काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद डा.चन्द्र भण्डारीले विगतको सत्ता सञ्चालन र राज्यका विभिन्न संयन्त्रहरू बिचौलियाको तीव्र प्रभावमा परेको टिप्पणी गरेका छन् ।
नेता भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राज्यका निकायहरू आर्थिक प्रलोभन र स्वार्थको जालमा फसेको आरोप लगाएका हुन् । उनले बिचौलिया र सरकारी निकायबीचको अपवित्र मिलेमतोलाई चिनीको चास्नी र मौरीको रूपक प्रयोग गरेर तीखो कटाक्ष गरेका छन् ।
ूचिनीको चास्नीमा मौरी–झिँगा परेझैँ विचौलियाले पैसाको लोभको चास्नीमा राज्यका धेरै निकाय डुबाइसकेका रहेछन्, भण्डारीले लेखेका छन्, चास्नीमा डुबेको मौरी पखेटा चलाएर निस्कन सक्दैन ।
नेता भण्डारीले राज्य संयन्त्रमा मौलाएको यस्तो बेथितिले मुलुकका लागि योगदान गर्नेहरूको इतिहास, त्याग, समर्पण, सहिदहरूको बलिदान र जनविश्वासमाथि नै ठूलो अपमान गरिरहेको उल्लेख गरेका छन् । विगतमा आफूले यिनै विसङ्गतिविरुद्ध संसद्मा निरन्तर आवाज उठाएको स्मरण गराउँदै उनले अहिले आएर ती कुराहरू सत्य सावित हुँदै गएको दाबी गरे ।
यी कुरा मैले विगतमा जोडदार रूपमा संसदमा उठाएकै थिएँ । आज त्यो सत्य प्रमाणित हुँदैछ, उनले दृढताका साथ लेखेका छन्, अब दोहोर्याउने होइन, अन्त्य गर्ने समय हो ।
पछिल्लो समय देशमा सुशासन, राज्य संयन्त्रको शुद्धीकरण र राजनीतिक उत्तरदायित्वबारे चौतर्फी बहस भइरहेका बेला यो अभिव्यक्तिलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस