logo

२०८१ असोज १५ मंगलबार

logo
  • मंगलबार, १५ असोज २०८१
  • जगदम्बा स्पिनिङको ४ अर्बको धागो व्यापार, भारत र टर्की निर्यातबाट धेरै आम्दानी

    जगदम्बा स्पिनिङको ४ अर्बको धागो व्यापार, भारत र टर्की निर्यातबाट धेरै आम्दानी

    343
    Shares
    जगदम्बा स्पिनिङको ४ अर्बको धागो व्यापार, भारत र टर्की निर्यातबाट धेरै आम्दानी

    काठमाडौं । सौरभ ग्रुपले सञ्चालन गरिरहेको जगदम्बा स्पिनिङ मिल्स लिमिटेडको धागो व्यापार बढ्दै गएको छ । यो वर्ष उद्योगको धागो व्यापार ३.२६ प्रतिशत बढेर ३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

    २०२३ मा उद्योगको धागो व्यापार ३ अर्ब ७९ करोड ६० लाख रुपैयाँ थियो । एक वर्षको अवधिमा जगदम्बाको धागो व्यापार १२ करोड ४० लाख रुपैयाँ बढेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । २०२२ मा २ अर्ब ३२ करोड ८० लाख, २०२१ मा १ अर्ब ५६ करोड ४० लाख रुपैयाँ व्यापार गरेको थियो । वित्तीय विवरण हेर्दा जगदम्बाको धागो व्यापार बढ्दै गएको छ । पछिल्लो तीन वर्षमा उद्योगको बिजनेस ३६ प्रतिशत बढेको छ ।

    उद्योग कूल क्षमताको ९७ प्रतिशतमा सञ्चालन भएको छ । २०२० मा औसत ७० प्रतिशत क्षमता उपयोग गरेको थियो । उद्योगको उत्पादन क्षमता बढेका कारण आम्दानी वृद्धि भएको हो । उद्योगको क्षमता दोब्बर बढेर वार्षिक १७ हजार ८ सय ८५ टन पुगेको छ । २०२० मा वार्षिक उत्पादन क्षमता ९ हजार १ सय २५ टन थियो ।

    कूल आम्दानीको ९४ प्रतिशत हिस्सा निर्यातबाट भएको छ । गत वर्ष ९२ प्रतिशत थियो । जगदम्बाले छिमेकी भारत र टर्कीमा धागो निर्यात गर्दै आएको छ ।

    टर्कीमा निर्यातको वातावरण राम्रो भएकाले यसबाट जगदम्बा स्पिनिङले लाभ लिइरहेको छ । टर्कीले जनरलाइज्ड सिस्टम अफ प्रिफिरियन्स (जिएसी) अन्र्तगत नेपालबाट निर्यात हुने धागोलाई शून्य भन्सार सुविधा दिएकाले त्यहाँ अनुकुल व्यापारको वातावरण रहेको छ । यस्तै छिमेकी भारतले साउथ एसिया फ्रि ट्रेड एरिया (साफ्टा) अन्र्तगत ६ प्रतिशत मात्र भन्सार लगाएको छ ।

    जुन बन्डेड वेयरहाउस मेकानिजमअन्तर्गत इनपुट क्रेडिटको लागि योग्य छ । अनुकूल व्यापार प्रावधानहरुको निरन्तरता उद्योगको निर्यात व्यापार निर्भर गर्दछ । कुनै पनि प्रतिकूल परिवर्तनले नेपाली धागो निर्यातकर्ताहरूको प्रतिस्पर्धात्मक धारलाई कमजोर पार्न सक्छ र उनीहरूलाई नकारात्मक असर पार्न सक्छ ।

    धागो बनाउन चाहिने आवश्यक कच्चा सिन्थेन्टिक यार्न र प्राइमरी पोलिस्टर भारतबाट आयात हुने गरेको छ । कूल आम्दानीको ८० प्रतिशत हिस्सा कच्चा वस्तु आयातमा खर्च हुने गरेको छ । उद्योग कूल आम्दानीको ९६ प्रतिशत हिस्सा १० ग्राहकबाट हुने गरेको छ । यसअघि ९० प्रतिशत हिस्सा रहेको छ ।

    उद्योगलाई सरकारले दिएको ४ देखि ८ प्रतिशत निर्यात अनुदानका साथै कच्चा वस्तु आयातमा दिएको भन्सार सहुलियतले उद्योगलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सहयोग पुर्याएको छ । जगदम्बाले २ अर्ब २२ करोड ४० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । उद्योगले ए थ्रि रेटिङ पाएको छ ।

    ७५ करोड लगानी गरेर उत्पादन क्षमता बढाउँदै

    विदेशमा धागोको माग बढेपछि उद्योगले उत्पादन क्षमता बढाउन सुरु गरेको हो । जगदम्बा स्पिनिङ मिल्सको उत्पादन क्षमता बढ्ने भएको छ । उद्योगले धागो उत्पादन क्षमता बढाएर वार्षिक २८ हजार टन पुर्याउने भएको छ । अहिले उद्योगले वार्षिक २० हजार टन धागो उत्पादन गर्दै आएको छ ।

    ७५ करोड रुपैयाँ लगानीमा वर्षिक ८ हजार टन धागो उत्पादन थप्न लागेको हो । क्षमता विस्तारपछि उद्योगको उत्पादन ४० प्रतिशत बढ्ने भएको छ । उद्योगको धागो उत्पादन क्षमता विस्तार सुरु भइसकेको छ । मेशिन अर्डर गर्ने काम भइसकेको छ । ढिलोमा डेढ वर्षभित्र उद्योगको क्षमता विस्तारको काम सकिने छ ।

    जगदम्बा स्पिनिङको बुकबिल्डिङ विधिबाट प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । चुक्तापुँजीको १० प्रतिशतसम्म आइपिओ निष्कासन गर्ने योजना छ ।

    उद्योगको गत पुस २६ मा सम्पन्न साधाणसभाबाट सर्वसाधारणलाई सेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ । कम्पनीको आइपीओबाट प्राप्त हुने आम्दानी र कायम गरिएको नाफा प्रयोग गरी नयाँ प्लान्ट र मेसिनरी थप्ने योजनाले सकरात्मक प्रभाव पार्न सक्छ ।

    जगदम्बाले पलिस्टर धागो, पोलिस्टर भिस्कोज मिश्रित धागो र एक्रिलिक जस्ता फाइबरमा आधारित धागो उत्पादन गर्दछ । सन् २००५ मा स्थापना भएको जगदम्बा स्पिनिङ मिल्स २०२१ मा आएर आइपिओ निष्कासन गर्न पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको हो ।

    उद्योगका प्रमोटरहरूसँग उत्पादनमा २५ वर्षभन्दा बढी अनुभव छ । सौरभ समूहको सिमेन्ट र स्टिल जस्ता धेरै ठूला उद्योगहरूमा लगानी छ । समूहले लगानी विविधिकरण गरी चिया, धागो र सिंथेटिक कपडाको उत्पादन गरिरहेको छ । उद्योगमा दुर्गाप्रसाद न्यौपानेको ३०, विष्णु न्यौपानेको २१ र वैभव न्यौपानेको १६ प्रतिशत हिस्सा छ ।

    यो पनि :

    ७५ करोड लगानीमा धागो उत्पादन क्षमता बढाउँदै जगदम्बा स्पिनिङ, वार्षिक २८ हजार टन पुग्ने

    सौरभ ग्रुपले जगदम्बा स्पिनिङ, लक्ष्मी र सर्वोत्तम स्टिलको बुकबिल्डिङबाट आइपिओ ल्याउने

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend