सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

रवि लामिछानेलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न सांसद कार्कीको माग

रवि लामिछानेलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न सांसद कार्कीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले सभापति रवि लामिछानेलाई थुना बाहिर राखेर अनुसन्धान गर्न सरकार समक्ष माग गरेकी छन् ।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद कार्कीले सहकारी ठगी प्रकरणमा पोखरा प्रहरी हिरासतमा रहेका रास्वपा सभापति लामिछानेलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न माग गरेकी हुन् ।

उनले लामिछानेले प्रमाण नष्ट गर्ने तथा भाग्ने कुनै सम्भावना नरहेकाले थुना बाहिर राखेर अनुसन्धान गर्न सकिने बताइन् । उनले रास्वपाले पोखरामा सडक आन्दोलन गरेर न्यायपालिकालाई प्रभावित गर्न नखोजेको स्पष्ट पारिन् । पार्टी सभापति पक्राउ पर्दा कार्यकर्ताहरु स्वतःफुर्त रुपमा भेला भएका भन्दै गलत मनशायले आफूहरुले आन्दोलन नगरेको उनले बताइन् ।

उनले भनिन् – ‘राष्ट्रिय स्वतन्त्र पार्टीले न्यायपालिकालाई प्रभावित गर्ने प्रयास गरिरहेको भनेर प्रचार गरिरहेका छन् । त्यो होइन भनेर प्रष्ट रुपमा भन्न चाहन्छु । किनभने १२ लाख नेपालीले पत्याएको, देशको चौथो ठूलो पार्टीको सभापतिलाई प्रहरीले प्रक्राउ गरेर थुनिराख्दाखेरी जनता चिन्तित भइ भेला भएको कुरालाई मैले प्रष्ट्याउनु पर्दैन । यो कुनै गलत मनशायले गरिएको होइन । जनताको स्वस्फुर्त जमातले गरेको कुरा हो । उहाँले कुनै प्रमाण नष्ट गर्ने कुरा आउँदैन ।

भाग्ने कुनै सम्भावना छैन । त्यसैले म गृहमन्त्रीज्यूलाई विशेष आग्रह गर्न चाहन्छु, उहाँलाई थुना बाहिर राखेर नै अनुसन्धान गर्ने व्यवस्था गरेर उहाँलाई न्याय दिन सकिन्छ कि भनेर सोच्नु हुनलाई विनम्रपूर्वक भन्न चाहन्छु ।’

बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले कानून सबैलाई बराबरी लाग्ने भन्दै रवि लामिछाने पक्राउको विरुद्धमा नारा जुलुस नगर्न रास्वपालाई आग्रह गरिन् । उनले संयम र धैर्य रहन आग्रह गरिन् ।

उनले भनिन् – ‘कानुन त सबैलाई लाग्नुपर्यो नि । कानुनभन्दा माथि त कोही पनि छैन । चाहे रविजी हुनुहोस् । चाहे हामी हौँ । संसदीय छानविन समितिले निर्णय गरेर सरकारलाई दिएपछि छानविन गरेको छ । अहिले उहाँलाई भ्रष्टाचारी भनेर भनेको पनि छैन । यो भन्दा अगाडी पनि धेरै मान्छेहरुलाई मुद्दा लागे, जेल गए ।

कसैले आन्दोलन गरेर, जुलुस गरेर अरु सरकार पक्षका मान्छेलाई व्यक्तिगत रुपमा मुख छाडेर हिँडेका हामीले सुनेका पनि छैनौँ । त्यसकारण सबैले संयम र धैर्य भएर कानूनभन्दा माथि कोही छैनौँ भनेर बसेर कानूनलाई पर्खिनुपर्छ भन्ने मेरो आग्रह पनि छ ।’

त्यस्तै नेकपा (एमाले)का सांसद रघुजी पन्तले कुनै व्यक्तिलाई न्यायिक अनुमति बिना प्रहरीले थुनामा राख्दा मात्रै त्यसको विरुद्ध बोल्न सकिने बताए। उनले न्यायपालिकाको अनुमतिमा व्यक्ति पक्राउ पर्दा नाराबाजी गर्नु न्यायालयलाई दबाब दिनु भएको बताए ।

उनले भने – ‘चुनावमा कति मत ल्याउनु भयो भन्ने कुरा कुनै पार्टी र कुनै नेताको लागि यो लागु होइन । ५० लाख, २ करोड नै मत ल्याएर उसले चुनाव जिते पनि भ्रष्टाचार गर्यो भने त जानुपर्यो नि । कुनै पनि मान्छेलाई बिना न्यायिक अनुमति थुनिराखेको छ भने त्यो गैरन्यायिक कुरा हो त्यसबारेमा बोल्न मिल्छ । तर जब न्यायपालिकाले अनुमति दिएर थुनेको छ भने त्यसको विरुद्धमा जुलुस, नाराबाजी गर्नु भनेको न्यायालयलाई दबाब दिनु हो । त्यो कसैले पनि गर्नु हुँदैन ।’

सांसद पन्तले न्यायालयलाई दबाब दिनेगरी जुलुस तथा नाराबाजी गर्नु नहुने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend