चितवन / चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा पार्टीभित्रको असन्तुष्टि खुला रूपमा विस्फोट भएको छ।
रास्वपाका सांसद धनञ्जय रेग्मीले वर्तमान नेतृत्वमाथि तीव्र प्रहार गर्दै पार्टीले देश चलाउने नैतिक र संगठनात्मक क्षमता गुमाउँदै गएको आरोप लगाएका छन्। उनले नेतृत्वकै कारण रास्वपाको छवि अन्तर्राष्ट्रिय स्तरसम्म धुमिल बनेको दाबी गर्दै महाधिवेशन व्यवस्थापनलाई समेत असफलताको नमुना भएको टिप्पणी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद धनञ्जय रेग्मीले पार्टी नेतृत्वमाथि कडा असन्तुष्टि व्यक्त गर्दै वर्तमान नेतृत्वले रास्वपालाई देश चलाउने अवस्थामा पुर्याउन नसकेको बताएका छन्।
‘मैले जुन हिसाबले हाम्रो पार्टी भनेर गर्व गरिरहेको थिएँ, अहिले त्यो अवस्था छैन। अब हामीले देश चलाउन सक्दैनौं भन्ने महसुस हुन थालेको छ,’ रेग्मीले भने ।
चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनका क्रममा प्रतिनिधिहरूलाई सम्बोधन गर्दै रेग्मीले वर्तमान पदाधिकारीहरूले पार्टीको छवि अन्तर्राष्ट्रिय स्तरसम्म कमजोर बनाएको आरोप लगाए।
‘मैले जुन हिसाबले हाम्रो पार्टी भनेर गर्व गरिरहेको थिएँ, अहिले त्यो अवस्था छैन। अब हामीले देश चलाउन सक्दैनौं भन्ने महसुस हुन थालेको छ,’ रेग्मीले भने ।
उनले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै महाधिवेशन व्यवस्थापनमाथि पनि प्रश्न उठाए। तीन दिनमै सम्पन्न हुने भनिएको महाधिवेशन पाँच दिनसम्म लम्बिँदा प्रतिनिधिहरू आर्थिक तथा व्यवस्थापकीय समस्यामा परेको उनको भनाइ थियो।
‘तीन दिनका लागि भनेर हामी यहाँ आएका हौं। तर पाँच दिन बितिसक्दा पनि अधिवेशन सकिएको छैन। खर्च सकिएको छ, प्रतिनिधिहरू अलपत्र परेका छन्,’ उनले भने।
रेग्मीले आफूले यस्तो अभिव्यक्ति दिँदा राजनीतिक रूपमा घाटा हुन सक्ने स्वीकार गरे पनि प्रतिनिधिहरूले भोगिरहेको वास्तविकता बाहिर ल्याउन आवश्यक ठानेको बताए।
उनले नेतृत्वले अधिवेशनको अवधि र व्यवस्थापनबारे सुरुदेखि नै स्पष्ट जानकारी दिनुपर्नेमा त्यसो नगरेर प्रतिनिधिहरूलाई अन्योलमा राखेको आरोप लगाए।
महाधिवेशनस्थलमै सांसद रेग्मीले सार्वजनिक रूपमा नेतृत्वको आलोचना गरेपछि रास्वपाभित्र बढ्दो असन्तुष्टि र आन्तरिक व्यवस्थापनको विषय थप चर्चामा आएको छ।
प्रतिक्रिया दिनुहोस