
काठमाडौं । कोभिड रोकथाम उच्चस्तरीय निर्देशक समिति सीसीएमसीले बन्द विद्यालयहरु खोल्न दिने निर्णय गरेको छ । सीसीएमसीको आइतबार बसेको बैठकले कोभिड-१९ का कारण बन्द भएका विद्यालयहरु खोल्ने निर्णय गरेको हो ।
बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखाना लगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए ।
नेपाल सरकारको पूर्वनिर्णय अनुसार रोक लगाइएको सबै क्षेत्रहरु खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको उनले बताए ।
यस्तै कोभिडको संक्रमण कम भएको, बजारमा भिडभाड बढेको र आवागमन बढेको अवस्थामा कोरोनाको दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर नियमित अनुगमन गर्ने र लापरवाही गर्नेलाई कारबाही गर्ने निर्णय भएको उनले बताए ।
यस्तै, नयाँ प्रकारको कोरोना भाइरस देखिएका बेलायत लगायतका अन्य देशबाट आउने यात्रुलाई १० दिन सम्म क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउने निर्णय गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय पनि सीसीएमसी निर्देशक समितिले गरेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend