा उत्पादनमा वृद्धि भएको छ ।

    जिसीले टमाटर, भिण्डी र बोडी लगाइएकामा अब खुसार्नी र भेडेखुसार्नी लगाउन ब्याड तयार गरेका छन् । उनले आगामी वर्ष सात लाख रुपैयाँ बचत हुनेगरी उत्पादनमा लागेका छन् ।

    जिसीलाई दुई वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग गर्दै आएको छ । गत वर्ष हाते ट्रयाक्टर अनुदानमा पाएकामा यस वर्ष टनेलका लागि दुई लाख ७० हजार रुपैयाँ अनुदान पाएका थिए । जिल्लामा कृषि उत्पादनको बजारीकरणमा समस्या देखिए पनि जिसीले तरकारी व्यवसायीसँग प्रत्यक्ष कारोबार गर्ने हुँदा बजारको अभाव छैन ।

    प्युठानका बिजुवार, बाग्दुला, क्वाडी, खलङ्गाका पसलमा तरकारी पुग्ने गरेको छ । तर हिउँदे सिजनमा तराईका तरकारीले बजार निर्धारण गर्ने हुँदा मूल्य नपाउने समस्या भने छ । स्थानीय सरकारले मूल्य निर्धारण गर्ने र बाह्य तरकारीलाई निरुत्साहित गरी स्थानीय उत्पादनलाई बजारीकरणमा सहयोग गरे किसानलाई मार नपर्ने उनको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend