काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री तथा नेकपा एमालेका सचिव रघुवीर महासेठले चीन सरकारसँग नेपालले बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्क (बिआरआई) मा हस्ताक्षर गर्दा भारतले आपत्ति जनाउन नहुने बताएका छन् ।
शुक्रबार काठमाडौंमा न्युज एजेन्सी नेपालले ‘प्रधानमन्त्रीको चीन भ्रमणपछि बिआरआई कार्यान्वयन’ सम्बन्धमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्रमन्त्री महासेठले यस्तो बताएका हुन् । उनले बिआरआई परियोजनाबाट नेपालमा बनेका रेल, सडक लगायत अन्य कनेक्टिभिटीको विकास हुँदा भारतले पनि लाभ लिनसक्ने बताए ।
उनले चीन–नेपाल जोड्ने रेल र सडक पूर्वाधार बन्दा भारतले पनि प्रयोग गर्नसक्ने भएकाले नेपालले बिआरआईमा सम्झौता गर्दैमा तर्सनुपर्ने आवश्यकता बताए । उनले केरुङ–काठमाडौं र काठमाडौं–रक्सौल रेल बन्दै गर्दा सबैभन्दा बढी फाइदा भारतलाई हुने दाबी गरे । उनले केरुङ–काठमाडौं र काठमाडौं–रक्सौल रेल तथा सडक पूर्वाधार बन्दा चीनबाट भारतले महिना दिन लगाएर ल्याउने सामान एक दिनमा भारत पुर्याउनसक्ने भन्दै भारत बिआरआईबाट तर्सिनु नहुने बताए ।
उनले नेपालले कुनै भारत बिरोधी भावनाले प्रेरित योजना स्वीकार गर्न नसक्ने भन्दै बिआरआई फ्रेर्मवक परियोजना भारत बिरोधी नभएको जिकिर गरे उनले नेपाल सरकारले चीनसँग बिआरआई परियोजनामा हस्ताक्षर गरेसँगै विकासको ढोका खुलेको दाबी गरे ।
उनले बिआरआई फ्रेमवर्कमा बन्ने सडक पूर्वाधारहरुमा अझै ओलाङ्चुङगोला, तमोर लगायतका आयोजनाहरु समावेश गरिन बाँकी रहेको बताए । उनले नेपाल–चीन जोड्ने चार वा ६ लेनको सडक बनाउँदै गर्दा निजी क्षेत्रले आफैँ लगानी गर्ने बताए । उनले नेपालको प्रतिकुल नहुने गरी ऋण लिँदा केही समस्या नहुने भन्दै नेपाललाई चीन र भारतको बिरोधस्थल बनाउन नदिने बताए ।
उनले नेपालले चीन र भारत मात्रै नभएर विश्वका कुटनीतिक सम्बन्ध भएका देशहरुमा नेपालबाट कुनैपनि बिरोधी गतिविधि गर्नदिन नहुने बताए । उनले बिआरआई परियोजना नेपाललाई आवश्यकता भएकाले सम्झौता गरिएको बताए । उनले बिआरआई परियोजनामा सरकारले ऋण लिने नभई परियोजनाले तिर्नेगरी ऋण लिनुपर्ने बताए । उनले बिआरआईभित्र ऋण र सहयोग केहि पनि नपर्ने दाबी गरे ।
उनले एक चीन नीतिलाई नेपालले मात्रै होइन अमेरिकाले पनि मानेको उल्लेख गरे । उनले विश्व राजनीतिक उत्तारचढावको कारणले अहिले नमानेको बताए । अहिले ताइवान स्वतन्त्र राष्ट्र भएको बताए । पूर्वपरराष्ट्रमन्त्री महासेठले बिआरआई सम्झौतापछि बाहिर उठिरहेका प्रश्नको जवाफका लागि सम्झौतामा उल्लेख विषय अध्ययन गर्न आग्रह गरे । उनले राजनीतिक दलका नेताहरुले सबैभन्दा पहिला बिआरआई के हो बुझ्न आवश्यक रहेको उल्लेख गरे । उनले आफू परराष्ट्रमन्त्री हुँदा बिआरआईको विषयमा अध्ययन गर्दा कतैपनि ऋण र सहायता भनेर उल्लेख नभएको दाबी गरे । उनले ऋण र अनुदानसँग कुनै सम्बन्ध नभएको जिकिर गरे ।
उनले बिआरआईको मुख्य पक्ष आर्थिक सहकार्य भएको दाबी गरे । उनले बिआरआईमा नेपालको अवस्थामा पाँच आधार मानेको भन्दै नीतिगत, आर्थिक, खुला बजार , रेल र सडक कनेक्टीभिटि र नेपाली जनता परियोजनामा सहभागी भएर रोजगारी पाउने र प्रत्येक जनताको योगदान हुनुपर्ने आधारहरु आवश्यक रहेको बताए ।
उनले नेपालमा विद्युत उत्पादन भएपनि निर्यात गर्न नपाएको भन्दै भारतसँगको शर्तमा महँगोमा किन्ने र सस्तोमा निर्यात गरिरहेको उल्लेख गरे । विद्युत व्यापारमा नेपालको भारतमा जस्तो चीनमा अवस्था भएको भए नेपालले विद्युत बेच्न सहज हुने थियो । पूर्वपरराष्ट्रमन्त्री महासेठले नेपालले खुला बजारलाई पनि उत्तिकै ध्यान दिन जरुरी रहेको बताए ।
उनले नेपाल आर्थिक, समाजिक र राजनीतिक रुपमा कुन अवस्थामा रहेको छौं भन्ने विषयमा केन्द्रित हुन आवश्यक रहेको बताए ।