
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । शुक्रबार साँझ पार्टी कार्यालय वनस्थलीबाट प्रहरीले सहकारी गठीमा लामिछानेलाई पक्राउ गरेको हो ।
पक्राउअघि पार्टी कार्यालयमा सम्बोधन गर्दै सभापति लामिछानेले राज्यले आफूमाथि पूर्वाग्रह राखेको आरोप लगाए । उनले आफ्नो बचाऊमा डटेर सामना गर्न पनि सबैलाई अपिल गरे । आफूलाई आगामी दिनमा चुनाव लड्न नदिने र आफ्नो पार्टी रास्वपालाई पनि फुटाउने नियतका साथ आफूमाथि पूर्वाग्रह साँधिएको सभापति लामिछानेको जिकिर थियो ।
उनले आफू निर्दोेष रहेको र अदालतले आफूमाथि न्याय गर्ने विश्वास समेत व्यक्त गरे । सभापति लामिछानेले आफूमाथि नेपाली जनताले आशा गरेकाले त्यसलाई पूरा गर्ने आफ्नो अभियानमा साथ दिन पनि सबैलाई आग्रह गरे ।
उनले भने, ‘आम नेपाली नागरिकले सबै कुरा देखेका छन्, बुझेका छन् । म यति एउटा कुरा भन्न चाहन्छु–यदि उनीहरुले जस्तै सम्झौता गरेको भए, कुनै सम्झौता गरेको भए सायद सरकार लम्बिन्थ्यो होला । हामीले यो अप्ठयारो महशुस गर्नुपर्ने थिएन । तर हामीले कुनैपनि सम्झौता गरेनौ । म सरकारको बाध्यता बुझ्दछु, मलाई थाहा छ । जुन दिन सरकार ढाल्ने निर्णय भएको थियो । त्यसै दिन रविलाई जसरी भएपनि हामी जेल कोच्छौंँ भन्ने सम्झौता भएको मलाई सूचना छ । मलाई कुनै चिन्ता छैन । व्यक्तिका रुपमा त झन मलाई कुनै चिन्ता छैन, धेरै चिज पाईसकेको छु ।
तर अभियानको रुपमा देशले आशा र भरोसा गरेको जुन देखियो, त्यो आशा र भरोसामाथि जुन प्रहार भएको छ । त्यो प्रहारलाई हामी सामना गर्नेछौं । म कुनैपनि किसिमको न्यायिक जाँच दिनका लागि अदालती प्रक्रियालाई सम्मान गर्न चाहन्छु । तर यो राजनीतिक पूर्वाग्रहमा खुलेर लडनका निम्ति पनि अपिल गर्न चाहन्छु । म सम्मानित अदालतप्रति आशा राख्दछु,विश्वास राख्दछु । भन्न त यहाँ अदालत पनि मिलाउला, तलाई कहाँ छोडौला र । तलाई चुनावनै लडन नसक्ने र तेरो पार्टीलाई नफुटाई नछोड्ने प्रतिशोधका साथ पनि मान्छेहरु लागेका छन् भन्ने मलाई थाहा छ ।
तर ती सबै कुराहरु सामना गर्ने साहस बोकेर हामी उभिएका छौं । म व्यक्तिका रुपमा तपाईहरुले साथ दिनुहोस् भनेर भन्दिन । तर अभियानका रुपमा नेपाली जनताले देखेको यो सपनालाई पूरा गर्नका लागि साथ दिन अनुरोध गर्न चाहन्छु । र म अन्त्यमा यति मात्रै भन्न चाहन्छु–मैले कुनैपनि किसिमको अपराध गरेको छैन । यो अपराध नगर्दा पनि जुन राज्यले सम्पूर्ण स्रोत लगाएर आफ्नो सम्पूर्ण शक्ति लगाएर यो जुन कार्य गरेको छ । यसलाई नेपाली नागरिकले हेरेका छन भन्ने मैले विश्वास गरेको छु ।
तर पनि म न्यायिक प्रक्रियामा सघाउने एउटा सचेत नागरिक भएको हुनाले म त्यसमा प्रतिवद्ध भएको जानकारी गराउँदै विदा चाहन्छु । यहाँहरु सबैलाई राज्यले गरेको यो दादागिरीलाई डटेर सामना गर्नका लागि साहस मिलोस भनेर पनि अनुरोध गर्दछु ।’
सभापति लामिछानेले केपी ओली नेतृत्वको वर्तमान सरकारको गठन नै आफूलाई जेलमा कोच्नका लागि भएको पनि बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend