बैतडी / बैतडीको दशरथचन्द नगरपालिका–४ साईलेकस्थित दशरथचन्द राजमार्गमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सु.प.प्र. ०१–००१ ख ३६४६ नम्बरको बस साँझ करिब ५ः४० बजे अनियन्त्रित भई सडकबाट करिब २५ देखि ३० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बस बैतडीको पाटन नगरपालिका–८ निवासी ३७ वर्षीय केशव सिंह महराले चलाएका थिए ।
दुर्घटनामा दशरथचन्द नगरपालिका–६ निवासी ३५ वर्षीय वीरेन्द्रबहादुर चन्दको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
बसमा चालकसहित १२ जना सवार रहेकोमा चालक सकुशल रहेका छन् । दुर्घटनामा घाइते भएका १० जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस