तेहरान । इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकी प्रशासनले कोरोना खोपका लागि अमेरिकी बैंकबाट भुक्तानी गर्न दबाव दिइरहेको बताएका छन् ।
खोपका लागि दिएको रकम अमेरिकाले जफत गर्न सक्ने डर पनि रुहानीलाई छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको आणविक सम्झौता सन् २०१८ मा तोडेपछि विभिन्न किसिमका प्रतिबन्ध लगाइसकेका छन् । यसैकारण पनि दुवै देशबीच सम्बन्ध राम्रो छैन ।
समाचार एजेन्सी एएफपीका अनुसार अमेरिकासहित धेरै देशमा रहेको इरानको सम्पत्ति जफत गरेको छ, रुहानीको हालैको वक्तव्यले यसबारे इरानको चिन्ता स्पष्ट देखिन्छ ।
राष्ट्रपति रुहानीले इरानको कोरोना भाइरस टास्क फोर्सको एक बैठकमा कोभिड खोपका लागि सुरक्षित मुलुकबाट पैसा ट्रान्सफर गर्न चाहेको बताएका थिए । उनले कुनै देशको नाम उल्लेख नगरी ट्रान्सफरमा समस्या नहुने देशबारे बैठकमा छलफल गरेका थिए ।
सैद्धान्तिक रुपमा औषधिमा कुनै प्रतिबन्ध छैन तर सम्भावित मुद्दाबाट जोगिन इरानसँगको लेनदेनमा अन्तर्राष्ट्रिय बैंकहरुले केही सर्त राख्छन सक्छन् ।
रुहानीले अमेरिकाको ट्रेजरी अफिस अफ फरेन एसेट्स कन्ट्रोलले औषधि खरिदमा कुनै समस्या नभएको संकेत गरेको छ तर अमेरिकी प्रशासनले भने आफ्नो अडान नछोडेको बताएका छन् । रुहानीका अनुसार अमेरिकाले खोप खरिदमा ट्रान्सफर हुने सबै पैसा अमेरिकी बैंकबाटै भुक्तान हुनुपर्ने भनेको छ ।
अप्रिलमा राष्ट्रपति रुहानीले इरानले लामो समयदेखि लक्जमबर्गमा अमेरिकाको अनुरोधमा जफत गरिएको १.६ बिलियन डलरभन्दा बढीको सम्पत्तिमाथि कानुनी लडाई जितेको बताएका थिए ।
मध्यपूर्वको देशमा इरान कोरोना भाइरस महमारीबाट सबैभन्दा बढी प्रभावित छ । फेबु्रअरीसम्म इरानमा लगभग १२ लाख मानिस संक्रमित भइसकेका थिए, ५४ हजारको मृत्यु भइसकेको थियो । रुहानीले खोप खरिदमा थोरै ढिलाई हुन सक्ने संकेत पनि गरेका छन् ।