logo

२०८१ कार्तिक ११ आइतबार

logo
  • आइतबार, ११ कार्तिक २०८१
  • मादल बेच्ने चटारो, संरक्षण गर्न व्यवसायीको माग

    मादल बेच्ने चटारो, संरक्षण गर्न व्यवसायीको माग

    287
    Shares
    मादल बेच्ने चटारो, संरक्षण गर्न व्यवसायीको माग

    काठमाडौं । तिहार शुरु भएसँगै देउसी भैलोको स्मरण हुन्छ । देउसीमा मादलको धुनमा नाचगान र रमाइलो गरेको पल याद आउँछ । अब यस वर्षको तिहार शुरु हुन केही दिन मात्रै बाँकी छ । त्यसैले पनि अहिले काठमाडौंमा मादल किन्नेहरुको भीड छ ।

    अन्य समयमा खोजि नहुने मादल तिहारको समयमा भने किन्ने र बेच्नेहरुको घुइँचो लाग्छ । विभिन्न जिल्लाबाट मादल खरिद गर्नका लागि काठमाडौं आइपुग्छन् । आफूलाई मन पर्ने मादल छानेर किन्ने र घर लगि तिहारमा रमाउने हेतुले टाढाबाट काठमाडौं मादल किन्न ग्राहकहरु आउने गरेका छन् ।

    ओखलढुंगाको केत्तुकेबाट मादल किन्न आएका सुमन तामाङ गाउँ घरमा देउसी, भैलो खेल्नेलाई मादल अनिवार्य हुने र मादल बिना रमाइलो नहुने बताउँछन् । त्यसैले पनि समूहका लागि मादल किन्न आएको बताउँछन् । अन्य ठाउँमा भन्दा विष्णु म्युजिक सपमा राम्रो मादल पाइने भएकाले आफू काठमाडौं आएको उनले बताए ।

    उनले आफूले विष्णु म्युजिक सपबाट तीन वर्ष यता मादल किन्ने गरेको बताए ।

    उनले भने, ‘गाउँ घरमा देउसी, भैलो खेल्नेलाई मादल चाहिन्छ । यसले रमाइलो पनि हुन्छ । मादल राम्रो पाइन्छ । म यहाँ आउन थालेको तीन वर्ष भयो । रितिरिवाज, संस्कृति जगेर्ना पनि भयो ।’

    काठमाडौंको विष्णु म्युजिक सप सञ्चालन गर्दै आएका व्यवसायी रिपबहादुर कुलले गत वर्षको तुलनामा यस वर्ष मादलको व्यापार राम्रो रहेको बताए । उनले २५ वर्ष यता काठमाडौंको वसन्तपुर क्षेत्रमा मादल व्यापार गर्दै आएको बताउँदै उनले १३ सयदेखि १२ हजारसम्मका मादल आफूले पसलमा राख्ने गरेको बताए । यस वर्ष १५ सयको हाराहारीमा मादल बेच्ने आफ्नो लक्ष्य रहेको उनले बताए । उनले मादलको लागि काठ सहजै पाउने भए पनि छाला भने ल्याउन गाह्रो रहेको बताए ।

    उनले भने, ‘तिहार आउँदैछ, मध्यम व्यापार भइरहेको छ । भर्खर शुरु हुँदैछ, ग्राहकहरु आइरहनुभएको छ । पहिलाको तुलनामा मादल राम्रै विक्री भएको छ । व्यापार अलि बढेकै हो । मैले २५ वर्ष जति भयो व्यापार गरेको । १३ सयदेखि १२ हजारसम्मका मादल छन् । काठ मकवानपुरतिरबाट ल्याउँछौँ । तिहारमा १५ सय वटा जति मादल बेचिन्छ होला । मादलको सामान छालाहरु ल्याउन गाह्रो छ । छाला फोहोर पनि भयो । नेपाली बाजा, लोकबाजा छ, सरकारले केही संरक्षणमा लागेको छैन । हामीले अन्तर्राष्ट्रिय स्तरमा पनि पुर्याउन जरुरी छ ।’

    उनले नेपाली लोकबाजालाई सरकारले संरक्षण गर्न जरुरी रहेको बताए । एउटा मादल तयार गर्न करिव १० दिन लाग्ने मादल व्यवसायीहरु बताउँछन् । काठ खोपेर ढुङ्ग्रो बनाउनुपर्ने भएकोले अत्याधिक मेहनत र समय लाग्छ । विगतकै मूल्यमा मादल बेचिरहेको र बजार मूल्य चित्तबुझ्दो नरहेको व्यवसायीहरुको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend