काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
मन्त्री पाण्डेले मन्त्रालयले उपभोक्ताहरुको अधिकार हनन हुनेगरी भाडा लिने कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । उपभोक्ताहरुको अधिकार हनन नहुने गरी न्यायोचित रकम मात्रै लिन वायुसेवा कम्पनीहरुलाई निर्देशन दिए ।
गत शुक्रबारदेखि दैनिक १० घण्टा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर विमानस्थल निर्माणको काम शुरु भएदेखि वायुसेवा कम्पनीहरुले मनपरी हवाई भाडा वृद्धि गरेको गुनासो यात्रुहरुले गर्दै आएका छन् । सो विषयमा उहाँले हवाई भाडा वृद्धिबारे आफूले परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिसकेको बताए ।
तीन मन्त्रालयको समन्वयमा विमान सञ्चालकहरुसँग पनि छलफल गरी बढी भाडा नलिन निर्देशन दिएको बताए । हवाई भाडा बढेका विषयमा ५ बुँदे निर्णय गरी ट्राभल एजेन्सीहरुले टिकटहरु होल्ड गर्ने र महंगोमा बेचिएको कुरालाई रोक्न क्यानलाई निर्देशन दिइसकेको बताए ।
अहिले क्रमिक रुपमा हवाई भाडादर पुरानै मूल्यमा आएको बताए । सस्तो टिकट कतिको र महंगो टिकट कतिको बिक्यो भन्ने फेहरिस्त सार्वजनिक गर्न समेत क्यानलाई निर्देशन दिएको बताए ।
उनले भने, ‘टिकेटको कुरा गर्नुभयो । मैले टिकेटको मूल्य बढेपछि परराष्ट्रमन्त्री, श्रममन्त्री र म बसेर र केही सरोकारवाला साथीहरु बसेर हाम्रो मन्त्रालयको समन्वयमा क्यानमा विमान सञ्चालकहरु र तिनीहरुका प्रतिनिधिहरुलाई राख्यौँ । टिकट बढेका विषयमा उहाँहरुलाई ५ बुँदे निर्णय गरेका छौँ । उहाँहरु त्यो निर्णयमा सहभागी हुनुहुन्छ । ट्राभल एजेन्सीहरुले टिकटहरु होल्ड गर्ने भनेर महंगोमा बेचिएको कुरा अयो, त्यो रोक्नुस् भनेका छौँ ।
त्यो प्याकेजमै होल्ड गर्ने प्रवृृत्ति रोक्नुस् भनेका छौँ । त्यसमा उहाँहरु सहमत हुनुहुन्छ । सस्तो कतिको टिकट बिक्यो, महंगको कतिको बिक्यो त्यो सबै फेहरिस्त सार्वजनिक गर्नुस् भनेका छौँ । उपभोक्ताहरुको अधिकार हनन नहुने गरी न्यायोचित र तर्कपूर्ण प्राइजमा मात्रै टिकटको भाडा लिनुस् भनेका छौँ । त्यसमा उहाँहरु सहमत हुनुहुन्छ । पछिल्ला केही कम्प्लेन भएको भए क्यानको उच्चपदस्थ कर्मचारीको नम्बरसहित निर्णय सार्वजनिक गरेका छौँ ।
त्यो कम्प्लेन त्यहाँ गएका छौँ । त्यो विपरित उहाँहरु जानुभएको छ भने कडा कारबाही गर्ने प्रतिवद्धता जनाएका छौँ । टिकटको मूल्य बढेको कुरा केही दिन यता बिस्तारै कम हुँदै गएको छ । केही गुनासो भए सम्बोधन गर्न तत्पर छौँ ।’
मन्त्री पाण्डेले भैरहवामा उडानको चाप बढाउन र पोखरामा पनि उडान बिस्तार गर्न मन्त्रालयले योजनावद्ध रुपमा काम अघि बढाइरहेको बताए ।
उनले भैरहवामा अहिले ५ वटा एयरलाइन्सहरुले उडान गरिरहेको र यसलाई १० वटासम्म कसरी पुर्याउने भन्ने योजनामा मन्त्रालय रहेको बताए । उनले पोखरामा पनि उडानका गतिविधि बढाउने गरी आफू अघि बढिरहेको बताए ।
आफूले निजी क्षेत्रहरुसँग पनि उडान बिस्तारका लागि आवश्यक छलफल अघि बढाएको बताए ।
उनले भने, ‘अहिले केही एयरलाइन्सहरु त्यहाँ गएका छन् । उनीहरुलाई त्यहाँ दिगो रुपमा राख्नका लागि सरकारका तर्फबाट गर्ने भनिएको कार्ययोजना र कार्ययोजनाअन्तर्गतका कामहरु के कति भएका छन् र के कति गर्नुपर्नेछ भन्नेकुराको फलोअप गरिरहेको छु मैले । कार्ययोजनाअनुसारका सबै कामहरु सम्बन्धित मन्त्रालयले गर्नुपर्छ ।
अर्थ मन्त्रालयले गर्ने काम छ, कृषि मन्त्रालयले गर्ने काम छ । श्रम मन्त्रालयले गर्ने काम छ । परराष्ट्र मन्त्रालयले गर्ने काम छ । स्वास्थ्य परीक्षण लगायतका कामहरु छन् । यि विविध कामहरु के कति भएका छन्, छैनन् ? तुरुन्तै हामी गरौँ, भैरहवामा पनि र पोखरामा पनि । त्यो कोशिस भइरहेको छ । तत्कालै फेरि मैले त्यहाँको निजी क्षेत्रसँग उद्योग वाणिज्य महासंघका साथीहरु, होटल व्यवसायी र पर्यटन क्षेत्रसँग सम्बन्धित साथीहरुसँग राज्यले यति ठूलो चेष्ठा गरेको छ, विमानस्थल सञ्चालन गर्नका लागि तपाईंहरले के योगदान गर्न सक्नुहुन्छ ? उद्योगवाणिज्य क्षेत्रका, पर्यटन, होटल व्यवसायी साथीहरुले के योगदान गर्न सक्नुहुन्छ भन्नेकुरामा म परामर्श गर्दैछु ।
लुम्बिनी विकास कोषका पदाधिकारीसँग पनि मैले लामो छलफल गरेको छु । भैरहवा विमानस्थल चल्ने भनेको लुम्बिनीले जति आकर्षण थप्न सक्यो, जति लुम्बिनीमा मानिस निम्त्याउनसक्यो, त्यति नै भैरहवा विमानस्थलको आकर्षण बढ्ने हो । त्यति मात्रै होइन, श्रम क्षेत्रमा जाने धेरै मानिसहरु तथ्यांकले मोटामोटी रुपमा ६० प्रतिशत नारायणीबाट पश्चिमतिरबाट मानिसहरु मानिसहरु जान्छन् ।
ति मानिसहरु त्यहीँबाट उडाउने र उतार्ने बारेमा छलफल गर्दैछौँ । यही छलफल पोखरामा पनि लैजान चाहन्छौँ । भैरहवामा ५ विमानल आइसके १० कसरी पुर्याउने र त्यसलाई दिगो कसरी बनाउने ? ठिक त्यस्तै काम पोखरामा कसरी गर्ने ? मैले देखेको भैरहवाबाट बढी श्रमसँग सम्बन्धित र लुम्बिनीमा आउने दर्शनार्थीको आवतजावतको केन्द्र बन्नसक्छ भैरहवा ।
पोखरा पर्यटकीय दृष्टिकोणले आउने, नेचर, एड्भेन्चरका लागि आउनेलाई केन्द्र बनाएर उडान गर्नुपर्छ । त्रिभूवन विमानस्थलबाट हाइ प्रोफाइल मानिसहरु संघीय राजधानीमा आउनेहरुमा फोकस गरेर काम गरिरहेको छु । हामीले बनाएका तीन वटै एयरपोर्टमा आगामी दिनमा गतिविधि बढ्नेछ ।
तीन एयरपोर्टको दबाब, आवश्यकताले निजगढ विमानस्थलको अन्तर्राष्ट्रिय स्तरकै निकै ठूलो एयरपोर्ट बन्ने परिकल्पना छ । हामी त्यो बनाउने दिशामा पनि सकारात्मक प्रेरणा मिल्नेछ ।’
उनले भैरहवाबाट बढी श्रमसँग सम्बन्धित र लुम्बिनीमा आउने दर्शनार्थीको आवतजावतको केन्द्र बनाउने र पोखरामा पर्यटकहरुसँग सम्बन्धित उडान गर्ने गरी योजना अघि बढाएको बताए ।