काठमाडौं । ब्राजिल र मोरक्कोले अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६ को नकआउट चरण (अन्तिम १६) मा आफ्नो स्थान सुरक्षित गरेका छन् । बिहीबार बिहान सम्पन्न समूह ‘सी’ को अन्तिम खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० को सहज नतिजाले तथा मोरक्कोले हाइटीलाई ४–२ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेका हुन् ।
अमेरिकाको मियामी स्टेडियममा भएको एकपक्षीय खेलमा ब्राजिललाई जिताउन स्टार स्ट्राइकर भिनिसियस जुनियरले उत्कृष्ट प्रदर्शन गरे । खेलको सातौं मिनेटमै गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका भिनिसियसले पहिलो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाएका थिए ।
त्यसपछि खेलको ६०औं मिनेटमा मथेउस कुन्हाले गोल थपेपछि ब्राजिल ३–० को सहज जित निकाल्न सफल भयो। खेलमा दुई गोल गरेका भिनिसियस लगातार तेस्रो खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित भए । जारी विश्वकपमा उनको कुल गोल संख्या चार पुगेको छ।
यता एटलान्टा स्टेडियममा भएको अर्को रोमाञ्चक भिडन्तमा मोरक्कोले हाइटीलाई ४–२ ले स्तब्ध पार्यो । खेलको १०औं मिनेटमा आत्मघाती गोलका कारण हाइटीले अप्रत्याशित अग्रता लिएको थियो। हाइटीले खेलमा दुई पटकसम्म अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन ।
पहिलो हाफ २–२ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा मोरक्कोले उत्कृष्ट पुनरागमन गर्यो। खेलको ७८औं मिनेटमा पहिलो पटक अग्रता लिएको मोरक्कोले ८९औं मिनेटमा चौथो गोल थप्दै रोमाञ्चक जित दर्ता गर्यो ।
यो जितसँगै समूह ‘सी’ मा ब्राजिल र मोरक्को दुवैको समान ७–७ अंक भएको छ। तर, हेड–टु–हेड (आपसी भिडन्त) को आधारमा ब्राजिल समूह विजेता र मोरक्को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका हुन् । यस समूहबाट हाइटी यसअघि नै बाहिरिइसकेको छ भने स्कटल्यान्डको उत्कृष्ट तेस्रो टोली बन्दै नकआउट पुग्ने झिनो प्राविधिक सम्भावना मात्र बाँकी छ ।
प्रतिक्रिया दिनुहोस