logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • राष्ट्रिय खेलकुदको कार्यविधिबारे छलफल अगाडि बढ्यो

    राष्ट्रिय खेलकुदको कार्यविधिबारे छलफल अगाडि बढ्यो

    273
    Shares
    राष्ट्रिय खेलकुदको कार्यविधिबारे छलफल अगाडि बढ्यो

    काठमाडौं । आगामी मंसिरको पहिलो सातादेखि कर्णालीमा शुरु हुने दशौं राष्ट्रिय खेलकुदको कार्यविधिमा छलफल प्रक्रिया अगाडि बढेको छ ।

    सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बुधबार खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङको टोलीले उक्त कार्यविधि छलफल गरी त्यसले अन्तिम टुङ्गो लगाउने प्रक्रिया अगाडि बढाएको हो ।

    कर्णाली प्रदेशका विभिन्न जिल्लामा आगामी मंसिर २ देखि ९ गतेसम्म राष्ट्रिय खेलकुद प्रतियोगिताको दशौं संस्करण आयोजना हुँदैछ । मन्त्री चौधरीले यस पटक राष्ट्रिय खेलकुद निर्धारित समयमा नै हुने प्रष्ट पारिसकेका छन् । त्यसैले आयोजनाको तयारीलाई तिब्रता दिन आवश्यक कामका प्रक्रिया अगाडि बढेको छ ।

    बुधवार मन्त्रालयमा राष्ट्रिय खेलकुद आयोजनाका लागि आवश्यक बजेटका खाका, स्थानीय व्यवस्थापन र खेलाडी छनोटलगायत विषयका बारेमा पनि छलफल भएको थियो । यसअघि नै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो, मस्कट र गीत सार्वजनिक भइसकेको छ ।

    लोगोमा सात प्रदेशलाई प्रतिनिधित्व गर्ने रङ, राष्ट्रिय चरा डाँफे, राष्ट्रिय झण्डा र कर्णाली नदीलाई समेटिएको छ । मस्कटमा कर्णालीको हिमाली जिल्लामा पाइने दुर्लभ वन्यजन्तु रेडपाण्डा छ । नेपाली खेलकुदका निकायले सय दिनभन्दा कम समय बाँकी रहँदा राष्ट्रिय खेलकुद आयोजनाको तयारीमा तिब्रता पारेको छ ।

    बुधबार मन्त्रालयमा खेलाडी, प्रशिक्षक, अफिसियल र रेफ्रिको पोशाक, खेल सामग्री र व्यवस्थपकीय पक्षका बारेमा छलफल भएको थियो । उक्त दशौं राष्ट्रिय खेलकुद कार्यविधि र आयोजनाका लागि आवश्यक अन्य तयारी प्रक्रियाका बारेमा राखेपको बोर्डबाट पास गर्नुपर्ने हुन्छ ।

    यद्यपि, लामो समयसम्म राखेपको बोर्ड बैठक बस्न सकेको छैन । यस्तो स्थितिमा राष्ट्रिय खेलकुद निर्धारित समयमा हुनेमा संका पनि उत्पन्न भइरहेको छ आगामी राष्ट्रिय खेलकुदको सय दिनको काउन्ट डाउन पनि गत सातादेखि नै शुरु भइसकेको छ ।

    दशौं खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल कर्णाली प्रदेश रंगशालाको ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम असोजभित्रमा सम्पन्न हुने कर्णाली खेलकुद विकास समितिले लक्ष्य राखेको छ ।

    यसपल्ट राष्ट्रिय प्रतियोगितामा ३६ वटा खेल सञ्चालन गरिँदैछ । तीमध्ये कर्णालीमा २४ खेलहरू खेलाइने तयारी भएको छ । बाँकी खेलहरू प्रदेश बाहिर आयोजना गर्न राष्ट्रिय खेलकुद परिषद्लाई सिफारिस भएको छ ।

    कर्णालीका १० जिल्लामध्ये अधिकांस खेलहरू सुर्खेतमा हुने भएपनि केही खेल हिमाली र पहाडी जिल्लामा पनि आयोजना गर्ने तयारी गरिएको छ ।

    राष्ट्रिय सडक सञ्जालको पहुँच पनि नपुगेको हुम्लामा समेत दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेलहरू हुनेछन् । परिषद्ले हुम्लामा हक्की खेल खेलाउने तयारी गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend