काठमाडौं । सरकारले सवारी चालकको चेकजाँचमा अझ कडाई गर्ने भएको छ । आईतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकले बोलाएको दुर्घटना न्युनिकरण सम्बन्धी बैठकले सो निर्णय गरेको हो ।
सवारी दुर्घटना नियन्त्रणका लागि सवारी चालकहरुले मादक पदार्थ, लागुपदार्थ सेवन गर्न नदिन लागि चेकजाँचमा कडाई गर्ने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । त्यसैगरी बैठकले यातायात व्यवसायीहरुलाई पनि सवारी चालकहरुलाई आवश्यक तालिमको तत्काल व्यवस्था मिलाउन सचेत गराएको छ ।
प्रवक्ता तिवारीका अनुसार सवारी दुर्घटना नियन्त्रणका लागि सिट भन्दा बढि यात्रु नराख्ने, यात्रु बाहक सवारी साधनमा मालसामान ढुवानी गर्न नहुनेलगायतका निर्णयहरुलाई कडाईका साथ कार्यान्वयन गर्ने निर्णय पनि गरिएको छ ।
प्रवक्ता तिवारीले भने, ‘आज माननीय गृहमन्त्रीज्युको अध्यक्षतामा सवारी दुर्घटना नियन्त्रण सम्बन्धमा सरोकारवाला सम्पूर्ण निकायहरुबीच हामीले छलफल गर्यौं । खासगरी यस छलफलमा मुलतः सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु राख्ने गरेकोमा त्यसलाई सवारी साधनमा सिट क्षमता भन्दा बढि यात्रु नराख्ने गरी व्यवस्था मिलाउने गरी हामीले निर्णय गरेका छौं । त्यससँगसँगै प्रयोजन अनुसार सवारी साधनहरु चलाउने ।
त्यसको अर्थ के हो भने मालसामान ढुवानी गर्ने साधनमा यात्रु र यात्रु बहाक साधनमा मालसामान ढुवानी नगर्ने गरी त्यसलाई पनि कार्यान्वयन गर्नेगरी अगाडि बढेको अवस्था छ । त्यसैगरी मादक पदार्थ सेवन, लागुपदार्थ सेवन गरेर जुन सवारी साधनहरु चलाउने प्रवृत्ति देखिएको छ । त्यसलाई नियन्त्रण गर्न अझ चेकजाँचलाई कडाई गर्ने । र, लामो दुरीमा २ जना चालकहरुलाई अनिवार्य राख्ने र ओभर स्पिडलाई नियन्त्रण गर्ने निष्कर्ष आजको छलफलले निकालेको छ ।
त्यो अनुसार कार्यान्वयन गर्नका लागि तत्कालै कार्ययोजना बनाएर काम गर्नेगरी निर्णय भएको छ । लाईसेन्सलाई अझ प्रभावकारी बनाउन र चालकहरुलाई तालिमलगायतको व्यवस्था गर्न यातायात व्यवसायीहरुले पनि संचालन गर्ने र त्यसमा यातायात व्यवस्था विभागले समन्वय गर्नेगरी निर्णय भएको छ ।’
सरकार र सरोकारवाला निकायबीच सवारी साधन दुर्घटना नियन्त्रणका लागि विगतमा भएको सहमती पनि कार्यान्वयन गर्न बैठकले जोड दिएको गृह मन्त्रालयले जनाएको छ ।