logo

२०८१ असोज १ मंगलबार

logo
  • मंगलबार, १ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    गोल्यान ग्रुपले भारतको प्रोजेल इनर्जीको साझेदारीमा सोलारबाट ५०० मेगावाट बिजुली उत्पादन गर्ने

    गोल्यान ग्रुपले भारतको प्रोजेल इनर्जीको साझेदारीमा सोलारबाट ५०० मेगावाट बिजुली उत्पादन गर्ने

    2.1K
    Shares
    गोल्यान ग्रुपले भारतको प्रोजेल इनर्जीको साझेदारीमा सोलारबाट ५०० मेगावाट बिजुली उत्पादन गर्ने

    काठमाडौं । उत्पादन तथा प्रशोधन, वित्तीय सेवा, हस्पिटालिटी तथा निर्माण र जलविद्युतलगायत नविकरणीय ऊर्जामा गोल्यान ग्रुपले लगानी विस्तार गरिरहेको छ ।

    यसबीचमा गोल्यान ग्रुपले भारतीय कम्पनीसँग साझेदारीमा नेपालमा सोलार प्लान्टबाट ५ सय मेगावाट बिजुली उत्पादन गर्ने भएको छ । गोल्यान ग्रुपले भारतको अहमदाबादस्थित प्रोजेल ग्रीन इनर्जीसँग संयुक्त लगानीमा सोलार प्रविधिबाट ५ सय मेगावाट बिजुली उत्पादन गर्न लागेको हो ।

    संयुक्त लगानीमा सौर्य परियोजना बनाउन दुबै कम्पनीले संयुक्त उद्यम (जेभी) सम्झौतामा हस्ताक्षर गरेका छन् । यसअघि ग्रुपले भारतकै रिनेर्गाे डेभलपर्सको साझेदारीमा नेपालगञ्जमा २० मेगावाटको सोलार प्लान्ट स्थापना गरी बिजुली उत्पादन गरिरहेको छ ।

    नवीकरणीय ऊर्जा परियोजना अगाडि बढाउने प्रतिबद्धतामा महत्वपूर्ण कोसेढुङ्गा मान्दै काठमाडौंस्थित गोल्यान ग्रुपको मुख्यालयमा दुबै कम्पनीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    सम्झौतामा प्रोजेल ग्रीन इनर्जीका निर्देशक शोभित राई र गोल्यान पावरका निर्देशक अक्षय गोल्यानले हस्ताक्षर गरेका हुन् ।

    नेपालको स्वच्छ र हरियाली भविष्यका लागि अर्थपूर्ण रूपमा योगदान गर्ने साझा दृष्टिकोणलाई सम्झौताले जोड दिइएको बताइएको छ । संयुक्त उद्यम प्रोजेल ग्रीन इनर्जी नेपालले आगामी १८ महिनामा नेपालका विभिन्न स्थानमा ५ सय मेगावाटभन्दा बढी सौर्य ऊर्जा परियोजनाहरू स्थापना गर्ने लक्ष्य राखेको छ । जेभी परियोजनामा प्रोजेल ग्रीन इनर्जीको ६० प्रतिशत र बाँकी ४० प्रतिशत गोल्यान ग्रुपको स्वामित्व हुने भएको छ ।

    प्रोजेलका निर्देशक राईले भने ‘संयुक्त उद्यमले नेपाल र भारतबीचको शक्तिशाली लगानी गठबन्धनलाई प्रतिनिधित्व गर्नेछ । जसले हाम्रो विशेषज्ञतालाई विश्वव्यापी डिकार्बोनाइजेशन आन्दोलनको नेतृत्व गर्न एकजुट गर्दैछ । हामी नेपालमा स्वच्छ ऊर्जा र दिगोपनका लागि नयाँ मापदण्डहरू सेट गर्दैछौं ।’

    सो अवसरमा गोल्यान पावरका निर्देशक अक्षय गोल्यानले भने ‘नेपाल नवीकरणीय ऊर्जा क्षेत्रमा द्रुत गतिमा बढिरहेको छ । यो साझेदारीले दुवै संस्थाका लागि नयाँ बाटो खोल्ने कुरामा म विश्वस्त छु । हाम्रो साझा दृष्टिकोण र अगाडी बढ्दो सम्भावनाका माध्यमबाट एकजुट भएका छौं ।’

    संयुक्त उद्यमले सौर्य रूफटप र ग्राउन्ड माउन्टेड फोटोभोल्टिक (पीभी) सौर्य प्लान्टहरू विकास गर्ने भएको छ ।

    यी आयोजनाबाट उत्पादित ऊर्जा नेपाल विद्युत प्राधिकरण र विभिन्न व्यावसायिक तथा औद्योगिक उपभोक्तालाई बिक्री गरिने भएको छ । विद्युत प्राधिकरणले सोलारको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) को आधार दर प्रति युनिट ५.९४ रुपैयाँ तोकेको छ । पिपिए गर्ने कम्पनीले यो भन्दा कम दर प्रस्ताव गर्नुपर्ने हुन्छ । यसले गर्दा आयोजना आर्थिक रुपमा संभाव्य नहुन पनि सक्छ ।

    सम्झौताअनुसार प्रोजेल ग्रीन इनर्जीले नवीकरणीय ऊर्जा क्षेत्रमा आफ्नो व्यापक विशेषज्ञता प्रयोग गर्दै इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन (इपिसी) मोडलमा विकास कम्पनीको नेतृत्व गर्ने भएको छ ।

    ग्रुपले बाँके रैनापुरमा २० मेगावाट क्षमतायुक्त सोलार प्रविधिबाट ऊर्जा उत्पादन गरिरहेको छ । १० १० मेगावाट गरी दुई चरणमा निर्माण भएको सोलार परियोजनामा ग्रुपले २ अर्ब २४ करोड ८६ लाख रुपैयाँ लगानी गरेको जनाएको छ ।

    सोलारबाट बिजुली उत्पादन गर्न प्रति मेगावाट लागत ११ करोड २४ लाख ३० हजार रुपैयाँ परेको छ । प्योर इनर्जी लिमिटेडमार्फत परियोजना निर्माण भएको हो । सोलार परियोजनामा ६७ प्रतिशत ऋण र बाँकी ३३ प्रतिशत संस्थापकहरूको स्वपुँजी लगानी रहने छ ।

    गोल्यान ग्रुपले नेपालमा रिलायन्स स्पिनिङ मिल्स, ह्यात पेलेस होटल, जनता एग्रो फरेष्ट्री, माटो ब्रान्डको पानी र खाद्यन्न, एनएमबी बैंक, एनआइसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एसियन लाइफ इन्स्योरेन्स कम्पनीमा लगानी रहेको छ ।

    पछिल्लो समयमा ऊर्जामा आक्रमक रुपमा लगानी विस्तार गरेको ग्रुपले अहिले ३ सय ६ मेगावाटको अपर मुगु कर्णाली, ४६ मेगावाटको अपर बलेफी, १ सय ३५ नमलान खोला र ५४ मेगावाटको लोअर अप्सुवा खोला आयोजना बनाउने तयारी ग्रुपको छ ।

    यस्तै ग्रुपको शिवम् प्लास्टिक इन्डष्ट्रिज, ट्राइकोट इन्डष्ट्रिजका साथै वेस्टार प्रोपर्टीज अपार्टमेन्ट निर्माण गरिसकेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend