ठिक एक वर्षअघि मदन भण्डारीको ७४औँ जन्मजयन्ती समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले राजनीतिमा पुनः सक्रिय हुने घोषणा गर्दा नेकपा एमालेभित्र तरंग मात्र होइन, लगभग राजनीतिक भूकम्प नै पैदा भएको थियो । त्यो घोषणाले पार्टीभित्र उत्तराधिकारको बहस चर्कियो, नेता–कार्यकर्ता दुई धारमा विभाजित भए र अन्ततः एमाले नेतृत्वले उनको संगठित सदस्यता नवीकरण नै रोक्ने निर्णय गर्यो।
तर राजनीति सधैं सीधा रेखामा हिँड्दैन।
एक वर्षपछि दृश्य पूर्णतः बदलिएको छ, भण्डारीको सदस्यता नवीकरण भइसकेको छ, उनलाई रोक्न सक्रिय देखिएका एमाले अध्यक्ष केपी शर्मा ओली अहिले उनीसँग राजनीतिक दूरी घटाउँदै छन्, त्यति मात्र होइन, एकअर्कासँग कटु सम्बन्धमा पुगेका कम्युनिष्ट नेताहरू पनि पुनः संवाद र सहकार्यको भाषामा बोल्न थालेका छन्।
यही परिवेशमा आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती मनाइँदै छ। कार्यक्रममा ओली, विद्यादेवी भण्डारी, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल एउटै मञ्चमा उभिँदै छन्। यो केवल जन्मजयन्ती समारोहको दृश्य होइन, बदलिँदो कम्युनिष्ट राजनीतिका सम्भावित संकेतहरूको दृश्य पनि हो।
फागुन २१ को निर्वाचनले एमालेलाई धक्का दियो, सत्ता समीकरण फेरियो र कम्युनिष्ट शक्तिहरूलाई आफ्नो भविष्यबारे पुनर्विचार गर्न बाध्य बनायो। यही कारण अहिले एमाले र नेकपाबीच सहकार्यदेखि सम्भावित एकतासम्मका चर्चा राजनीतिक वृत्तमा बाक्लिन थालेका छन्।
संयोग पनि रोचक छ। एक वर्षअघि मदन भण्डारीको नाममा विभाजित भएका नेताहरू आज फेरि मदन भण्डारीकै नाममा एउटै मञ्चमा उभिँदै छन्। प्रश्न अब केवल श्रद्धाञ्जलीको छैन, प्रश्न यो हो कि के यो कम्युनिष्ट पुनःध्रुवीकरणको सुरुआत हो, वा परिस्थितिले जन्माएको अस्थायी राजनीतिक समीकरण मात्र ?
त्यसबेला अध्यक्ष ओली, महासचिव शंकर पोखरेल लगायत नेतृत्व तहका प्रभावशाली नेताहरू भण्डारीको सक्रिय राजनीतिक प्रवेशप्रति सशंकित देखिए । अन्ततः एमालेले संस्थागत निर्णयमार्फत उनको संगठित सदस्यता नवीकरण नगर्ने निर्णय गर्यो। यसले भण्डारीको तत्कालीन राजनीतिक योजनामा पूर्णविराम त लगायो नै, एमालेभित्र नेतृत्वको उत्तराधिकार सम्बन्धी बहसलाई पनि थप तीव्र बनायो ।
मदन भण्डारीको ७४औँ जन्मजयन्तीको एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता ईश्वर पोखरेल लगायत शीर्ष नेताहरू उपस्थित कार्यक्रममा भण्डारीले आफू पुनः एमाले राजनीतिमा सक्रिय हुने उद्घोष गरेकी थिइन्।
भण्डारीले आफू साधारण सदस्यका रूपमा पार्टीमा फर्किन चाहेको र मदन भण्डारीका अधुरा राजनीतिक सपना पूरा गर्ने अभियानमा सक्रिय हुने सन्देश दिएकी थिइन्।
तर घोषणापछि एमालेभित्रको प्रतिक्रिया एकरूप रहेन। नेता तथा कार्यकर्ताहरू स्पष्ट रूपमा पक्ष र विपक्षमा विभाजित भए। भण्डारीले पार्टीको संगठित सदस्यता नवीकरणका लागि आवेदन दिइसकेको र नवीकरणसमेत भएको तथ्य सार्वजनिक भए पनि पार्टी नेतृत्व त्यसलाई सहज रूपमा स्वीकार गर्ने मनस्थितिमा देखिएन ।
त्यसबेला अध्यक्ष ओली, महासचिव शंकर पोखरेल लगायत नेतृत्व तहका प्रभावशाली नेताहरू भण्डारीको सक्रिय राजनीतिक प्रवेशप्रति सशंकित देखिए । अन्ततः एमालेले संस्थागत निर्णयमार्फत उनको संगठित सदस्यता नवीकरण नगर्ने निर्णय गर्यो। यसले भण्डारीको तत्कालीन राजनीतिक योजनामा पूर्णविराम त लगायो नै, एमालेभित्र नेतृत्वको उत्तराधिकार सम्बन्धी बहसलाई पनि थप तीव्र बनायो ।
तर नेपाली राजनीतिमा एक वर्ष निकै लामो समय साबित हुन सक्छ।
त्यसयता देशको राजनीतिक परिस्थिति नाटकीय रूपमा फेरिएको छ। भदौ २३ र २४ को जनजी आन्दोलनपछि सत्ता समीकरण बदलियो। त्यसपछि भएको फागुन २१ को निर्वाचनमा एमालेले अपेक्षाभन्दा ठूलो राजनीतिक धक्का व्यहोर्नुप¥यो । बदलिएको यही राजनीतिक यथार्थले एमाले नेतृत्वको सोचसमेत परिवर्तन गरिदिएको देखिन्छ।
एक वर्षअघि भण्डारीलाई रोक्न सक्रिय देखिएका ओली अहिले उनीसँग निकट बनेका छन्। यति मात्र होइन, भण्डारीको संगठित सदस्यता पनि नवीकरण भइसकेको छ। विगतमा नवीकरण रोक्ने निर्णय गर्ने नेतृत्वले नै अहिले सदस्यता नवीकरण भएको जानकारी पार्टी सचिवालय बैठकमा गराएको तथ्यले एमालेभित्रको बदलिएको राजनीतिक मनोविज्ञान स्पष्ट देखाउँछ।
यसबीच आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती मनाइँदैछ। रोचक संयोग के छ भने, एक वर्षअघि राजनीतिक रूपमा टाढिएका नेताहरू अहिले एउटै मञ्चमा देखिन लागेका छन्। कार्यक्रममा प्रमुख अतिथिका रूपमा विद्यादेवी भण्डारी रहनेछिन् भने अध्यक्ष ओलीसहित प्रमुख कम्युनिष्ट नेताहरूको उपस्थिति रहनेछ।
विशेषगरी, पुष्पकमल दाहाल, माधव कुमार नेपाल र झलनाथ खनाल जस्ता नेताहरू पनि सोही मञ्चमा सहभागी हुँदैछन्। केही वर्षअघिसम्म एकअर्काविरुद्ध तीव्र राजनीतिक संघर्षमा रहेका यी नेताहरूको एउटै कार्यक्रममा उपस्थितिले नयाँ राजनीतिक संकेत दिन थालेको छ।
विशेषगरी ओली र दाहालबीचको सम्बन्ध पछिल्लो समय फेरि सुधारोन्मुख देखिन्छ। एक समय पानी बाराबारको अवस्थामा पुगेका दुई नेताहरूलाई फागुन २१ को निर्वाचन परिणामले फेरि नजिक ल्याएको विश्लेषण भइरहेको छ। केही दिनअघि विराटनगरमा दाहालले एमालेसँग सदन र सडक दुवैमा सहकार्य सम्भव रहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए।
राजनीतिक वृत्तमा एमाले र नेकपाबीच सम्भावित सहकार्य मात्र होइन, दीर्घकालीन कम्युनिष्ट एकताको चर्चासमेत बाक्लिएको छ। केही विश्लेषकहरूले विद्यादेवी भण्डारीलाई साझा नेतृत्वको केन्द्रमा राखेर नयाँ कम्युनिष्ट ध्रुवीकरण हुन सक्ने अनुमान गरिरहेका छन्। अर्कोतर्फ, पार्टी नेतृत्व ओलीले सम्हाल्ने र संसदीय मोर्चाको नेतृत्व दाहालले गर्ने गरी सहकार्यको मोडेलबारे पनि चर्चा चलिरहेको छ।
नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा ले समेत एमालेसँग सहकार्यको सम्भावना रहेको बताउँदै विगतको भन्दा उन्नत ढंगले कम्युनिष्ट आन्दोलन पुनर्गठन हुन सक्ने धारणा व्यक्त गरेका छन्। उनका अनुसार सीमित नेताहरूको घेराभित्र होइन, व्यापक राजनीतिक संवादमार्फत नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले पुनर्संरचना गर्नुपर्ने आवश्यकता छ।
यद्यपि, राजनीतिक इतिहासले देखाएको छ कि नेपाली कम्युनिष्ट आन्दोलनमा सहकार्य र विभाजन दुवै स्थायी प्रक्रिया जस्तै बनेका छन्। त्यसैले आजको एउटै मञ्चलाई तत्कालीन पार्टी एकताको आधार मानिहाल्न सकिँदैन। तर यसले संवादको ढोका खुलेको, साझा राजनीतिक एजेन्डा खोज्ने प्रयास सुरु भएको र कम्तीमा कम्युनिष्ट शक्तिहरूले विगतका कटुतालाई केही समयका लागि थाती राख्न खोजेको संकेत भने अवश्य दिन्छ।
एक वर्षअघि मदन भण्डारीको जन्मजयन्तीमा विभाजित देखिएका कम्युनिष्ट नेताहरू आज फेरि एउटै मञ्चमा उभिएका छन्। त्यसैले यस वर्षको जन्मजयन्ती केवल श्रद्धाञ्जली कार्यक्रम मात्र होइन, आगामी राजनीतिक समीकरणको संकेत खोज्ने एउटा महत्वपूर्ण अवसर पनि बनेको छ।
अब सबैको चासो एउटै प्रश्नमा केन्द्रित छ, के यो केवल औपचारिक सहकार्यको सुरुआत हो, वा नेपाली कम्युनिष्ट राजनीतिमा नयाँ अध्याय लेखिने तयारी? यसको उत्तर आजका भाषण, नेताहरूको शरीर भाषा र आगामी राजनीतिक कदमहरूले दिनेछन्।
प्रतिक्रिया दिनुहोस