logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • ‘सिमेन्ट खपत बढाउन सरकारले कंक्रिट रोडको अवधारणा कार्यान्वयन गर्नुपर्छ’

    ‘सिमेन्ट खपत बढाउन सरकारले कंक्रिट रोडको अवधारणा कार्यान्वयन गर्नुपर्छ’

    840
    Shares
    ‘सिमेन्ट खपत बढाउन सरकारले कंक्रिट रोडको अवधारणा कार्यान्वयन गर्नुपर्छ’

    राइस मिलबाट व्यवसायमा प्रवेश गरेको जेबी मारु ग्रुपले अहिले आफ्नो ध्यान मिनरल र सिमेन्टमा केन्द्रीत गरेको छ । २०३५ सालदेखि ग्रुप मिनरल व्यवसायमा सक्रिय छ । ग्रुपले नै मारुती सिमेन्ट स्थापना गरेको हो । सबै स्वामित्व बिक्री गरेर ग्रुप मारुती सिमेन्टबाट बाहिरिएको छ ।

    ग्रुपका प्रवन्ध निर्देशक रघुनन्द मारु अहिले सिमेन्ट उद्योगहरुको छाता संगठन नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष बनेका छन् । उनी शिवम सिमेन्टको प्रवन्ध निर्देशक पनि हुन् । आन्तरिक मागमा कमी आएपछि अहिले नेपालमा सञ्चालनमा रहेका सबै सिमेन्ट उद्योगहरु संकटमा छन् ।

    माग बढाएर उद्योगहरुको उत्थान गर्न चुनौती देखिएको छ । सिमेन्टको बजार विस्तार र भावी योजनाबारे केन्द्रीत रहेर सुनौलो नेपालले संघका अध्यक्ष रघुनन्दन मारुसँग गरेको कुराकानीको सम्पादीत अंश :

    अहिले सिमेन्ट उद्योगहरु समस्यामा परेका बेला तपाई संघको अध्यक्ष बन्नु भएको छ । उद्योगको उत्थानका लागि के गर्दै हुनुहुन्छ ?

    यहाँले भने जस्तै मैले काँडाको ताज आफ्नो टाउकामा लगाएको अवस्था छ । सिमेन्ट उद्योगमा चुनौतीहरु धेरै छन् । चुनौतीसँगै अवसरहरु पनि धेरै छन् । नेपालमा सिमेन्ट उद्योगले १५ वर्षको अवधिमा ठूलो फड्को मारेको छ । मुलुकमा आयात प्रतिस्थापन गर्ने उत्पादनहरु मध्ये सिमेन्ट पनि एक हो । केही वर्षदेखि नेपालबाट भारतमा सिमेन्ट निर्यात पनि सुरु भएको छ ।

    केही समयपछि नै नेपालबाट ठूलो परिमाणमा सिमेन्ट भारतमा निर्यात हुने संभावना देखिएको छ । भारतमा निर्यात बढ्न साथ नेपाली सिमेन्ट उद्योगले ठूलो फड्को मार्ने छ । सिमेन्टको आन्तरिक माग न्यून छ । अबको रणनीति भनेको आन्तरिक बजारमा माग बढाउनुका साथै भारतमा निर्यात वृद्धि पनि हो । मेरो ध्यान अब त्यतातिर केन्द्रीत हुनेछ ।

    भारतमा थोरै परिमाण सिमेन्ट निकासी भइरहेको छ । भारतमा निर्यात बढाउन तपाईंले के कस्ता पहल गरिरहनु भएको छ ?

    भारतमा निर्यात बढाउन अर्थ मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत पहल गरिरहेका छौं । निर्यात बढाउन अर्थ मन्त्रालयले निकासीमा अनुदान दिने भने पनि उद्योगीहरुले त्यो सुविधा पाउन सकेका छैनन् । बाँकी रहेको नगद अनुदान सरकारले चाँडै दिओस् । अनुदानकै कारण उद्योगीले पनि बढी भन्दा बढी सिमेन्ट भारतमा निकासी गर्न सकुन ।

    सिमेन्ट बोकेर दुई देशबीच सीमानासम्म पुग्ने नेपाली ट्रकलाई कम्तिमा २ सय किलोमिटरसम्म पहुंच दिलाउन भारतसँग पहल गर्नुपर्ने देखिएको छ । मलाई लाग्छ यो हुन सक्यो भने कम लागतमा नेपालबाट भारतमा सिमेन्ट निर्यात गर्न सक्छौं । नेपाली ट्रकले भारतमा पहुँच पाउनसाथ सिमेन्ट निर्यातको परिमाण पनि बढ्ने छ । भारतमा पहुँच दिलाउन सरकारले पहल गर्नुपर्ने देखिन्छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

    भारतमा सिमेन्ट निर्यात गर्दा नेपाली उद्योगीहरुले के कस्ता अवरोधहरु सामना गर्नुपरेको छ ?

    निर्यात गर्न पूर्व भारतको ब्युरो अफ स्ट्यान्डर्ड (बिआइएस) ले सिमेन्टलाई गुणस्तर प्रमाणिकरण गर्नुपर्छ । अहिले नेपालका थुप्रै सिमेन्ट उद्योगको प्रमाणिकरण रोकेको अवस्था छ । उद्योगहरु सिमेन्ट निर्यात गर्न तयार हुँदा पनि भारतीय निकायबाट स्वीकृती पाएका छैनन् । बिआइएसका कारण निर्यात गर्न सकेका छैन् । बिआइएस लिन झन्झट छ । यसमा सरकारले सहजीकरण गर्नुपर्छ ।

    हामीले पाएको जानकारीअनुसार उद्योगमन्त्री दामोदर भण्डारीको हालसालै भएको भारत भ्रमणका क्रममा समकक्षी पियुष गोयलसँग यस विषयमा कुराकानी भएको भएको छ । आउँदो अक्टुबरमा सचिवस्तरिय वार्ता हुँदै छ । त्यसमा बिआइएसको विषयमा सहजीकरण होला भन्ने हामीले विश्वास लिएका छौँ ।

    नेपाली सिमेन्ट भारतको गुणस्तर मापदण्ड पुरा गर्ने अवस्थामा छ ?

    हामी भारतको मापदण्ड पुरा गर्न सक्षम छौं । बिआइएस मापदण्डअनुसार भारतको भन्दा नेपालको सिमेन्ट गुणस्तरिय देखिएको छ । गुणस्तरको मामलामा नेपाली सिमेन्ट भारतीयसँग प्रतिस्पर्धा गर्न सक्षम छ । गुणस्तरमा समस्या छैन् ।

    भारतमा सिमेन्ट निर्यात गर्न करिव आधा दर्जन उद्योग मात्र संलग्न भएका छन् । अन्य उद्योगहरु किन जान सकेका छैनन् ?

    लागत खर्चका कारणले जान नसकेको हो । नेपाल– भारत सीमा भन्दा टाढा रहेका उद्योगको लागत बढी हुने भएकाले मूल्यमा प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ । मेरो शिवम् सिमेन्टले भारतमा निर्यात गर्न सबैभन्दा पहिला बिआइएस लिएको हो । सीमाना भन्दा टाढा हेटौडामा उद्योग रहेका कारण शिवमले स्वीकृति पाए पनि भारतमा निर्यात गर्न नसकेको हो । हैटौडाबाट टाढा भएकाले लजिस्टिकका हिसावले शिवम सिमेन्ट महंगो पर्न गएको छ । त्यसैले नेपाली ट्रकले २ सय किलोमिटरसम्म पहुँच पायो भने लागत कम हुन गई सिमेन्ट सस्तो हुन्छ ।

    संघका अनुसार नेपालमा ५५ वटा ग्रान्डिङ र २० वटा क्लिङकर उत्पादन गरी ७५ वटा सिमेन्ट उद्योगहरु सञ्चालनमा छन् । देशको आवश्यकता र अवस्था हेर्दा उद्योगमा बढी लगानी भएको कुरा आइरहेका छन् । यसमा यहाँको भनाई के छ ?

    विगत केही वर्ष सिमेन्टको माग बढेपछि यसमा उद्योगीहरुको आकर्षण बढेको थियो । त्यही भएर उनीहरुले सिमेन्टमा लगानी बढाएका हुन् । ठूलो उद्योग भएकाले यसमा धेरै लगानीको आवश्यकता पर्छ । विगतमा सिमेन्ट उत्पादनमा ठूलो लगानी भएको हो । तर, जुन हिसावले लगानी बढ्यो, लगानीकर्ताले विभिन्न कारणहरुले गर्दा त्यही अनुसारको प्रतिफल पाउन सकेको छैन् । पछिल्लो वर्ष आन्तरिक खपतमा धेरै ठूलो कमी आयो । सरकारको पुँजीगत खर्च अपेक्षाकृत हुन सकेको छैन् । सरकारले विकास निर्माणमा बजेट खर्च गर्न नसक्दा स्वभाविक रुपमा सिमेन्ट माग घट्यो र यसको नकरात्मक असर सिमेन्ट उद्योमा परेको छ ।

    सरकारले सिमेन्ट खपत बढाउन कंक्रिट सडक योजना बजेटमा ल्याएको छ । तर, त्यो कार्यान्वयन भएको देखिदैँन । यसमा किन ढिलाइ भएको हो ?

    यसको कार्यविधी नबन्दा कार्यान्वयनमा नआएको हो । हामीले कार्यविधी बनाएर लागू गर्न उद्योग मन्त्रालय र सडक विभागलाई अनुरोध गर्दै आएका छौं । सरकारले बजेटमा ठूला राजमार्गका मुख्य सडकहरुमा प्राथमिकताका साथ नेपाली सिमेन्टको प्रयोग गरेर कंक्रिट सडक बनाउँछौं भनेको छ । तर, सडक विभाग र सम्बन्धित मन्त्रालयहरुले कार्यविधि नबनाउँदा रोकिएको छ ।

    दुई वर्षदेखि यो कुरा बजेटमा आइरहेको छ । लागू गर्न के ले रोक्यो ?

    सरकारले अब पहल गर्ला जस्तो देखिएको छ । सडक कालोपत्र गर्दा आवश्यक बिटुमिन आयातमा अर्बौं रुपैयाँ बाहिरिने गरेको छ । बिटुमिनबाट बनेको सडकको गुणस्तर हुँदैन् । २ वर्षभन्दा बढी त्यसको लाइफ हुँदैन् । नेपाली कच्चा पदार्थबाट उत्पादन भएको गुणस्तरिय सिमेन्ट प्रयोग गरे निश्चय नै आज बिटुमिन खरिदमा जुन विदेशी विनिमय बाहिरिएको छ, सिमेन्ट प्रयोग हुन थालेपछि आयात रोकिन्छ । यसबाट नेपाली सिमेन्ट बढी खपत हुन्छ ।

    यो नेपाली सिमेन्ट उद्योगका लागि ठूलो अवसर हो । लागू गर्नका लागि यहाँहरुले कतिको पहल गर्नु भएको छ ?

    हामीले कार्यान्वयन गर्न बारम्बार मन्त्रालय धाउँदैं आएका छौं । यस विषयमा उद्योग मन्त्रालय सकरात्मक छ । हाम्रो तर्फबाट दबाब सिर्जना गरिरहेका छौं ।

    अहिले सिमेन्ट उद्योगीले भोगेका समस्या के हुन् ?

    बन्द भइसकेका ग्रान्डिङ सिमेन्ट उद्योगहरुको ठूलो ऋण छ । बन्द भएका कारण उद्योगले बैंकलाई ऋण तिर्न नसकेको अवस्था छ । उद्योग बन्द भएपछि ऋण कहाँबाट तिर्ने ? बन्द गर्न चाहाने उद्योगीहरुलाई ऋण तिर्न समय र सुविधा दिनुपर्छ । उनीहरुको ऋणको भाखालाई पुनर्तालिकीकरण गरेर थप्नुपर्छ । बन्द अवस्थामा पुगेका र समस्याग्रस्त भएका उद्योगहरुलाई सुविधा दिनुपर्छ ।

    ग्रान्डिङ मात्र भएका सिमेन्ट उद्योग किन बन्द हुँदै गएका छन् ?

    लागतका कारण प्रतिस्पर्धा गर्न नसकेर ग्रान्डिङ उद्योग बन्द हुन पुगेका छन् । बजारमा माग कम भएपछि लागत भन्दा कम मूल्यमा सिमेन्ट बजारमा बिक्री गर्नुपरेको छ । नेपालमा भएका उद्योगको क्षमता २ करोड ५० लाख टन छ । माग भनेको १ करोड टन मात्र छ । यही भएर अहिले साना ग्रान्डिङ उद्योगहरु बजारमा बाँच्न नसकेर बन्द भएका छन् ।

    अहिलेको अवस्था हेर्दा ठूला लगानीमा खुलेका र आफ्नै क्लिङकर उत्पादन भएका उद्योग मात्र टिक्ने र साना सबै उद्योग बन्द हुने अवस्था आएको हो ?

    यो मात्र भन्न मिल्दैन । तर, उत्पादन लागतले यसमा असर गरेको छ । ठूलो उद्योगको उत्पादन क्षमता धेरै भएकाले लागत कम भएर सिमेन्ट सस्तो हुन्छ । साना उद्योगको उत्पादन कम हुने भएकाले लागत बढी हुन्छ र सिमेन्ट महंगो भइ ठूला उद्योगसँग प्रतिस्पर्धा गर्न सक्दैन् । यो सर्वमान्य सिद्धान्त हो । उत्पादन क्षमता, गुणस्तर र मूल्यका कारण साना उद्योगको अवस्था नाजुक देखिएको छ । सबैभन्दा ठूलो कुरा उत्पादन लागत हो । जसको कम हुन्छ त्यो उद्योग बाँच्न सक्छ, बढी हुनेलाई गाह्रो छ ।

    चिनियाँ लगानीमा सञ्चालित होङशी शिवम् सिमेन्ट र ह्वासिन सिमेन्ट उद्योगहरुले अहिले बजारमा सस्तोमा सिमेन्ट बेचिरहेका छन् । यि दुई उद्योगका कारण शिवमलगायत अन्य उद्योगलाई कतिको दबाब परेको छ ?

    होङसीमा शिवमको लगानी भए पनि त्यो बेग्लै सिमेन्ट उद्योग हो । प्रतिस्पर्धा भइरहेको छ । ग्राहकले सस्तोमा सिमेन्ट पाएको कारण चिनियाँ उद्योग आएर हो भन्ने कुरामा सत्यता छैन् । आफ्नो उत्पादन लागत कम भएपछि सिमेन्ट सस्तो भएको छ । माग र आपूर्तिबीच ठूलो खाडल भएका कारण सिमेन्टको मूल्य घटेको हो ।

    स्थानीय बजारमा सिमेन्टको माग बढाउन अब के गर्नुपर्ला ?

    माग बढाउन मैले देखेका केही पक्षहरु छन् । पहिलो कुरा, सरकारले कंक्रिट रोडको अवधारणालाई जतिसक्यो छिटो लागू गर्नुपर्छ । यो नै सिमेन्ट माग बढाउने ठूलो नीति हुनेछ । यस्का लागि हामीले पहल गरिरहेका छौं । दोस्रो कुरा, सरकारले पूर्वाधारमा लगानी जुटाउन इन्फ्रास्ट्रक्चर बन्ड ल्याउनुपर्छ । बन्ड जारी गर्न सकेमा ठूला पूर्वाधार बन्छ र सिमेन्टको खपत बढ्न थाल्छ ।

    सरकारले निर्माण व्यवसायीलाई काम गरेको पैसा दिन सकेको छैन् । निर्माण व्यवसायीलाई बन्ड जारी गरे बैंकले स्वीकार गर्छ । सरकारको लगानी हुने भएकाले बैंकले सहज स्वीकार गर्छ । बन्ड जारी भएमा बैंकमा रहेको तरलताको समस्या पनि स्वतः समाधान हुन्छ । ठेकदारले पैसा पाएपछि रोटेसन हुन्छ र बजारमा माग सिर्जन गर्न सहयोग पुर्याउँछ । यो बाटोमा सरकार जानुपर्छ भन्ने संघको माग छ ।

    क्लिङकरका लागि खानी पाउन ठूलो समस्या देखिएको छ । उद्योगीले कतिको समस्या भोग्नु परेको छ ?

    अर्बौं रुपैयाँ लगानीमा खुलेका सिमेन्ट उद्योगले खानी किन्नुपर्छ । नेपालमा खानी उत्खनन्मा जटिलता छ । खानीको भोग अधिकार, वातावरण, वन र स्थानीयबासिन्दाको अवरोधले गर्दा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भएका धेरै उद्योग खानी उत्खनन्मा देखिएको अवरोधका कारणले बन्द हुने अवस्थामा पुगिसकेका छन् । यसमा सरकारले विशेष ध्यान दिनुपर्छ । सिमेन्ट उद्योगमा जनता, उद्योगी र बैंकको लगानी छ । उद्योगीले भोगिरहेको प्रक्रियागत जटिलता छ, यसलाई सरकारले सहजीकरण गर्नुपर्छ ।

    खानी उत्पादन लाइसेन्स, भोगअधिकार र वातावरणीय प्रभाव मूल्याँकनमा भएको झन्झटले गर्दा सिमेन्टमा नयाँ लगानी आउने नसक्ने अवस्था बनेको छ । सबै उद्योगीले भोग्दै आएको प्रक्रियागत समस्या हो । प्रक्रिया पुरा गरेमा यति दिनभित्र खानी लाइसेन्स पाउने व्यवस्था हुनुपर्छ । यसअघि भएको पनि थियो । अहिले धेरै प्रक्रियागत जटिलता भयो । यसले गर्दा उद्योगहरु समस्यामा छन् ।

    राज्यले के गरिदिए खानी उत्खनन्मा उद्योगीलाई सहज हुन्छ ?

    क्लिङकरको कच्चा वस्तु भनेको चुनढुंगा हो । चुनढुंगा खानी पाउन जुन वाधाहरु छन् त्यसलाई हटाउनुपर्छ । जस्तो आज मैले चुनढुंगा खोजतलास गरेपछि माइनिङ स्किमका लागि खानी तथा भूगर्भ विभागमा निवेदन दिन्छु । ९० प्रतिशत खानी वन क्षेत्रमा पर्छ । खानीको उत्खनन् लाइसेन्सदेखि वातवारणीय प्रभाव मूल्याँकन गरेर खानीको भोगअधिकार लिने प्रक्रिया एकद्धार गरिदियो भने अहिले देखिएको प्रक्रियागत झन्झट समाधान हुन्छ । खानीमा नियमन गर्नुको साटो बढी उत्खनन् गर्न दिनुपर्छ । यसबाट सरकारले बढी राजस्व उठाउन पाउँछ । नेपालमा खानी र गुणस्तरको समस्या छैन् । राम्रो गुणस्तर भएको ठूलो चुन भन्डार छ । यसको ठूलो संभावना छ ।

    शिवम् सिमेन्टले नयाँ लगानी थप्ने योजना बनाएको छ ?

    यस्तो योजना अहिले छैन् । भएको क्षमतालाई पूर्ण उपयोग गरेर सिमेन्ट उत्पादन तथा बिक्री गर्न सक्यो भने नै ठूलो सफलता हुनेछ । लगानी विस्तारको तत्काल नयाँ योजना छैन् । माग बढेको खण्डमा पछि विस्तारको काम हुनसक्छ । लागत भन्दा कम मूल्यमा सिमेन्ट बेच्नु परेको अवस्था छ । सिमेन्ट उद्योगहरुले नाफा कमाएका छैनन् । सिमेन्ट ठूलो संभावना भएको उद्योग हो ।

    आयात प्रतिस्थापन गरेर निकासी सुरु भइसकेको छ । यसको संरक्षण आवश्यक छ । यसअघि धेरै उद्योगहरु बन्द भए । तयारीपोशाक, गलैचा र पश्मिना जस्ता उद्योग विस्थापित भएर केही भियतनाम र बंगलादेशमा सिफ्ट भएका छन् । सिमेन्ट उद्योगले देशको कूल ग्राहस्र्थ उत्पादन (जिडिपी) मा ठूलो योगदान गर्न सक्छ । अहिले संकटमा फसेका उद्योगलाई सरकारले बचाउनुपर्छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend