काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि सातै प्रदेशमा नेताहरूलाई खटाएको छ । रास्वपाको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले स्थानीय तह उपनिर्वाचनका लागि नेताहरुलाई प्रदेशगत जिम्मेवारी तोकेको हो ।
जस अनुसार कोशीमा निशा डाँगी, मधेशमा डा. चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदूरपश्चिम विष्णुकुमार श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
निर्वाचन परिचालन समितिले उम्मेदवार छनोटको कार्यतालिका पनि बनाइएको छ । स्थानीय तहमा हुने उपनिर्वाचन हुने स्थानमा रास्वपाबाट उम्मेदवार हुन इच्छुकले आजदेखि नाम दर्ता सुरु गरिएको केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक गणेश पराजुलीले जानकारी गराए । उम्मेदवार हुन इच्छुकका लागि दर्ता अवधि दर्ता २५ कात्तिकसम्मका लागि तय गरिएको छ ।
२५ कात्तिकको साँझ ८ बजे प्रारम्भिक उम्मेदवारहरुको नामावली प्रकाशन गरिने रास्वपाले जानकारी गराएको छ ।
स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ मा मनोनयन दर्ता गरिँदै छ ।