मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

तलेजु भवानीमा गत वर्षको तुलनामा दर्शनार्थी घटे

तलेजु भवानीमा गत वर्षको तुलनामा दर्शनार्थी घटे

काठमाडौँ हनुमानढोका दरवार क्षेत्रमा रहेको बडादसैँको नवमीका दिन मात्र ख'ल्ने तलेजु भवानी मन्दिरमा पूजा तथा दर्शन गर्न आएका भक्तजन । तस्बिर : हरिराम भेटुवाल / रासस

काठमाडौं । तलेजु भवानी मन्दिर वर्षको एक दिन बडादसैँको महानवमीमा मात्र सर्वसाधारणका निम्ति खुला गरिन्छ । त्यसैले महानवमीको दिन उक्त मन्दिरमा दर्शनार्थीको निकै घुइँचो लाग्ने गर्थ्यो । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु मन्दिरमा यसपालि भने दर्शनार्थीको घुइँचो गत वर्षको तुलनामा कम देखिएको छ ।

काठमाडौं महानगरपालिका–२४ का वडाध्यक्ष विनोदकुमार राजभण्डारीले यो वर्ष दर्शनार्थीको संख्या घटेको बताए । उक्त मन्दिर सोही वडामा पर्छ ।

उनका अनुसार, अघिल्लो वर्ष एक दिनमा पाँच लाख हाराहारीमा भक्तजनले दर्शन गरेका थिए । वडाध्यक्ष राजभण्डारीले भने, “यसपटक तिथि फरक परेका कारण दर्शनार्थी त्यति छैनन्, पोहोर साल भक्तजनको लाइन इन्द्रचोकसम्मै थियो । आज मखनटोलसम्म मात्र छ ।”

तलेजु भवानीलाई फूलपातीको दिनमा हनुमानढोका दरबारको मूलचोकमा ल्याइन्छ र विजयादशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काइन्छ । राज्य सञ्चालनका निम्ति शक्ति प्राप्त होस् भन्ने संकल्पले महाअष्टमीको राति तान्त्रिक विधिबाट कालरात्रि पूजा गर्ने परम्परा छ ।

कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलि समेत् दिने चलन छ । तलेजु भवानीमा मात्र नभई यस दिन मुलुकभरका शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।

वडाअध्यक्ष राजभण्डारीले भने, “अरू बेला पनि नित्यपूजा भइराख्छ । तर, आज सर्वसाधारणका लागि विशेष गरी खोलिने चलन छ । आज महिषासुरको वध गरेको दिन भनिन्छ, त्यसैले बलि पनि दिने गरिएको हो ।”

उक्त मन्दिर बिहान ४ देखि साँझ ६ बजेसम्म खोलिन्छ । दर्शनार्थीको भीड हेरेर मन्दिर खुल्ने समय बढाइने गरेको उनले बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend