logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • जनताको मुद्दालाई प्राथमिकतामा राख्न प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन

    जनताको मुद्दालाई प्राथमिकतामा राख्न प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन

    539
    Shares
    जनताको मुद्दालाई प्राथमिकतामा राख्न प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले जनताको मुद्दालाई प्राथमिकता राख्न नेपाल प्रहरीलाई निर्देशन गरेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले जनताको मुद्दालाई प्राथमिकतामा राख्दा प्रहरीको मुद्दा पनि सँगै समावेश हुने बताए ।

    “प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु । जनताको मुद्दालाई प्राथमिकता दिनुपर्यो । जनताको मुद्दालाई प्राथमिकता दिँदा आफ्नो मुद्दा पनि आइहाल्छ,” उनले भने ।

    सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजनासहित काम गरिरहेको गृहमन्त्री लेखकले जानकारी दिए । नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको छ र जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउनेमा विश्वस्त रहेको उनले उल्लेख गरे ।

    “यो भवनले नेपाल प्रहरीले गर्ने सेवामा ठूलो सहयोग गर्नेछ । जनताले उचित सेवा पाउन सकून् । सरकारले प्रदान गर्ने सेवा मध्ये प्रहरीले प्रदान गर्ने महत्वपूर्ण सेवा हो,” गृहमन्त्री लेखक भने ।

    उनले कांग्रेस र एमाले मिलेर सरकार बन्नुको उद्देश्य प्रस्ट पारे । “दुई ठूला दल मिलेर सरकार बनेको छ । अहिलेको सरकार हामी केही मान्छे मन्त्री बनिहालौँ भनेर बनेको होइन । विसं २०७९ को चुनावपछिको समय सरकार बनाउने र भत्काउनेमै गयो । आर्थिक, राजनीतिक र विकास निर्माणका लागि हामी दुई ठूला दल मिल्यौँ,” उनले भने, “यो सरकारको उद्देश्य भनेको सरकारको स्थायित्व, आर्थिक विकास, दिगो शान्ति, सुशासन र समावेशी चरित्रको राज्य व्यवस्था स्थापित गराउने हो ।”

    कांग्रेस र एमाले मिल्दा आत्मविश्वास वृद्धि भएको गृहमन्त्री लेखकले जिकिर गरे ।

    “यसको उदाहरण १८ वर्षसम्म अल्झिएको सङ्क्रमणकालीन न्यायको विषय निष्कर्षमा पुगेको छ । हामी नेता उहीँ हौँ । छलफल हामीबीच भएको थियो । तर दुई दल मिल्दा बढेको आत्मविश्वासले हामी सहमतिमा पुग्न सक्यौँ । ऊर्जाशील प्रधानमन्त्री हुनुहुन्छ । उहाँको नेतृत्वमा हामी केही गरी छाड्नेछौँ,” उनले भने ।

    गृह सचिव एकनारायण अर्यालले नेपाल प्रहरीलाई समानुकल, गतिशील, व्यावसायिक, सबल र सक्षम बनाउने नेपाल सरकारको नीति अनुरुप नै नयाँ भवनलाई महत्वपूर्ण उपलब्धीका रुपमा लिन सकिने बताए । यसबाट नेपाल प्रहरीको मनोबल बढ्नुका साथै सेवाग्राहीलाई समेत सहज हुने उनको भनाइ थियो ।

    कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले भविष्यमा प्रहरीका अन्य भौतिक संरचना पनि विस्तारै व्यवस्थित गर्दै लैजाने बताए । व्यवस्थित संरचनाका कारण प्रहरीले आमसेवाग्राहीलाई सहज र व्यवस्थित रुपमा सेवा दिन मद्दत पुग्ने उनले उल्लेख गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend