२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

ऐतिहासिक गाजाको दह: पानी सुक्न थालेपछि स्थानीयवासी चिन्तित

बिहिवार , मंसिर १३, २०८१

बागलुङ । यहाँस्थित ऐतिहासिक गाजाको दह नजिकै व्यापार गर्दै आएका नरबहादुर थापाले दशक अघिसम्म दहमा पानीको सतह भरिभराउ देख्थे । पछिल्लो समय दहमा बिस्तारै पानी सुक्दै गएको छ ।

वर्षात्मा हावा चल्दा तालको छालले छेउका घरमा असर गर्ने डर हुन्थ्यो । तर अहिले त वर्षात्मा पनि यो ताल सुख्खा जस्तै भयो । भरिभराउ हुनुपर्ने तालको आधा पनि पानी नभरिएपछि स्थानीय बासिन्दा चिन्तामा छन् । २ हजार ५ सय मिटर उचाइको गाजा दहको पानी सुक्दा पर्यटकीय स्थल ओझेलमा पर्ने, तल्लो खण्डमा पानीको समस्या बल्झिने चिन्ता बढेको थापाले बताए।

सयौं वर्षदेखि पहाडको धुरीमा रहेको बागलुङको प्रसिद्ध गाजाको दह पछिल्लो समय सुक्दै जान थालेको हो । हिउँदमा नसुक्ने, वर्षात्मा धमिलो पनि नहुने विशेषता बोकेको यो दहमा डोजर लगाएर संरक्षण गर्न खोज्दा पानी घटेको स्थानीयको अनुमान छ ।

पाँच वर्षअघि यहाँ पर्खाल लगाएर पानी संरक्षण प्रयास गरिएको थियो । यसका लागि डोजर लगाएपछि पानीको सतह सुक्दै जान थालेको स्थानीयले जनाएका छन् । बागलुङ सदरमुकामदेखि २४ किमी पश्चिमको यात्राबाट पुगिने गाजाको दह पर्यटकीय र धार्मिक गन्तव्य हो । यहाँ सिद्ध बराहको थान छ । यो थानमा जैमिनी, गलकोट, बागलुङ नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाबासी पूजा गर्न पुग्छन् । त्यस बाहेक अन्यत्रबाट पनि घुम्न जानेहरु धेरै छन् ।

यो दहबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेसहित मनास्लु हिमाल समेत देखिन्छ । उच्च पहाडमा भएकोले हिउँदमा हिउँ पर्छ । जंगल छेवैमा भएर पनि यो ताल सँधै सफा हुन्छ । यसैले यहाँ पर्यटक जानेआउने गर्छन् । यहाँबाट बागलुङसहित पर्वत, गुल्मी, म्याग्दी र स्याङजाका धेरै क्षेत्र देखिन्छन् ।

त्यसैले यहाँ पैदल यात्रा गरेर पनि पर्यटकहरु पुग्ने गर्छन् । “यो दह धार्मिक रुपमा पनि प्रसिद्द छ, तर संरक्षणको नाउँमा डोजर लगाएर पानी घट्यो ” स्थानीय थापाले भने “अब मौलिक रुपमै संरक्षण नगरे दहको अस्तित्व सकिन्छ । ” सडक अप्ठ्यारो भएकोले गाजा दह पुग्ने सडकलाई स्तरीय बनाउन पनि उनले माग गरे ।

गाजा दहको छेवैमा रहेको सिद्द थानमा बैकुष्ठ चर्तुदर्शी तथा बाला चर्तुदर्शीमा मेला लाग्ने गरेको छ । बाला चर्तुदर्शीमा त सतबिज झर्नेको भीड समेत लाग्छ । पूर्णिमा मेला र विभिन्न चाडपर्वमा यहाँ गाजा दह नुहाउने भक्तजन पनि पुग्छन् । धार्मिक र पर्यटकीय स्थान भएकोले पर्यटन क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने स्थानीयको माग छ ।

गण्डकी प्रदेश सरकारले यो दहलाई पर्यटन क्षेत्रमा सूचिकृत गरेको छ । तर पूर्वाधार निर्माणमा बजेट नदिएको स्थानीयले गुनासो गरेका छन् । सिद्ध बराह मन्दिर र ताल संरक्षण गर्न स्थानीयले महायज्ञ समेत लगाएका छन् । शनिबारदेखि शुरु भएको महायज्ञ सात दिन चल्ने जैमिनी नगरपालिका वडा नंं ३ का वडाध्यक्ष कृष्णबहादुर भुजेलले बताए । यो महायज्ञ धार्मिक मात्र नभई सास्कृति र दह संरक्षणको अभियान भएको उनको भनाइ छ ।

पानी सुक्दा पर्यटकीय गतिविधि पनि ठप्प हुने स्थानीय यानुकला कालामगरले गुनासो गरिन्। ताल छ भनेरै धेरै मानिस घुम्न आउने हो, पानी सुक्यो भने त यहाँ कोही आउँदैन’ कालामगरले भनिन्, “यहाँको महत्व जोगाउनु पर्छ । ” गाजा दहको आसपासमा बस्ने मगर र छन्त्याल समुदाय बसोबास गर्दछन् । उनीहरुले यहाँको धार्मिक मठमन्दिरमा पूजा गर्छन् । साथै, मेलापर्व पारेर लोकदोहोरी, सोरठी, सालैज्यो र विनासालैज्यो जस्ता संस्कृति समेत देखाउने चलन छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ