काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
शनिबार बसेको केन्द्रीय समितिको बैठकले आन्दोलन जारी राख्न निर्णय गरेको हो । बैठकले पार्टी उपसभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आन्दोलन सञ्चालन मूल समिति गठन गर्ने निर्णय गरेको हो ।
बैठकपछि जारी विज्ञप्तिमा ‘राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथितिविरुद्ध एवं सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने’ उल्लेख छ ।
बैठकले ‘पार्टी सभापति एवं संसदीय दलको नेता रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको र अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र देखिएकोले सरकारसँग अबिलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइ गर्न’ माग गरेको छ ।
साथै, सातै प्रदेशमा आन्दोलन सञ्चालन प्रदेश समिति गठन गर्ने र आवश्यक उपसमितिहरू गठन गर्ने अख्तियारी सम्बन्धित समिति स्वयंलाई दिने निर्णय बैठकले गरेको विज्ञप्तिमा उल्लेख छ ।