logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • सांसद लामाको आरोप : वर्तमान सरकारविरुद्ध माओवादीले बाह्य शक्ति गुहार्याे

    सांसद लामाको आरोप : वर्तमान सरकारविरुद्ध माओवादीले बाह्य शक्ति गुहार्याे

    952
    Shares
    सांसद लामाको आरोप : वर्तमान सरकारविरुद्ध माओवादीले बाह्य शक्ति गुहार्याे

    काठमाडौँ । नेकपा (एमाले) का नेता तथा सांसद तारा लामा तामाङले देश बनाउनको लागि कांग्रेस र एमाले मिलेर सरकार बनाएको स्पष्ट पारेका छन् । तर, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले भने सरकारको विरुद्धमा बाहिरी शक्तिलाई पनि गुहारेको भन्दै लामाले गम्भीर टिप्पणी गरे ।

    शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले वर्तमान सरकारले देशलाई समृद्धिको दिशामा डोर्‍याएको र जनतामा आशाको किरण छर्न थालेपछि केही शक्तिहरू आत्तिएको र सरकारविरुद्ध तथानाम बोलेर हिँड्न थालेको टिप्पणी गरे ।

    उनले भने,‘अहिले देश समृद्धितर्फ जाने देखेपछि, नेपालभित्रकै केही तप्का छटपटाएर तथानाम बोलेर हिँडिरहेको छ । यसलाई नेपाली जनताले चिर्नेछ । यसको बलमा केही बाहिरी शक्तिहरू पनि हुन सक्छन् । तर, हामीलाई जानकारी भएसम्म त्यस्तो केही पनि छैन । तर, पनि उहाँहरूले बाहिरी शक्तिहरूलाई गुहार्न खोजिरहेको जस्तो देखिन्छ । परराष्ट्रमन्त्रीज्यूको अस्तिको भारत भ्रमणलाई लिएर प्रमुख प्रतिपक्षी दलले यो सरकारको बारेमा विभिन्न टीकाटिप्पणी गरेको छ । यस्तो राष्ट्रियताको सवालमा, परराष्ट्रको सवालमा सत्तासँग गाँज्नु भनेको एउटा कमजोरी हो । यो एउटा अल्पसोच हो । जनताको आशा जागेको छ । देशमा अब केही हुन्छ है भन्ने आशा जागेको छ। हिजो मान्छे लगानी गर्न डराउँथे । आज साना तथा ठुला लगानीकर्ता जुरमुराएका छन् ।’

    उनले कांग्रेस र एमालेबिचको सत्ता–सहकार्य पवित्र उद्देश्यसहित सुरुवात भएकोले यसले देशलाई निकास दिएको दाबी गरे । उनले थपे,‘चुनावपछि नै हामीलाई मिलेर सरकार बनाउन सुझाव आएको थियो । त्यतिबेला भएन । तर, अहिले ढिलै भए पनि हामीबिच सहकार्य भएको छ । यसले कांग्रेस र एमालेलाई के के फाइदा भयो भनेर म भन्दिनँ, तर देशलाई फाइदा भएको छ । कांग्रेस र एमाले एक–अर्काको प्रतिस्पर्धी शक्ति हुन् । यो सरकार बनेको आज ४० दिन पुग्न लागेको छ । जनतामा आज आशा जागेको छ । हिजो जनतामा निराशा थियो । तर, अहिले जनतामा आशाको त्यान्द्रो बढेको छ । अब सरकारले केही गर्छ भनेर जनताले पनि खुसी व्यक्त गरेका छन् ।’

    सांसद लामाले वर्तमान सरकारलाई दायाँबायाँ गर्ने कुनै छुट नभएको टिप्पणी गरे । उनले भने,‘अहिले यो सरकारलाई किन्तु वा परन्तु भन्ने छुट छैन् । देशको लागि सकारात्मक भएर जति सकिन्छ, स्रोत र साधनलाई परिचालन गरेर देशलाई समृद्धिको बाटोमा डोर्याउनुपर्छ । समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा सरकार बढिरहेको छ। अहिले आर्थिक चलायमान बढेको छ। लगानीको मात्रा धेरै गुणा बढेको छ । राजश्वको वृद्धि भएको छ । पुँजीगत खर्च धेरै भएको छ । अहिले जनताले सरकारप्रति भरोसा गरिरहेका छन् ।

    सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा बनेको सरकारले मन्त्री र कर्मचारीहरुलाई केही टास्क दिएको छ । तीन महिनाभित्र लक्ष्यसहित आउन भनेर मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ । उहाँले तत्काल रिजल्ट खोज्नुभएको छ । अब सरकारले कामलाई अघि बढाउनेछ । स्वदेशी तथा वैदेशिक लगानी बढिरहेको छ । व्यवस्थित् तरिकाले विकासका योजना अघि बढाउने सवालमा यो सरकार लागिरहेको छ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend