काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रिय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्नेछ ।
सचिवालय बैठकले २०८४ सालसम्मका लागि तयार पारेको योजनाबारे विस्तृत छलफल हुने र बाँकी रहेका जिल्ला, पालिका र वडा अधिवेशन, सदस्यता र संगठन बिस्तार अभियानबारे छलफल हुनेछ ।
प्रस्तावित कार्ययोजनामा सदस्यता विस्तार, प्रारम्भिक तहको वैचारिक कक्षा सञ्चालन र जनसरोकारका विषय पहिचान मुख्य छन् ।
एमालेले आगामी निर्वाचनमा १० लाख पार्टी सदस्य बनाउने घोषणा गरेको छ । सोही अनुसार पार्टी नेताहरूलाई जनताको घरघरमा पुग्नेगरी सङ्गठन परिचालन गर्ने र उनीहरूका अपेक्षा बुझेर समस्या समाधान गर्ने पहल गर्ने एमालेले जनाएको छ ।
वैचारिक कक्षा सञ्चालनका लागि पार्टी स्कुलले कोर्स तयार गरेको छ । यसअघि एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रीय तहका नेताहरूको कार्यविभाजन गरेको थियो ।