काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देश आर्थिक रुपले संकटमा जाने अवस्थामा रहेको बताएका छन् ।
मङ्गलबार पार्टीको आन्दोलन केन्द्रित प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष लोहनीले देश आर्थिक रुपमा संकटको अवस्थामा रहेको बताएका हुन् । उनले देशको अवस्था कर्मचारीलाई तलव दिन पुग्ने समेत नरहेको भन्दै विकासका काम गर्न नसक्ने अवस्था रहेको उल्लेख गरे ।
उनले ठूला राजनीतिक दलहरुले देशलाई माग्नेको स्थितिमा पुर्याएका बताए । उनले देशको यस्तो अवस्थामा परिवर्तन वर्तमान शिर्ष राजनीतिक दलका नेताहरुबाट हुन नसक्ने बताए । उनले नेताहरु भ्रष्टाचारमा लिप्त भएर एक अर्कालाई बचाउन लागेका भन्दै उनीहरुबाट देशको अवस्था रुपान्तरण हुन नसक्ने बताए ।
उनले देशको वर्तमान अवस्थालाई परिवर्तन गर्नका लागि व्यवस्थाकै परिवर्तन गर्नुपर्ने बताए । उनले त्यसका लागि संविधान नै परिवर्तन गर्नुपर्ने बताए ।
उनले भने – ‘जनतालाई गर्नुपर्ने लगानीको खर्च घटेर गयो । फाल्तु खर्च, साधारण खर्च, टिएडिए खर्च, प्रशासन खर्च व्यापक बढेर गयो । त्यसले गर्दा नेपालीहरुले पठाएको राजस्वबाट नेपालले विकास गर्ने मौका थियो, त्यो मौका खेर गयो । त्यो मौकाको उपयोग भएन । जसले गर्दाखेरी आज यो सरकारलाई कर्मचारीको तलव दिन पनि पुग्ने अवस्था छैन । अनि कहाँबाट ल्याउने ? अनि कहाँबाट बिकासका लागि ल्याउने ? माग्ने भएर टोपि थापेर जाने बाहेक के छ ? अरु देशहरुले देखेका छन् हाम्रो स्थिति । अरु देशहरुले बुझेका छन् ।
१९७० को दशकमा बंगलादेशलाई भन्थे, यो संसारको माग्ने हो भन्थे त्यही माग्नेको स्थितिमा हामीलाई यिनीहरुले पुर्याएका छन् । यो यथार्थतालाई हामीले बताउनुपर्छ । यसलाई परिवर्तन गर्नलाई श्री ३ हरुबाट हुँदैन । किनभने यिनीहरु यति भ्रष्टाचारमा लिप्त भएका छन्, एकले अर्कालाई बचाउनपट्टि लाग्छन् । अन्यथा गर्न सक्दैनन् यिनीहरुले । आजैको आन्दोलन हेर्नुस् त, सहकारीकै हेर्नुस् कि बालमन्दिरको । आज अखबारमा आएको छ । राप्रपाले त आफ्नो दृष्टिकोण बढो स्पष्ट पारेको छ ।
सहकारीमा राप्रपाको एकजना माननीय पनि त पर्नु भएको थियो नि । राप्रपा नै त्यस्तो पार्टी हो जसले लेखेर वक्तव्य दिएर के भन्यो भने यदि सहकारीमा हाम्रा कुनै माननीय कसैले बद्मास गर्नुभएको छ भने त्यसमा कारबाही गर्नुस्, हाम्रो सहयोग रहन्छ भनेर । अरु पार्टीले के गरिरहेका छन्, त्यही कुरामा । र शासन गर्ने पार्टी के गरेर बसेको छ ? चल्न सकेको छैन । त्यसैले भ्रष्टाचार यहाँ नियन्त्रण हुँदैन । देश संकटमा जाने भनेको यहीँ हो । अवस्था परिवर्तनको लागि अब व्यवस्था परिवर्तन गर्नुपर्छ । संविधानमा परिवर्तन गर्नुपर्छ । र त्यसको लागि खाइपाइ आएकाले यस्सै छोड्नेवाला छैनन् । तपाईसँग कुरा गर्दैनन् । कुरा गर्ने बाध्यताको तपाईले सिर्जना गर्नुपर्छ । त्यो सिर्जना गर्ने भनेको आन्दोलन हो ।’
पूर्वअध्यक्ष लोहनीले देशको अस्तित्व बचाउनका लागि अभिभावकीय भुमिकामा राजसंस्थालाई राख्नुपर्ने बताए । उनले राजसंस्थालाई सक्रिय रुपमा नभई संविधानभित्रको राजसंस्थाको रुपमा अभिभावकिय रुपमा राख्नु उपयुक्त हुने बताए ।