काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको ढुवानी पाइपलाइनबाट गर्दा साढे एक अर्ब रूपैयाँ बचत गरेको छ । दक्षिण एसियाको पहिलो अन्तरदेशीय मोतीहारी–अमलेखगन्ज पाइपलाइन गत वर्षदेखि सञ्चालनमा आएपछि ढुवानीबाट बचत भएको हो ।
निगमले सार्वजनिक गरेको गत वार्षिक आर्थिक प्रतिवेदनमा ०७६ भदौदेखि ०७७ असारसम्मको १० महिनामा ढुवानीबापत १ अर्ब ४७ करोड बचत भएको उल्लेख छ । उक्त प्रतिवेदनअनुसार प्रतिमहिना पाइपलाइनमार्फत इन्धन ढुवानी गर्दा १४ करोड ७० लाख बचत हुँदै आएको छ । गत वर्ष भदौ २४ गतेदेखि पाइपलाइन सञ्चालनमा आएको थियो ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट ट्यांकरमार्फत इन्धन ढुवानी गर्दै आएको निगमले गत वर्षदेखि पाइपलाइनमार्फत डिजेल ढुवानी थालेको थियो । पाइपलाइनमार्फत डिजेल ढुवानी गर्न थालेपछि ठूलो रकम बचत हुन थालेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए ।
भारतीय दूतावासले पनि बिहीबार नै ट्विटरमार्फट ढुवानी रकम बचत भएको जानकारी दिएको छ। दूतावासले पाइपलाइनबाट पहिलो पटक एक महिनामै १० करोड लिटर डिजेल आपूर्ति भएर कोसेढुंगा सावित भएको जनाएको छ ।
मोतीहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाका प्रोजेक्ट म्यानेजर तथा अमलेखगञ्ज डिपो प्रमुख इन्जिनियर भरत रेग्मीले पाइपलाइनमार्फत अमलेखगन्ज डिपोमा करिब ७ लाख ७८ हजार ९३ किलोलिटर (७७ करोड ८० लाख ९३ हजार लिटर) डिजेल आयात भएको बताए ।
उनका अनुसार डिसेम्बरमा नियमित रूपमा औसत २ सय ४० किलोलिटर प्रतिघण्टाका दरले पाइपलाइनबाट डिजेल आयात भएको छ । ‘पाइपलाइनबाट एउटै महिनामा पहिलो पटक अहिलेसम्मकै अधिकतम १ लाख किलोलिटर (करिब १० करोड लिटर) डिजेल आयात गर्न सफल भयौं’, रेग्मीले भने ।
निगम ०७२–७३ देखि निरन्तर नाफामा गएको छ । निगमले ०७२–७३ मा १९ अर्ब ३६ करोड, ०७३–७४ मा ९ अर्ब ४५ करोड, ०७४–७५ मा ३ अर्ब ५८ करोड, ०७५–७६ मा ८ अर्ब ७५ करोड र ०७६–७७ मा १२ अर्ब ८७ करोड नाफा आर्जन गरेको छ ।
निगमले ०७५–७६ मा २९ करोड रहेको चुक्ता पूँजीलाई १० अर्ब वृद्धि गरी ११ अर्ब पुर्याएको छ । निगमले नाफा रकमबाट ०७६–७७ मा सेयर होल्डरलाई २० प्रतिशत लाभांश वितरण गर्ने तयारी गरेको जनाएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट