झापा । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आएका छन् । विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा झापा आएका प्रम ओलीलाई चन्द्रगढी विमानस्थलमा कोसी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई, एमालेका कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गरे ।
उनले आजै मेचीनगर नगरपालिका–४ मा १९औँ शाखाका रुपमा स्थापना गरिएको मानवसेवा आश्रम र दमक नगरपालिका–३ दापगाछीमा नवनिर्मित दमक व्यावसायिक कम्प्लेक्सको उद्घाटन गर्ने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।
प्रजिअ बाँस्तोलाका अनुसार व्यावसायिक कम्प्लेक्स उद्घाटन कार्यक्रममा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र खानेपानीमन्त्री प्रदीप यादवसमेत सहभागी हुने कार्यक्रम छ ।
नेकपा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले आज र भोलि दुई दिन जिल्लास्थित भवन उद्घाटन तथा शिलान्यास, खानोपानी आयोजना उद्घाटन, जग्गाधनी प्रमाणपूर्जा वितरण तथा पार्टी गतिविधिसँग सम्बन्धित कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने जानकारी दिए ।
प्रधानमन्त्री ओलीले आज दिउँसो १२ बजे मेचीनगर–४ स्थित मानवसेवा आश्रम भवनको शिलान्यास र दिउँसो १ः३० बजे दमक–३, दापगाछीस्थित व्यावसायिक कम्प्लेक्सको उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष गिरीले जानकारी दिए ।
यसैगरी, भोलि सोमबार बिहान १० बजे बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन, ११ बजे गौरादह नगरपालिका अन्तर्गत महारानीझोडामा जग्गाधनीपुर्जा वितरण र दिउँसो १२ः३० बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मेचीनगरको मानवसेवा आश्रम शिलान्यासबाहेक अन्य सबै कार्यक्रम उनको निर्वाचन क्षेत्रभित्र पर्ने एमाले जिल्ला अध्यक्ष गिरीले जानकारी दिए ।
त्यस्तै, एमाले अध्यक्ष ओलीले सोमबार दिउँसो २ बजे बिर्तामोडस्थित सिटीसेन्टरमा पार्टी अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने पार्टी जिल्ला सचिव तुलसी कार्कीले बताए ।
प्रधानमन्त्री ओलीको झापा भ्रमणलाई सफल र फलदायी बनाउने सन्दर्भमा नेपाली कांग्रेस र एमालेबीच यसअघि भएको छलफलमा आवश्यक तयारीसहित जिल्लास्तरीय योजना तथा कार्यक्रम प्रधानमन्त्रीसमक्ष पेस गर्ने सहमति भएको अध्यक्ष गिरीले जानकारी दिए ।