काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रा धार्मिक, सांस्कृतिक चाडपर्वहरुलाई राष्ट्रिय एकताका साथ अघि बढाउनुपर्ने बताएका छन् ।
शनिबार नेपाल सम्वत ११४५ को अवसरमा काठमाडौंको वसन्तपुरमा आयोजित एक समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
नेपाल सम्वत जस्ता चाडपर्वहरु सिंगो राष्ट्रको गौरव र उपलब्धि भएकाले यसलाई राष्ट्रिय एकताका साथ अघि बढाउनुपर्ने प्रधानमन्त्री ओलीको आग्रह थियो । चाडपर्वहरुलाई अरु कुरा मिसाएर ठूलो यज्ञमा बाँदर आएर भताभुंग पारिदिए जस्तो गर्नु नहुने उल्लेख गर्दै उनले त्यस काममा एकतावद्ध हुन पनि सबैलाई आह्वान गरे ।
प्रधानमन्त्री ओलीले नेपाल संवत नेपालको आफ्नै सम्वत भएको स्मरण गराउँदै त्यसलाई गरिवी निवारण, दान, परापकारको क्षेत्रको प्रेरणादायी चिन्तन र उदाहरणीय दृष्टिको रुपमा ग्रहण गर्दै अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘नेपाल सम्वत हाम्रो आफ्नो संवत हो । आफ्नो भूमिबाट उत्पन्न भएको सम्वत हो । यसलाई मनाउनुपर्छ भनेर कतिले काटमारपछि जितेर संवत चलाएका होलान्, कसैले अरुलाई पराजित गरेपछि संवत चलाएका होलान् । त्यसको मारमा हामीहरु पनि परेका होलाऔं विभिन्न सम्वतहरुको मारमा । तर यो सम्वत कसैलाई मारकाट गरेर होइन, कसैलाई पराजित गरेर होइन, कसैलाई जितेर होइन ।
गरिवी निवारणको सन्दर्भको प्रयास हो, किंवदन्ती हो, कथा हो वा यथार्थ हो । जे होस् यो कुरासँग शान्ति, यो कुरा दान, परोपकार, गरिवी निवारणसँग जोडिएको छ । यसकारण जे सुकै भएपनि यो हाम्रा लागि प्रेरणादायी छ । गरिवी निवारण गर्नुपर्दछ, अशक्तलाई अग्रभागमा राखेर सेवा गर्नुपर्दछ । उनीहरुलाई सहयोग गर्नुपर्दछ । जो गरिव छ, जो ऋणी छ, त्यसलाई ऋण मुक्त गर्नुपर्दछ भन्ने भाव यस भित्र छ ।
जो असाधारण चिन्तनको यो बुद्धिज्मसँग पनि सम्बन्धित छ, यो राम्रा शान्तिपूर्ण विचार र मानवतावादसँग पनि सम्बन्धित छ । यसरी यो चिन्तन एउटा सकारात्मक चिन्तन र उदाहरणीय दृष्टान्त हो । यसलाई हामीले अगाडि बढाउनु पर्दछ । यस्ता कार्यक्रमहरुलाई हामीले, यस्ता सांस्कृतिक कार्यक्रमहरुलाई, धार्मिक चाडपर्वहरुलाई, यस्ताहरुलाई विशुद्ध धार्मिक, सांस्कृतिक यस्तै कार्यक्रमको रुपमा हामीले राष्ट्रिय एकताका साथ अघि बढ्नु पर्दछ, बढाउनु पर्दछ ।
यस्तो कार्यक्रमलाई अरु कुराहरु मिसाएर ठूलो ठूलो यज्ञमा बादर आईपुग्यो भने भताभंग पारिदिन्छ यज्ञ । त्यस्तै यज्ञ भाँडने खालका क्रियाकलापहरु हामीले कुनै पनि यस्ता राजनीतिक सांस्कृतिक कुराहरुमा यज्ञमा बाँदर आईपुगे जस्तो गर्नु हुँदैन । यसलाई राष्ट्रिय एकताका साथ यो सबैको गौरव, यो सबैको उपलब्धिको रुपमा हामीले लिनुपर्दछ । म सबैलाई आग्रह गर्न चाहन्छु–हामी सम्पूर्ण नेपालीहरु एक होऔं ।
हामी सम्पूर्ण नेपालीहरु एकतावद्ध भएर बढौं । र सम्पूर्ण नेपालीहरु यसलाई मर्न नदिने र अगाडि बढाउने यो उत्साहपूर्ण काम हो । जारी राख्नु पर्दछ । अहिले मैले धेरै कुराहरु केही भन्नु छैन यत्रो र्याली साथीहरुले गर्नुभएको छ । यत्रो उत्सव छ । यो ११४५ औं दिवस, जहाँ हाम्रो सम्वत चल्यो ।
यो भनेको छोटो अवधि होइन । यो दिवस, यस चाडको तागतलाई बीचमा समाप्त पार्न खोजेपनि फेरी यो जुर्मुराएको उठेको छ, फेरी बौरिएको छ । फेरि अगाडि बढेको छ । र, सशक्तता प्राप्त गर्दै गएको छ । यसले सशक्तता प्राप्त गर्दै जानेछ ।’
प्रधानमन्त्री ओलीले नेपाल सम्वतलाई बीचमा समाप्त पार्ने कोशिस भएपनि बौराउँदै अघि बढेको र यसले सशक्तता प्राप्त गर्दै जाने विश्वास समेत व्यक्त गरे । उनले नेपाल सम्वत बनाउनका लागि आफूले १० लाख रुपैयाँ सरकारको तर्फबाट सहायता गर्ने गरेको र बीचमा रोकिएपनि फेरी आफूले यस वर्ष १५ लाख दिएर यसलाई सरकारको तर्फबाट सहयोग गर्ने कामलाई निरन्तरता दिएको पनि बताए ।