
डोटी । डोटीका नौवटै स्थानीय तहमा रहेको सम्पूर्ण सरकारी तथा निजी विद्यालयमा नियमितरूपमा पठनपाठन सुरु भएको छ । कोभिड-१९ का कारण विगत आठ महिनादेखि बन्द भएका विद्यालयमा पठनपाठन सुरु भएसँगै स्कूल जान पाएकोमा विद्यार्थीमा पनि खुशियाली छाएको छ ।
भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक राख्नका लागि क्वारेन्टिनका रूपमा प्रयोग गरिएका विद्यालयमा निर्मलीकरण गरिएसँगै नौवटै स्थानीय तहका सबै विद्यालय पुस १ गतेदेखि सञ्चालन गरिएको हो ।
जिल्लामा कोरोना संक्रमणको डर कायमै रहे पनि विद्यालय निर्वाधरूपमा सञ्चालन भइरहेका छन् । सरकारद्वारा तोकिएका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालनमा आएको शिक्षकले दाबी गर्दै आएका छन् ।
बन्द रहेको लामो समयपछि विद्यालय सञ्चालनमा आएसँगै अहिले यहाँका गाउँघरका विद्यालयमा विद्यार्थी संख्या पनि उल्लेख्य मात्रामा रहेको शिखर नगरपालिका–१ कपल्लेकीस्थित केदारेश्वर माविका शिक्षक रामबहादुर ऐरले बताए । उनले भने, ‘लामो समयपछि विद्यालय खुलेका छन्, विद्यार्थीको पनि उल्लेख्य सहभागी बढेको छ ।’
विद्यालय सञ्चालन भएसँगै यहाँका विद्यालयमा पढाइसमेत सञ्चालन हुँदै आएको छ । कोरोना महामारीका कारण कम्तीमा पनि आठ महिनासम्म घरमा बसेका विद्यार्थी विद्यालय जान पाएपछि निकै खुसी हुन थालेको आदर्श गाउँपालिका-२ का हर्कबहादुर खड्काले बताए ।
उनले भने, ‘महिनौँसम्म घरमा बस्नु पर्दा विद्यार्थीलाई तनाव भइसकेको थियो, अहिले स्कूल खुलेपछि उनीहरु खुसी साथ रमाउँदै स्कूल जान थालेका छन् ।’ विद्यार्थीलाई घरभन्दा स्कूलमा बढी रमाइलो हुने भएकाले पनि यहाँका प्रायजसो विद्यार्थी अहिले नियमित विद्यालय जान थालेको उनको भनाइ छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend