असोज १६ काठमाडौं – नेकपा उपाध्यक्ष वामदेव गौतमविरुद्धको रिटको सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सुनुवाई हुँदैछ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले नेकपाका उपाध्यक्ष वामदेव गौतम विरुद्ध संसदको सदस्य बन्न अयोग्य रहेको दावी गर्दै हालेको रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासबाट फैसला हुने भएको हो ।
प्रतिनिधि सभाको निर्वाचनमा पराजित गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभा सदस्य मनोनयन गरेकी थिइन्। त्यसविरूद्ध सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले ७ असोजमा गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन आदेश दिएको थियो।
साथै रिटमा गम्भीर संवैधानिक व्याख्याको जरूरी भएको तथा निर्वाचनसँग सम्बन्धित विवाद संवैधानिक इजलासले सुनुवाइ गर्नुपर्ने भन्दै न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले संवैधानिक इजलासमा सुनुवाइ गर्न आदेश दिएको थियो।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाका अतिरिक्त न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र इश्वर खतिवडा छन् ।
बुधवार सर्वोच्च अदालतमा बसेको संवैधानिक इजलासले रिट निवेदक र विपक्षीको बहस सुनेको थियो। तर, अझै कानुन व्यवसायीहरुले बहस गर्ने क्रम नसकिएपछि शुक्रबारसम्मका लागि रिटको सुनुवाई सारिएको थियो।