२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

भवन भट्टको नेपाल ब्रुअरी चार वर्षदेखि बन्द, औद्योगिक क्षेत्रले थाल्यो कारबाही

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले लामो समयदेखि बन्द नेपाल ब्रुअरी प्रालिलगायत तीन उद्योगमाथि कारबाही प्रकृया अघि बढाएको छ ।

चार वर्षदेखि बन्द रहेको नेपाल ब्रुअरीका साथै ग्रिन गोल्ड इन्टरनेसनल प्रालि र बानिया मल्टि प्रोडक्ट प्रालिमाथि औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको हो ।

नेपाल ब्रुअरी गैरआवासिय नेपाली संघका पूर्वअध्यक्ष तथा टिबिआई ग्रुपका अध्यक्ष भवन भट्टको हो । विभिन्न कारणले बन्द रहेका ती उद्योग सञ्चालकलाई पटक–पटक पत्राचार गरिए पनि सम्पर्कमा आउन नचाहेकाले कारबाही प्रकृया अघि बढाइएको कार्यालयका प्रमुख संगीता कुँवरले बताइन ।

‘हामीले सञ्चालकलाई निरन्तर फोन र पत्राचार गरी बोलाइरहेका छौं’, प्रमुख कुँवरले भनिन् ‘तर तीमध्ये नेपाल ब्रुुअरीका सञ्चालक सम्पर्कमा आएका छैनन् । ग्रीन गोल्ड र बानियाँ मल्टी प्रोडक्टका सञ्चालक केही समय सम्पर्क आएर उद्योग चलाउँछु भनेर जानुभएको थियो । त्यसपछि उहाँहरु पनि सम्पर्कमा आउनुभएन ।’

उद्योगका लागि जग्गा ओगटेर राख्ने तर उद्योग नचलाउने गरेकाले कारबाही प्रक्रिया अघि बढाएको प्रमुख कुँवरको भनाइ छ । नेपाल ब्रुअरीको बिजुली लाइन काटिएको र अन्य कारबाही प्रकृया अघि बढाइएको उनले जानकारी दिइन् ।

बियर उद्योग बिक्री नभएपछि बन्द

नेपाल ब्रुअरी बिक्री नभएपछि गैरआवासीय नेपाली भवन भट्ट आफैंले लगानी थप्ने योजना बनाएका थिए । भट्ट समूहले तीन अर्ब रुपैयाँ लगानी थपेर क्षमता र विस्तार गर्ने बताएका थिए । उद्योग चल्नुको साटो बन्द भयो ।

त्यसबेला भट्टले बियर ब्राण्डलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन ब्रुअरी बिक्री रोकेको बताएका थिए । उद्योगले स्टार, शेर्पालगायत ब्राण्डका स्टङ बियर उत्पादन गर्दै आएको थियो । उद्योगको उत्पादन क्षमता ६० हजार केस बियर रहेको थियो । सन् १९६४ जनवरीमा स्थापना भएको नेपाल ब्रुअरी मुलुककै पुरानो बियर उद्योग हो । स्टार बियर नेपालको पुरानो ब्राण्ड हो । सन् १९७२ बाट ब्रुअरीले बियर उत्पादन सुरु गरेको थियो । नेपाल ब्रुअरीले स्टार गोल्ड प्रिमियम ब्राण्ड बियर उत्पादन थालेको हो ।

सन् १९९७ मा आएर नेपाल ब्रुअरीलाई भारतको युनाइटेड ब्रुअरीले किनेको थियो । सन् २००८ मा आएर भवन भट्टको टीबीआइ ग्रुपले युनाइटेडको सबै स्वामित्व किनेको थियो । ब्रुअरी तेजेन्द्र खड्का र भारतीय व्यापारी प्रिन्स बत्राले मिलेर सञ्चालन गरेका थिए । भट्टले २००८ मा ब्रअरी खरिद गरेका थिए ।

भट्टले चण्डीराज ढकालको मोमेन्टो एपरल्स, धुलिखेल माउन्टेन रिसोर्ट, पहिलो नेपालको आर्थिक दैनिक कारोबारमा लगानी गरेका थिए ।

भट्टको ड्रिम प्रोजेक्ट बिबी एयर रहेको छ । बिबी एयरले दुई महिना जहाज उडाएपछि अहिले बन्द अवस्थामा छ । भट्टले जापानबाट ठूलो लगानी ल्याए पनि उनी संलग्न कुनै पनि व्यवसायमा सफल भएका छैनन् ।

औद्योगिक क्षेत्रभित्र हाल एक सय ४४ उद्योग तथा प्रतिष्ठानले जग्गा भाडामा लिइ उद्योग सञ्चालन गरिरहेका छन् । औद्योगिक क्षेत्रभित्र हाल १२ उद्योग निर्माणाधीन अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट