काठमाडौं । निजी तथा आवासीय विद्यालयमा कार्यरत अधिकांश शिक्षकले समयमा तलब सुविधा नपाएकाले नेपाल शिक्षक महासंघले अबको आन्दोलनको मुख्य कार्यसूची यही मुद्दालाई बनाउने भएको छ ।
शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ स्रोत केन्द्रको आयोजनामा शनिबार भर्चुअलरुपमा आयोजित ‘कोभिड–१९ पछि निजी विद्यालयका शिक्षकका समस्या’ विषयक छलफलमा महासंघका उपाध्यक्ष तिलक कुँवरले निजी तथा आवासीय विद्यालयका सञ्चालकले अभिभावकसँग शुल्क लिएर पनि शिक्षकलाई समयमा तलव नदिने, सेवाबाट हटाउने र नियुक्ति पत्र नदिने जस्ता अपमानजनक कार्य गरेको आरोप लगाए ।
संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाले धेरै शिक्षकले अहिले पनि गत चैतदेखिको तलब नपाएको दुःखेसो गर्दै यस्तो कार्य श्रम नियम विपरीत भएको जिकिर गरे ।
उनले आफूहरुको श्रमप्रतिको सम्मान नभएको विषयमा सम्बन्धित सरकारी निकाय र विद्यालय सञ्चालनकलाई पटक पटक ध्यानाकर्षण गराइएको जनाए ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का प्रदेश नं. ३ का अध्यक्ष थकिनकुमार गुरुङले महामारीका कारण विद्यालय सञ्चालक पनि अप्ठ्यारोमा परेकाले शिक्षक, विद्यार्थीलगायत सरोकार भएका पक्षसँग सहकार्य र समन्वय गरी अघि बढ्नुपर्ने बताए ।
शिक्षा अधिकारकर्मी बाबुकाजी श्रेष्ठले शिक्षकको श्रमप्रतिको सम्मान हुनुपर्ने उल्लेख गर्दै संघीय ऐनमा निजी विद्यालयलाई पनि समेट्न आग्रह गरे ।
पत्रकार समाजका महासचिव शेषकान्त पण्डितले निजी विद्यालयको नियमन र व्यवस्थापनका लागि स्थानीय तहले आफ्नो अधिकार क्षेत्रको उचित कार्यान्वयन गर्नपर्नेमा जोड दिए ।