२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ अगाडि बढ्छ : प्रधानमन्त्री ओली

शनिवार , मंसिर २९, २०८१

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । उनले आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)को ३०औँ दीक्षान्त समारोह (पहिलो चरण)लाई सम्बोधन गर्दै रोजगारी खोज्ने शिक्षा नभई रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढङ्गले सरकार अघि बढ्ने बताए ।

“अब जब दिने शिक्षा दिने हैन, जब सिर्जना गर्ने खालको शिक्षा, आत्मनिर्भर ढङ्गले जब दिने शिक्षातर्फ अघि बढ्का छौँ, यसका निम्ति केयूलगायतका विश्वविद्यालय नमूनाका रूपमा अघि बढिरहेका छन्” केयूका कुलपतिसमेत रहेका ओलीले भने । उनले विद्यार्थीलाई पढाईसँगै रोजागरीमा जोड्दै आत्मनिर्भर बनाउन देशका नमूना विश्वविद्यालयसँग सहकार्य र समन्वय गर्दै जाने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले प्रमाणपत्रले मात्रै दक्ष पनि नहुने भएकाले कस्तो नागरिक हो भन्ने विषय चरित्र र नैतिकताले प्रष्ट्याउने बताए । उनले भने, “सर्टिफकेट रोजगारीको एउटा आधार हो, दक्ष नागरिक हुन आचरण, व्यवहार, म्यानर र बोलीचालीले निर्धारण गर्छ ।”

प्रधानमन्त्री ओलीले सीप र उत्तरदायित्वबाट विद्यार्थीले देश र नागरिकको पहिचान कायम राख्नुपर्ने बताए । “विद्यार्थीको आचारण, नैतिकता र सोच सकारात्मक हुनुपर्छ” उनले दीक्षित विद्यार्थीतर्फ इङ्गित गर्दै भने, “विद्यार्थी मृदुभाषी, नम्र, मानवतावादी, शान्तिप्रिय र म्यानरतावादी हुनुपर्छ, सफताका लागि अझ परिस्कृति म्यानर मिसाउनुपर्छ ।” विश्वविद्यालय शिक्षाको मन्दिर र ज्ञानको आधार हो भन्दै उनले व्यवहारत असाधारण सीमामुक्त शिक्षालाई जीवनभर ग्रहण गरिरहनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले धर्तिको २१ प्रतिशत हिमाल ‘कालापत्थर’ बन्न लागेकोमा दुःखेसो पोख्दै अन्य भूभागसमेत मरभूमि बन्ने खतरा बढेकोमा चिन्ता व्यक्त गरे । “अरूका गल्तीले धर्तीका भूभाग मरूभूमि बन्दैछ, यसका लागि हामी वातावरणीय न्यायका लागि लडिरहेका छौँ, कालापत्थरमा परिणत हुँदै गएका हिमालको पुरानो स्वरूपमा ल्याउने विषयप्रति गम्भीर हुँदै जलवायु परिर्वतनका विषयमा पनि ध्यान दिन आवश्यक छ” उनले भने ।

उनले पुर्खाले वरपिपल र तुलसी धेरैभन्दा धेरै रोपेर अक्सिजनका लागि ‘ब्यालन्स’ मिलाएको उल्लेख गर्दै पारिस्थितिकि चक्रलाई नबिगार्न त्यसो गरिएकाले ‘क्लाइमेट मेन्टेन’ हुनुपर्दछ भन्ने विषयमा आफूले जोड दिँदै आएको बताए ।

कार्यक्रममा भारतको पटनास्थित इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजीका निर्देशक प्रोफेसर त्रिलोकनाथ सिंहले नेपाल–भारतको इतिहास र भूगोलमा असाधारण सम्बन्ध रहेकाले व्यापार, शिक्षा र अनुसन्धानका क्षेत्रमा भएको पारस्परिक सम्बन्ध र नवप्रवर्तनका क्षेत्रमा दुई देशको साझेदारीले साझा प्रगति र दीगो विकासका मार्ग प्रशस्त गरेको बताए ।

उनले भने, “दुई देशबीचका उदाहरणीय परियोजनाले पनि राष्ट्रबीचको विश्वास र साझेदारीको गहिरो भावनालाई पनि उत्प्रेरित गर्न सक्छ भन्न सकिन्छ ।”

समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं केयूको सहकुलपति विद्या भट्टराईको उपस्थिति रहेको थियो । आज विश्वविद्यालयका विभिन्न सङ्कायका एक् हजार दुई सय ६५ जना विद्यार्थी दीक्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट