
काठमाडौं । नेपालले बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) परियोजना कार्यान्वयन गर्न अनुदान मात्र लिने छिमेकी चीनलाई जानकारी गराएको छ । गत शुक्रबार परराष्ट्रमन्त्री डा. आरजु राणाले र चीनका विदेशमन्त्री वाङ यिसँगको भेटमा नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेको बताउँदै अनुदान मात्र स्वीकार गर्ने जानकारी गराएकी छिन् ।
सो अवसरमा चिनियाँ विदेशमन्त्री वाङ यिले नेपालले तयार पारेको फ्रेमवर्कको खाकामा छलफल गर्न तयार रहेको जानकारी दिएको परराष्ट्र मन्त्रालय स्रोतले बतायो । चीनका विदेशमन्त्री वाङ यिले नेपालले ल्याउने अनुदानको प्रस्तावमा छलफल गर्ने स्पष्ट पारेका छन् ।
सत्तासाझेदार नेपाली कांग्रेस र नेकपा एमालेले बिआरआई कार्यान्वयनका विषयमा चार बुँदे समझदारी भएपछि चीनको धारणा बुझ्न गत साता परराष्ट्रमन्त्री राणा चीन भ्रमणमा गएकी थिइन् ।
कांग्रेस र एमालेबीच बिआरआईमा भएका चारबुँदे समझदारी :
१. बिआरआई को–अपरेसन फ्रेमवर्कअन्र्तत नेपालले बिआरआईको पुरै प्लानमा हामी हस्ताक्षर नगर्ने ।
२. नेपालमा आवश्यक पर्ने परियोजनाहरु चीन सरकारले बिआरआईअन्तर्गत राखेर दिए पनि अनुदानमा मात्र स्वीकार गर्ने ।
३. नेपालको अहिले चीनसँग मात्र नभएर कुनै पनि देशसँग ऋण लिन सक्ने अवस्था नभएका कारण ऋणमा प्रवेश नगर्ने ।
४. नेपालले सात वर्षअघि बिआरआईको सैदान्तिक सहमतिमा हस्ताक्षर गरिसकेकाले सरकार पछि हट्ने छैन् र कार्यान्वयनका लागि तयार छ ।
यी चारवटा बुँदाको अर्थ हो, बिआरआई होल इम्पिलिमेन्टेसन प्लानमा जस्ताको त्यस्तै हस्ताक्षर नगर्ने । बिआरआईको परियोजना अनुदानमा मात्र गर्ने र ऋण नलिने भन्ने हो ।
एमाले र कांग्रसबीच सहमति भएर फ्रेमवर्क बनेपछि राणाले गत शुक्रबार चिनियाँ समकक्षी वाङ यिसँगको द्धिपक्षिय वार्तामा नेपालले तयार पारेको फ्रेमवर्क राखिसकेको स्रोतले बतायो ।
‘प्रधानमन्त्रीको भ्रमणमा ल्याउनुस हामी सरकारमा छलफल गराउने छौं । के हुन्छ, अन्तिम कुरा गरौंला भन्ने छलफल भएको छ ।’ चिनियाँ विदेशमन्त्रीको भनाइ उद्रित गर्दै मन्त्रालय स्रोतले सुनौलो नेपाललाई बतायो ।
प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणका लागि भोली सोमबार बिहान बेइजिङ प्रस्थान गर्ने भएका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी यही मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमणमा जान लागेका हुन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नेछन् ।
प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते काठमाडौँ फर्कने तालिका छ ।
यसअघि नेपालस्थित चिनियाँ राजदुत छेन सोङ बिआरआई कार्यान्वयनमा सहमति जुटाउन दौडधुप बढाएका थिए । पछिल्लो समय उनले राजनीतिक भेटघाटलाई तीव्र पारे पनि दुई दलबीच अनुदान मात्र स्वीकार गर्ने विषयमा सहमति जुटेको छ ।
कांग्रेस केन्द्रीय समितिले बिआरआई अनुदानमा भए मात्र लिने नभए नलिने निर्णय गरिसकेको छ । बिआरआईका विषयमा कांग्रेसको एक मत देखिएको छ । परियोजनाको फ्रेमवर्क डकुमेन्टमा नेपालले पहिले नै हस्ताक्षर गरिसकेको छ । अब यसको कार्यान्वयन मोडल के कस्तो हुने, यसलाई अनुदान या ऋण केमा सञ्चालन गर्ने भन्ने विषय निर्णय भइसकेको छैन ।
नेपाल सन् २०१७ मा नेपाल बिआरआई ‘फ्रेमवर्क’ मा आबद्ध भएको हो । नेपाल–चीनबीच २०१७ मेमा बिआरआईको साझेदार पक्षमा हस्ताक्षर भएको थियो । तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा बेइजिङ गएर बिआरआई फ्रेमवर्कमा हस्ताक्षर गरेका थिए ।
चीनले एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा बिआरआई अन्तर्गत लगानी गरेका अधिकांश परियोजना प्रभावकारीरूपमा अघि बढ्न नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दाबी गर्दै आएका छन् । तर, चीनले यसलाई अस्वीकार गर्दै आएको छ ।
नेपालका बिआरआई परियोजना अलपत्र
नेपालले पहिलो चरणमा ३५ वटा पूर्वाधार परियोजनाको सूची चीनलाई पठाएको थियो । चीनकै आग्रहमा पछि नेपालले विभिन्न ९ परियोजना अघि बढाउने निर्णय गरेको थियो ।
केरुङ–काठमाडौं रेल, रसुवागढी–काठमाडौं सडक स्तरोन्नति, किमाथांका–हिले सडक निर्माण, गल्छी–रसुवागढी–केरुङ ४०० केभी प्रशारण लाइन, ७ सय ५६ मेगावाटको तमोर जलाशय आयोजना निर्माण, मदन भण्डारी प्राविधिक शिक्षालय निर्माण, फुकोट कर्णाली जलविद्युत, दिपायलदेखि चीनका सीमासम्म सडक र टोखा–विदुर सुरुङमार्ग सडक छनौट भएका थिए ।
बिआरआई अन्तर्गत अघि बढाउने भनिएका यि कुनै परियोजनाको प्रगति भएको छैन् । यसबीचमा कुनै पनि परियोजना अघि नबढेपछि सरकारले ४ सय ९० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरण र भारतको एनएचपिसी लिमिटेड मिलेर बनाउने समझदारी भएको छ ।
चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण भएको ५ वर्ष बितिसक्दा पनि छनौटमा परेका नौ परियोजना कुनैको पनि काम अघि बढेको छैन । त्यसबेला केरुङ–काठमाडौं सीमापार रेल निर्माण अघि बढाउने, टोखा–छहरे सुरुङमार्ग निर्माण गर्नेलगायत दिर्घकालीन महत्वका ठूला परियोजना अघि बढाउन २० वटा समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको थियो ।
आर्थिक विकास र अन्तरक्षेत्रीय सम्पर्क प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरिएको बिआरआईको अवधि २०४९ सम्म छ । चीनको उदीयमान विश्वछवि र त्यससँग जोडिएको रणनीतिक वर्चश्वको स्वार्थको एक कडीका रूपमा समेत अथ्र्याइएको बिआरआईमा हालसम्म नेपाललसहित डेढ सय मुलुकहरुले हस्ताक्षर गरेका छन् ।
चाइना डेभलपमेन्ट बैंक र चाइना एक्जिम बैंकले २०१६ मा मात्रै विभिन्न देशलाई सर्वाधिक उच्च ऋण लगानी गरेका थिए । बिआरआईको ऋणको ब्याज न्यूनतम २.५ देखि ५ प्रतिशतसम्म छ । जबकि विश्व बैंक, एडिबीलगायत अन्य दातृ निकायबाट लिइने ऋणको ब्याज एक प्रतिशतभन्दा तल छ । त्यसमाथि कतिपय ऋण पछि अनुदानमा परिणत भएका छन् ।
बिआरआईबाट ठूलो सहयोग लिएको पाकिस्तानको आर्थिक अवस्था कमजोर छ । पाकिस्तानमा चीनले बीआरआईमार्फत अर्बौं डलर ऋण लगानी गरेको छ ।
दक्षिण एसियामा महंगो चिनियाँ ऋणको पासो सामना गरेका दुई मुख्य देश श्रीलंका र पाकिस्तान हुन् । यी दुबै देशको आर्थिक स्थिति अहिले राम्रो छैन । श्रीलंकाले त अरु कुनै उपाय नदेखिएपछि चिनियाँ लगानीको हम्बन टोटा बन्दरगाह ९९ वर्षका लागि चीनलाई नै लिजमा दिएको छ ।
यो पनि :
बिआरआईको फन्दामा फस्यो सरकार, ‘लबिङ’ बढाउँदै चिनियाँ राजदुत
पोखरा विमानस्थल बनाउन लिएको ऋण अनुदानमा परिणत गर्न चिनियाँ पक्षसँग सरकारको आग्रह
प्रधानमन्त्रीको चीन भ्रमण : पोखरा विमानस्थल बनाउन लिएको २२ अर्ब ऋण अनुदानमा परिणत होला ?
बिआरआईमा सहमति नजुटेपछि चीन-नेपाल औद्योगिक पार्कमा प्रधानमन्त्री ओली
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend